रुपलाल बुढाथोकी, सल्यान / समुद्र सतहबाट करिब २५३७ मिटरको उचाइमा अवस्थित सल्यानको प्रसिद्ध पर्यटकीय तथा धार्मिक क्षेत्र कुमाख लेकमा लाग्ने कुमाख मेला भव्यताका साथ सम्पन्न भएको छ।
बडादसैँपछिको चतुर्दशी र कोजाग्रत पूर्णिमाको अवसरमा लाग्ने जिल्लाकै ठूलो यस मेलामा हजारौँ भक्तजन तथा आन्तरिक पर्यटकको बाक्लो घुइँचो लागेको थियो।
सिद्ध कुमाख र कुमाख गाउँपालिकाको संगमस्थलमा पर्ने यस पहाडको टुप्पोमा प्रसिद्ध सिद्ध बाबाको मन्दिर रहेको छ भने मन्दिरकै काखमा करिब १५० मिटर लामो प्राकृतिक सिद्ध गुफा अवस्थित छ।
दसैँपछिको यस विशेष अवसरमा मन्दिरमा पूजाआजा गरी वर मागे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ बर्सेनि यहाँ मेला लाग्ने गर्दछ।
यस वर्षको मेलालाई मर्यादित, शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायले विशेष ध्यान दिएका थिए। मेलाको समग्र सुरक्षा व्यवस्थापन, शान्ति-सुरक्षाको स्थिति र अवलोकनका लागि सल्यानका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वन्दना कुमारी केसी आफैँ कुमाख लेक पुग्नुभएको थियो।
मेला क्षेत्रको अवलोकन गर्दै प्रजिअ केसीले सिद्ध बाबा मन्दिर र कुमाख क्षेत्र धार्मिक तथा पर्यटकीय दुवै दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभयो।
अवलोकनका क्रममा उहाँले भौगोलिक रूपमा विकट तर धार्मिक हिसाबले पवित्र यस पर्यटकीय स्थलको प्रचार-प्रसारमा जोड दिनुका साथै वातावरण स्वच्छ राख्न सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो।
मन्दिरका पुजारी शेरबहादुर डाँगीले यहाँ पहिलोपटक दर्शन गर्न पुग्नुभएका भक्तजनहरूले मन्दिरको सात पटक परिक्रमा गरी चिताएको मनोकांक्षा पूरा होस् भनी वर माग्ने र भाकल अनुसार पूजाआजा गर्ने गरेको बताउनुभयो। पूजाआजासँगै श्रद्धालुहरूले पहाडको भित्री भागमा रहेको प्राकृतिक सिद्ध गुफाको दर्शन गर्ने उहाँले सुनाउनुभयो।
यस्तै मेला व्यवस्थापन समितिका अध्यक्ष खिम डिसीले सिद्धबाबा मन्दिर रहेको कुमाख लेकबाट रुकुम, जाजरकोट, दैलेखका केही भाग मात्र नभई हिमशृंखला अवलोकन गर्न सकिने भएपछि स्थानीय र जिल्ला बाहिरका पर्यटक बढ्दै गएको बताउनुभयो।


chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्