कला र व्यङ्ग्यको मुख्य उद्देश्य नै समाजलाई ऐना देखाउनु र मनोरञ्जन प्रदान गर्नु हो । नेपालमा हास्यव्यङ्ग्य र स्ट्यान्डअप कमेडीको दायरा पछिल्लो समय निकै फराकिलो बन्दै गएको छ । विशेष गरी रियालिटी शोहरूबाट उदाएका युवा प्रतिभाहरूले समाजका विकृति , विसङ्गति , र राजनीतिक नेतृत्वका गलत निर्णयहरूमाथि हास्यको मध्यमबाट प्रहार गर्दै आएका छन् । तर यही हास्यकला अहिले एक उदाउँदो प्रतिभाका लागि मानसिक सास्ती र ज्यानकै जोखिमको कारण बनेको छ । कमेडी च्याम्पियन सिजन-३ बाट दर्शकमाझ आफ्नो बेग्लै पहिचान बनाउन सफल रौतहटका युवा कमेडियन अमरेन्द्र यादवले पछिल्ला केही दिनदेखि आफू निरन्तर गालीगलौज , मानसिक दबाब , र ज्यान मार्ने धम्कीको सामना गरिरहेको खुलासा गरेपछि राष्ट्रिय रूपमै नयाँ बहस सुरु भएको छ ।
रोस्ट कमेडी कसैको व्यक्तित्व विचारमाथि व्यङ्ग्यात्मक टिप्पणी गरेको विषयलाई लिएर आफूलाई व्यक्तिगत रूपमा निशाना बनाइएको भन्दै कमेडियन यादवले सामाजिक सञ्जालमार्फत आफ्नो गम्भीर पीडा सार्वजनिक गरेका छन । उनले सार्वजनिक गरेको फेसबुक पोस्टका अनुसार पछिल्लो तीन-चार दिनदेखि भिडियो सार्वजनिक भएलगत्तै उनी निरन्तर मानसिक तनावमा छन । सुरुमा यो विषयलाई सामान्य मान्दै तीन दिनसम्म सहेर बसे पनि धम्की र टर्चरको मात्रा अस्वाभाविक रूपमा बढ्दै गएपछि उनी बाध्य भएर सार्वजनिक रूपमा बोल्न र आफ्ना समर्थकहरूसँग मद्दत माग्न विवश भएका हुन् । यतिसम्म कि धम्की दिनेहरूको समूह र उनीहरूको गतिविधिबाट डराएर आफूलाई कोठाबाट बाहिर निस्कनसमेत त्रास भइरहेको यादवले बताएका छन ।
कमेडियनको मुख्य काम नै सामाजिक तथा राजनीतिक विषयमा व्यङ्ग्य गर्नु , रोस्ट गर्नु , र दर्शकलाई हँसाउनु हो । जुनसुकै रोस्ट शो वा कमेडी कार्यक्रममा अतिथिहरू आउँदा पनि उनीहरूलाई पहिले नै रोस्ट हुन सक्ने विषयमा पूर्वजानकारी दिइने गरिन्छ र सोही सहमति अनुसार कार्यक्रम सञ्चालन हुने गर्छ । यस्तो स्थापित मान्यता र कलाको नियम हुँदाहुँदै पनि आफूले प्रस्तुत गरेको रोस्ट कमेडीलाई लिएर व्यक्तिगत रूपमा ट्याग लगाइनु र धम्कीको शिकार बनाइनु आफैँमा दुखद रहेको यादवको भनाइ छ । उनले प्रश्न गरेका छन रोस्ट गरेको विषयमा मैले त्यस्तो के ठुलो अपराध वा गल्ती गरेँ जसका कारण मलाई व्यक्तिगत गालीगलौज र ज्यान मार्ने धम्कीसम्म आउन थाल्यो ?
विवादको मुख्य जड राजनीतिक ट्यागसँग जोडिएको छ । हालै सार्वजनिक भएको एउटा रोस्ट भिडियोमा एउटा राजनीतिक पक्षलाई व्यङ्ग्य गरेकै आधारमा अमरेन्द्र यादवलाई एमाले विरोधीको ट्याग लगाइएको छ । धम्की दिनेहरू नेकपा एमालेका कार्यकर्ता हुन वा अरू नै कोही हुन् भन्ने विषयमा आफू पूर्ण रूपमा यकिन हुन नसकेको भए पनि उनीहरूले आफूलाई कुनै एउटा दलको विरोधी भनेर चौतर्फी घेराबन्दी गरिरहेको यादवको दाबी छ । राजनीतिक दल र तिनका समर्थकहरूमा सहिष्णुताको कमी देखिनु र कमेडीलाई पनि राजनीतिक दुश्मनीको रूपमा हेरिनुले नेपाली समाजको सोच कति सङ्कुचित बन्दैछ भन्ने पुष्टि गर्छ ।
यस प्रसङ्गमा अमरेन्द्र यादवले राजनीतिक ट्याग लगाउने प्रवृत्तिमाथि अत्यन्तै मार्मिक र व्यङ्ग्यात्मक प्रश्न उठाएका छन् । उनले भनेका छन “अहिले एउटा पक्षलाई रोस्ट गरेकै कारण मलाई एमाले विरोधी भनिएको छ । तर यदि अर्को साता मैले जेन-जी (Gen-Z) अभियन्ताहरूलाई रोस्ट गरेको भिडियो सार्वजनिक भयो भने के मलाई फेरि जेन-जी विरोधी भनिने हो ? उनले स्मरण गराए अनुसार यसअघि उनले नेकपा माओवादी केन्द्रसँग सम्बन्धित नेताहरूलाई पनि रोस्ट गरेका थिए र राजावादी पक्षका व्यक्तिहरूलाई समेत रोस्ट गरिसकेका छन् । त्यसो भए माओवादीलाई रोस्ट गर्दा माओवादी विरोधी , राजावादीलाई रोस्ट गर्दा राजावादी विरोधी र एमालेलाई रोस्ट गर्दा एमाले विरोधी भनिने हो भने आखिर उनी कसका विरोधी हुन ?
