images
  • प्रहरीको स्विप अपरेसन : ७५ जना पक्राउ

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक १२, बुधबार ११:०८ गते
    images

    काठमाडौँ, कात्तिक ११ गते । सार्वजनिक स्थलमा हुने दुव्र्यवहार, चोरी, लुटपाट र गुन्डागर्दी जस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियानमा ७५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरीपरिसर काठमाडौँले पछिल्लो २४ घण्टामा सञ्चालन गरेको ‘स्विप अपरेसन’ का क्रममा ६० पुरुष, १४ महिला र अन्य एक जनालाई नियन्त्रणमा लिएको हो । अभियानका क्रममा अदालतबाट सजाय तोकिएका तथा विभिन्न मुद्दामा फरार रहेका १२ जना पनि पक्राउ परेका  परिसरले जनाएको छ । पक्राउ पर्नेमा सार्वजनिक यातायात, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयआसपास र सर्वसाधारणको बढी आवतजावत हुने क्षेत्रमा केन्द्रित अभियानमार्फत प्रहरीले सार्वजनिक स्थलको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने प्रयास गरेको जनाएको छ ।

    जिल्ला प्रहरीपरिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले सार्वजनिक स्थलमा शान्ति सुव्यवस्था कायम गर्ने र आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक यातायात तथा भिडभाड हुने स्थानमा सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला र हुलहुज्जत गर्ने, दुव्र्यवहार गर्ने, चोरी तथा लुटपाट गर्ने र बिचौलियाका गतिविधि सञ्चालन गर्नेलाई अभियानका क्रममा निगरानीमा राखिएको छ ।

    प्रहरीले सार्वजनिक सेवा लिन आउने नागरिकलाई अनावश्यक दुःख दिने, सार्वजनिक स्थलमा अशान्ति फैलाउने तथा गुन्डागर्दी जस्ता गतिविधिमा संलग्न रहेको देखिएपछि पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । पक्राउ पर्नेमध्ये अदालतबाट दोषी ठहर भई सजाय तोकिएका आठ जना र विभिन्न मुद्दामा अनुसन्धान तथा कानुनी कारबाहीका क्रममा फरार रहेका चार जना पक्राउ परेको परिसरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्