images
  • के कारणले भित्रभित्रै जल्दैछ नवलपुरको घाँगी भीर?

    images
    images
    images

    पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित घाँगी भीरमा करिब ६ महिनादेखि जमिनमुनिबाट निरन्तर धुवाँ निस्किएपछि स्थानीयवासी चिन्तित बनेका छन्।

    हुप्सेकोट गाउँपालिका–६ अन्तर्गत पेलेगा र भडारी गाउँको बीचमा पर्ने यो भीर पेलेगा बस्तीबाट लगभग ५०० मिटर दक्षिण-पश्चिममा पर्दछ। स्थानीयहरूका अनुसार यो भीरमा करिब दुई वर्षअघि सानो पहिरो गएर दरार आएको थियो। गत सालको चैत महिनादेखि, अर्थात् पछिल्लो पाँच-छ महिनायता, त्यही पहिरो खसेको स्थानबाट अनवरत रूपमा सेतो र फुस्रो धुवाँको मुस्लो निस्किरहेको छ। उक्त धुवाँबाट अस्वाभाविक रूपमा बारुदको जस्तो गन्ध आइरहेको छ।

    त्यति मात्र नभएर धुवाँ निस्किरहेको जमिनको सतह यति धेरै तातो छ कि यहाँ सुकेको घाँसपात वा काठदाउरा राख्नासाथ आगो दन्किन्छ। अझ मुसलधारे पानी पर्दा समेत यो धुवाँ निभ्दैन, बरु धुवाँको मुस्लो झन् बाक्लो र तीव्र गतिमा फैलिन थाल्छ।

    यस क्षेत्रमा जमिनमुनिबाट धुवाँ आउने यो घटना पूर्णतया नौलो भने होइन। स्थानीयका अनुसार आजभन्दा करिब १८-१९ वर्षअघि, अर्थात् वि.सं. २०६२/०६३ तिर पनि सोही डाँडाको दक्षिणी भेगमा यस्तै धुवाँ निस्किएको थियो, जुन करिब डेढ वर्षपछि स्वतः हराएको थियो। त्यति मात्र होइन, गाउँका पाका पुस्ताका अनुसार वि.सं. २०१२ सालतिर पनि यस भेगमा जमिनमुनिबाट यस्तै धुवाँ आउने गरेको स्थानीय मौखिक इतिहास छ।

    तर पछिल्ला महिनाहरूमा धुवाँको घनत्व निकै बढेको छ, जमिन भासिँदै गएको छ र भीरको फेदीबाट बग्ने याल्ता खोलाको किनार पहेँलो लेदोले ढाकिनुका साथै पानीको स्वाद समेत फिटकिरीजस्तो अमिलो र टर्रो बनेको छ। यसले गर्दा भीरभन्दा करिब ५०० मिटर पर रहेको पेलेगा गाउँका नागरिक सम्भावित ग्यास विस्फोट वा पहिरोले सिङ्गो बस्ती नै बगाउने त्रासमा रातभर जाग्राम बस्न बाध्य भएका छन्।

    हुप्सेकोटको घाँगी भीरबाट किन धुवाँ निस्किरहेको छ भन्ने विषयमा हालसम्म कुनै पनि आधिकारिक वा प्रमाणित वैज्ञानिक निष्कर्ष आइसकेको छैन। स्थलगत भूगर्भीय जाँच, भित्री चट्टानको नमुना परीक्षण र ग्यासको प्रयोगशाला विश्लेषण नगरीकन यही कारणले धुवाँ आएको हो भन्न सकिँदैन।

    तर यो क्षेत्र पूर्व–पश्चिम राजमार्गको कावासोतीदेखि २० किलोमिटर उत्तरमा पर्ने, करिब ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ९ करोड ६० लाख टन धाउ फलाम भण्डार भएको धौवादी फलाम खानीको भौगर्भिक घेराभित्र पर्दछ। स्थानीयका अनुसार यहाँ पहिले पुर्खाहरूको पालादेखि नै फलाम निकालेर खुकुरी बनाउने गरिन्थ्यो।

    यो फलाम खानीको क्षेत्र भएकाले त्यहाँ माटो र चट्टानभित्र आइरन सल्फाइड वा पाइराइट खनिज रहेको हुन्छ। दुई वर्षअघिको पहिरोले ती भित्री चट्टानहरूलाई हावा र पानीको सम्पर्कमा ल्याएपछि तीव्र रासायनिक अक्सिडेशन सुरु भई अत्यधिक तातो उत्पन्न भएको हुन सक्छ। उक्त तापक्रमले वरपरका जैविक पदार्थमा आगो सल्काउँदा सल्फर डाइअक्साइड र हाइड्रोजन सल्फाइडजस्ता ग्यासहरू निस्किएर बारुदको जस्तो गन्ध आएको अनुमान गरिन्छ।