यस प्रश्नको उत्तर स्वयम् अमरेन्द्रले नै दिएका छन् । उनी कसैको पनि विरोधी होइनन र कुनै राजनीतिक दल वा गुटको एजेन्डा बोकेर हिँडेका पनि होइनन् । उनी त केवल नेपालका एक स्वतन्त्र नागरिक हुन् र आफ्नो कलाको माध्यमबाट जनतालाई मनोरञ्जन दिने काम गरिरहेका छन् । तर नेपालको राजनीति र समाजमा कुनै पनि स्वतन्त्र कला वा विचारलाई कुनै न कुनै राजनीतिक दलको चस्माबाट हेर्ने जुन रोग छ त्यसैको शिकार आज एक होसियार युवा कलाकार बन्न पुगेका छन ।
को हुन अमरेन्द्र यादव ?
रौतहटको कटहरिया नगरपालिका-डुमरियाका स्थायी बासिन्दा अमरेन्द्र यादवको कलाकारिताको यात्रा निकै सङ्घर्षपूर्ण र प्रेरणादायी छ । सानैदेखि हास्य क्षेत्रमा विशेष रुचि राख्ने उनी भारतीय चर्चित कमेडियन कपिल शर्माको प्रस्तुतिबाट निकै प्रभावित थिए । सुरुमा परिवार र समाजको चाहना अनुसार उनी विज्ञान विषय पढेर काठमाडौँमा बसेर मेडिकल प्रवेश परीक्षा (MBBS) को तयारी गरिरहेका थिए । तर उनको मन र मस्तिष्कमा भने कला र कमेडीप्रतिको मोह सधैँ जीवन्त थियो । यही क्रममा उनले ‘कमेडी च्याम्पियन सिजन-३ को डिजिटल अडिसनबारे थाहा पाए र भाग लिए ।
कमेडी च्याम्पियनको मञ्चमा छिरेपछि उनले आफ्नो मौलिक शैली प्रस्तुत गर्न थाले । रौतहटको बज्जिका भाषाको मिठो लवज मिसिएको नेपाली भाषा , देहाती परिवेश , र मधेसी समाजका यथार्थपरक कथालाई हास्यमा ढालेर प्रस्तुत गर्ने उनको शैलीलाई निर्णायकहरू र दर्शकहरूले अत्यधिक मन पराए । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै टप-१० सम्म पुग्न सफल भएका अमरेन्द्रले छोटो समयमै देश र विदेशमा रहेका लाखौँ नेपालीहरूको मन जित्न सफल भए । उनका लागि कला केवल मनोरञ्जन मात्र नभएर मधेस र तराईको माटोको सुगन्धलाई राष्ट्रिय मञ्चमा पुर्याउने एउटा दर्बिलो माध्यम बनेको थियो ।
तर त्यही कला र प्रतिभाका कारण आज उनी ज्यानको सुरक्षा माग्नुपर्ने स्थितिमा पुगेका छन् । यादवले आफ्ना सामाजिक सञ्जालमार्फत सबैसँग अपिल गर्दै आफूलाई व्यक्तिगत रूपमा गाली नगर्न , टर्चर नगर्न , र ज्यान मार्ने धम्की नदिन आग्रह गरेका छन् । उनले कमेडीलाई कमेडी र मनोरञ्जनका रूपमा मात्र बुझिदिन अनुरोध गरेका छन । कुनै प्रस्तुति वा व्यङ्ग्य कसैलाई मन नपर्न सक्छ, त्यसमा आलोचना गर्ने , असहमति जनाउने , वा स्वस्थ टिप्पणी गर्ने अधिकार सबैसँग छ । तर असहमति व्यक्त गर्ने नाममा कलाकारको घर-डेरा पत्ता लगाएर धम्क्याउने वा मानसिक रूपमा धराशायी बनाउने काम हुनु लोकतान्त्रिक समाजका लागि लज्जास्पद विषय हो ।
कलाकार अमरेन्द्र यादवमाथि आएको यो धम्की केवल एक व्यक्तिमाथिको आक्रमण होइन यो त सिङ्गो अभिव्यक्ति स्वतन्त्रता र निर्भीक रूपमा कला प्रस्तुत गर्ने कलाकारहरूको अधिकारमाथिको प्रहार हो । धम्की दिने व्यक्ति वा समूहको पहिचान हालसम्म यकिन हुन नसकेको भए पनि गृह प्रशासन र प्रहरी संयन्त्रले यस विषयलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान थाल्नुपर्छ । राज्यले आफ्ना नागरिक र कलाकारको शान्ति सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । एउटा कमेडियनले गरेको रोस्टमाथिको असहमति कहाँसम्म जायज हुन्छ र त्यो असहमति कहिले अपराध र धम्कीको रूप लिन्छ भन्ने प्रश्नको उत्तर अब राज्यको कानुनी निकाय र सचेत नागरिक समाजले दिनैपर्छ ।



Bishnu GC 




















प्रतिक्रिया दिनुहोस्