पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका-७ घिप्लेमा २२ वर्षीय राजेन्द्र पौडेलको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कात्तिक ९ गते बिहान पौडेल आफ्नै घरदेखि करिब ५० मिटर पूर्व बारीको पाटामा मृत अवस्थामा फेला परेका थिए। उनको शरीरभरि निलडाम तथा घाउचोट रहेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कात्तिक ८ गते साँझ मदिरा सेवनका क्रममा पौडेल र केही स्थानीयबीच विवाद भएको थियो।
विवादका क्रममा पौडेलले हँसिया प्रहार गर्दा दुई जना घाइते भएको र त्यसपछि सबै आआफ्नो घर गएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
सोही रात पाँच जना मिलेर पौडेलको घरमा गई भाटा, मुक्का र लात्तीले प्रहार गरेको तथा घाइते अवस्थामा घिसारेर बारीमा लगेर छाडेको प्रहरीको भनाइ छ।
पक्राउ पर्नेमा ३० वर्षीय विक्रम पुन, २३ वर्षीय धनबहादुर गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय लिलबहादुर पुन छन्।
उनीहरूमाथि कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्