images
  • पास्नीको रमाइलोभित्र भयानक षड्यन्त्रः कुटपिटबाट ज्यान गएपछि भीरबाट फालियो शव

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन १३, मंगलवार १३:२७ गते
    images

    एकातिर नातिको पास्नीको उत्सव, अर्कोतिर मदिराको मात र पुरानो रिसवी। कैलालीको चुरे गाउँपालिका–१ निगालीमा गत असोज ५ गते राति घटेको एउटा घटनाले अन्ततः भयानक अपराधको रूप लिएको छ।

    पास्नीभोजमा भएको सामान्य भनाभन र कुटपिटबाट एक जनाको ज्यान गएपछि घटना लुकाउन शवलाई भीरबाट फालिएको रहस्य खुलासा भएको छ।

    स्थानीय ५२ वर्षीय यज्ञबहादुर बोहराको कुटपिटबाट मृत्यु भएपछि कानुनको फन्दाबाट बच्न शवलाई तुलिखेत जंगलको भीरमा लगेर फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    प्रहरीका अनुसार यज्ञबहादुर आफ्ना नातेदार धनबहादुर बोहराको नातिको पास्नीभोजमा सहभागी हुन गएका थिए।

    भोजमा मदिरा सेवन गर्ने क्रममा अघिल्लो दिन श्रीमतीलाई गाली गरेको विषयलाई लिएर यज्ञबहादुर र मानबहादुर बोहराबीच भनाभन सुरु भयो।

    भनाभन बढ्दै जाँदा मानबहादुरले यज्ञबहादुरमाथि निर्घात कुटपिट गरे। कुटपिटका कारण यज्ञबहादुर भुइँमा ढलेर अचेत भए र सोही राति घटनास्थलमै उनको मृत्यु भयो।

    घटनालगत्तै कुटपिटपछिको अचेत अवस्थाको एउटा भिडियोसमेत सार्वजनिक भएको छ।

    उक्त भिडियोमा एक व्यक्तिले आत्तिएर ‘मरेपछि म जेल जाने हुँ’ भनेको र अर्का व्यक्तिले ‘तपाईंले गलत गर्नुभयो’ भनेर प्रतिक्रिया दिएको सुनिन्छ।

    हत्यापछि फस्ने डरले उपस्थित केही व्यक्तिहरू मिलेर भवितव्य वा भीरबाट लडेर मरेको देखाउन यज्ञबहादुरको शव बोकेर तुलिखेत जंगलको भीरमा लगेर फालेका थिए।

    पक्राउ परेका केही अभियुक्तहरूले प्रहरीसमक्ष फस्ने डरले शव भीरमा फालेको बयान दिइसकेका छन्।

    यज्ञबहादुर बेपत्ता भएपछि खोजी गर्दा उनको शव भीरमा फेला परेको थियो। मृतकका छोराले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीले पास्नीभोज गराउने घरमुली धनबहादुर बोहरासहित आठ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा धनबहादुर बोहरा, मानबहादुर बोहरा, गोविन्द बोहरा, यज्ञबहादुर बोहरा, दिलीप धामी, रामबहादुर बोहरा, गम्भीर बोहरा र तिलक जेठारा छन्।

    इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महराका अनुसार पक्राउ परेका आठै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

    कुटपिटमा दुई जना मुख्य दोषी देखिए पनि शव फाल्ने र प्रमाण नष्ट गर्ने कार्यमा अन्यको संलग्नताबारे बहुकोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्