नेपाली सुगम संगीत तथा गायन क्षेत्रकी चर्चित गायिका समीक्षा अधिकारीले विगत डेढ वर्षदेखि आफू एउटै व्यक्तिबाट लगातार फोनमार्फत गम्भीर मानसिक उत्पीडन र साइबर ह्यारेसमेन्टको शिकार भइरहेको भन्दै औपचारिक रूपमा खुलासा गरेकी छन । एउटै व्यक्तिले ५०० भन्दा बढी फरक–फरक मोबाइल नम्बरको प्रयोग गरी निरन्तर फोन गरेर अत्याउने र मानसिक तनाव दिने कार्य गरिरहेको जानकारी दिँदै उनले सार्वजनिक रूपमै आफ्नो पीडा व्यक्त गरेकी छन । कला र संगीत क्षेत्रमा सक्रिय रहँदै आएकी गायिकामाथि यसरी लामो समयदेखि नियोजित रूपमा भइरहेको फोन ह्यारेसमेन्टको घटनाले कलाकारहरूको व्यक्तिगत सुरक्षा र गोपनीयतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।
गायिका समीक्षाका अनुसार ती अज्ञात व्यक्तिले जुनसुकै नम्बरबाट फोन गरे तापनि फोन उठाउनेबित्तिकै आफ्नो परिचय रमेश शाही भनेर दिने गर्छन । तर फोन गर्नुको वास्तविक कारण र कामबारे सोध्दा कुनै पनि स्पष्ट जवाफ नदिई केवल आफ्नो नाम दोहोर्याउने र अनावश्यक गफ गरेर सताउने प्रवृत्ति देखाउँदै आएका छन । एउटा नम्बरबाट फोन आएपछि त्यसलाई तत्कालै ब्लक गरे तापनि केही समयभित्रै अर्को नयाँ नम्बरबाट पुनः फोन आउने क्रम निरन्तर चलिरहेको छ । अहिलेसम्म ५०० भन्दा बढी नम्बरहरू ब्लक गरिसक्दासमेत फोन आउने क्रम नरोकिएको र ती व्यक्तिले सर्वसाधारणका अन्य मोबाइल नम्बरहरूसमेत मागेर फोन गरिरहेको पाइएको छ ।
यस प्रकारको असाधारण र रहस्यमय व्यवहारबाट आजित भएकी समीक्षाले आम नागरिक, समर्थक र शुभचिन्तकहरूलाई आफ्नो मोबाइल नम्बर कसैलाई पनि सहजै नदिन आग्रह गरेकी छन । कसैले फोन नम्बर माग्दैमा नदिई के काम र कुन प्रयोजनका लागि नम्बर चाहिएको हो भन्ने कुरा राम्ररी बुझेर मात्र उपलब्ध गराउन उनले सबैलाई सतर्क गराएकी छन । यो कदम कसैलाई व्यक्तिगत आरोप लगाउन नभई विगत लामो समयदेखि आफूले भोग्दै आएको गैरकानुनी एवं अवाञ्छित व्यवहार पूर्ण रूपमा रोकियोस र सर्वसाधारण पनि यस्ता गिरोहबाट जोगिऊन् भन्ने उद्देश्यले सार्वजनिक गरिएको उनले प्रस्ट पारेकी छन ।
यस घटनाले पछिल्लो समय प्रविधिको दुरुपयोग गरी महिला तथा कलाकारहरूमाथि हुने साइबर अपराधको भयावह रूपलाई फेरि एकपटक छताछुल्ल पारिदिएको छ । विभिन्न व्यक्तिको नम्बर प्रयोग गरेर वा गैरकानुनी माध्यमबाट सिमकार्ड प्राप्त गरी भइरहेको यो गतिविधिबारे नेपाल प्रहरीको साइबर ब्यूरो र दूरसञ्चार प्रदायक निकायहरूले सूक्ष्म अनुसन्धान गर्नुपर्ने माग उठेको छ । सामाजिक सञ्जालमा गायिका अधिकारीको समर्थनमा आवाज उठ्नुका साथै यस्ता साइबर अपराधीलाई तत्काल ट्रेस गरी कडा कानुनी दायरामा ल्याउन गृह प्रशासनसँग माग भइरहेको छ ।



Bishnu GC 




















प्रतिक्रिया दिनुहोस्