    साथै, यस रासायनिक प्रक्रियाबाट बन्ने सल्फ्यूरिक एसिड र आइरन सल्फेटको घोल याल्ता खोलामा मिसिँदा पानीको स्वाद फिटकिरीजस्तो अमिलो भएको र किनारमा पहेँलो जारोसाइट खनिजको लेदो जमेको हुन सक्ने विज्ञहरूको अनुमान छ। यिनै प्रारम्भिक अनुमानहरूको वास्तविक तथ्य यकिन गर्न खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद्को नेतृत्वमा विज्ञ टोली स्थलगत अनुसन्धानमा खटिएको छ।

    नेपालको नवलपुर स्थित हुप्सेकोटमा अध्ययनको अन्तिम रिपोर्ट आउन बाँकी रहे तापनि, विश्वका अन्य धेरै मुलुकहरूमा जमिन, पहाडी भीर वा खानीहरूबाट अनवरत धुवाँ निस्कने र आगो बल्ने यस्ता घटनाहरू शताब्दीयौँदेखि वैज्ञानिक रूपमा प्रमाणित भइसकेका छन्।

    यसको सबैभन्दा मिल्दोजुल्दो उदाहरण क्यानडाको उत्तर-पश्चिमी भूभागस्थित केप बाथर्स्टको समुद्री भीरहरूमा रहेको ‘स्मोकिङ हिल्स’ हो। यस भीरबाट विगत हजारौँ वर्षदेखि अनवरत रूपमा बाक्लो सल्फ्यूरिक धुवाँ र ग्यासको मुस्लो निस्किरहेको छ। यस ठाउँमा मडस्टोन चट्टानभित्र रहेको आइरन पाइराइट पहिरो र कटानका कारण हावाको सम्पर्कमा आएर निरन्तर धुवाँ निस्किरहेको वैज्ञानिक निष्कर्ष छ। त्यहाँको रासायनिक प्रक्रिया यति तीव्र छ कि वरपरका खोला र पोखरीको पानीको अमिलोपन ब्याट्रीको एसिडभन्दा पनि कडा, अर्थात् माइनस १.४४ सम्म पुगेको छ र भीरको माटो जारोसाइटका कारण हुप्सेकोटमा जस्तै पहेँलो र रातो बनेको छ।

    त्यस्तै, अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित ‘माउन्ट विङ्गेन’, जसलाई बर्निंग माउन्टेन भनिन्छ, यहाँ पनि हजारौं वर्षदेखि निरन्तर धुवाँ निस्किरहेको छ। यसलाई विश्वकै सबैभन्दा लामो समयदेखि निरन्तर जलिरहेको प्राकृतिक कोइलाको आगो भनिएको छ। यस्तै हाम्रै छिमेकी राष्ट्र भारतको झारखण्डस्थित झरिया कोइला क्षेत्रमा पनि विगत १०८ वर्षभन्दा लामो समयदेखि खुला खानी उत्खननका कारण कोइलाको स्वतः दहन भई जमिनमुनि आगो दन्किरहेको छ, जसका कारण ७० भन्दा बढी स्थानमा जमिन भासिने र विषाक्त धुवाँ फैलिने उच्च जोखिमले १ लाखभन्दा बढी मानिसहरू विस्थापित भइसकेका छन्।

    यसरी क्यानडा, अष्ट्रेलिया वा भारतका यी वैज्ञानिक तथ्यहरूले के प्रमाणित गर्छन् भने, जमिनमुनिबाट धुवाँ आउने र आगो बल्ने यस्ता घटनाहरू कुनै अलौकिक वा दैवी चमत्कार होइनन्, बरु प्रकृतिका जटिल भूगर्भीय र भू-रासायनिक प्रक्रिया हुन्।

    तर नवलपुरको हुप्सेकोट भीरको बारेमा भने, जबसम्म खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले ल्याब परीक्षणसहितको आधिकारिक प्रतिवेदन सार्वजनिक गर्दैन, तबसम्म यही नै मुख्य कारण हो भनेर किटान गर्न र यकिन दाबी गर्न सकिँदैन। यद्यपि, अहिलेसम्म प्राप्त डाटाहरू र धौवादी फलाम खानीको भौगर्भिक अवस्थितिलाई हेर्दा, यो घटना माटोमुनि लुकेका खनिजहरूको तीव्र रासायनिक प्रतिक्रियाका कारण भएको हुन सक्ने अनुमान भने गर्न सकिन्छ।

    यस्ता भूमिगत आगलागी वा भू-रासायनिक प्रक्रियाहरू उचित प्राविधिक नियन्त्रणबिना वर्षौंसम्म फैलिन सक्ने प्रकृतिका हुन्छन्।

    त्यसैले, अनुसन्धानको अन्तिम नतिजा र आधिकारिक प्रतिवेदन नआएसम्म, ५०० मिटर दूरीमा रहेको पेलेगा बस्तीको सुरक्षा, पहिरोको उच्च जोखिमको पूर्वतयारी र अमिलो बनेको याल्ता खोलाको पानी उपभोगमा स्थानीय प्रशासन र बासिन्दाहरूले तत्काल उच्च सतर्कता र सजगता अपनाउनु नै आजको मुख्य आवश्यकता देखिन्छ।

    प्रतिक्रिया दिनुहोस्