काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज मंगलबार दुईवटा खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल ४ः३० बजे सुरु हुने तालिका छ।
अघिल्लो संस्करणको नतिजालाई हेर्दा आजका खेलहरू थप रोचक हुने अपेक्षा गरिएको छ। गत संस्करणमा विराटनगर र चितवनबीचको खेलमा चितवन ४८ रनले विजयी भएको थियो।
उक्त खेलमा चितवनले २० ओभरमा पाँच विकेट गुमाएर १७४ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा विराटनगर १६.५ ओभरमा १२६ रनमै अलआउट भएको थियो। चितवनको उक्त जितमा रवि बोपाराको प्रदर्शन निर्णायक थियो। गत संस्करणको लिग चरणमा विराटनगर सात खेलमा पाँच जितसहित दोस्रो स्थानमा रहँदा चितवन सातौँ स्थानमा सीमित भएको थियो।
त्यस्तै, दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको अघिल्लो भेट निकै रोमाञ्चक थियो। गत संस्करणमा कर्णालीले पहिले ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा १२९ रन बनाएको थियो।
जवाफमा जनकपुरले २० ओभरमा सात विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरसम्म चलेको उक्त खेल कर्णालीले तीन रनको साँघुरो अन्तरले जितेको थियो। गत संस्करणमा जनकपुर सात खेलमा एक जितसहित अंकतालिकाको पुछारमा रहेको थियो भने कर्णाली दुई जितसहित छैटौँ स्थानमा थियो। यसपटक यी टोलीहरू आफ्नो प्रदर्शनमा सुधार गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।


chautaripatrika 
















प्रतिक्रिया दिनुहोस्