काठमाडौँको मुटुमा रहेको ऐतिहासिक खुलामञ्च यतिबेला फेरि एकपटक कडा राजनीतिक बहस र जनआक्रोशको केन्द्र बनेको छ ।
नेपाली प्रजातान्त्रिक आन्दोलन , ऐतिहासिक राजनीतिक परिवर्तन र विभिन्न जनआन्दोलनहरूको साक्षी रहेको यो मैदानमा आज नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनको भव्य कार्यक्रम चलिरहेको छ । हजारौँ नेता-कार्यकर्ताको उपस्थिति , घन्किएका माइकका आवाज र मञ्च निर्माणका लागि गाडिएका बाँस तथा फलामका संरचनाहरूले सिङ्गो खुलामञ्चलाई राजनीतिक सभास्थलमा परिणत गरिदिएको छ । तर आजको यो भव्य राजनीतिक दृश्यभित्र काठमाडौँवासी र आम नागरिकको भने गम्भीर चिता र आक्रोश लुकेको छ ।

केही समयअघिसम्म अतिक्रमणको चपेटामा परेको , जथाभाबी गाडी पार्किङ र फोहोरको डम्पिङ साइट बनेको खुलामञ्चलाई काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाहको कडा अडान र पहलमा खाली गराइएको थियो । लामो समयको मिहिनेत र ठूलो सरकारी बजेट खर्च गरेर त्यहाँ माटो सम्म्याइयो , दुबो रोपियो र सुन्दर हरियाली कायम गरियो । सहरी जीवनको व्यस्तता र कङ्क्रीटको जङ्गल बनेको काठमाडौँमा बालबालिकाहरू निर्धक्क खेल्न सक्ने , वृद्धवृद्धाहरू घाम ताप्न सक्ने र सर्वसाधारणले खुला सास फेर्न सक्ने एउटा मात्र सुरक्षित सार्वजनिक चौरका रूपमा यसलाई पुनर्जन्म दिइएको थियो । तर आज त्यही हरियाली र दुबोमाथि हजारौँ मान्छेको भीड कुदिरहेको छ । महाधिवेशनका लागि ठुला-ठुला मञ्च बनाउँदा गाडिएका खम्बा , भारी सामान बोकेका गाडीहरूको आउजाउ र हजारौँ मानिसको कुल्चाइले भर्खरै सप्रिँदै गरेको दुबो र हरियाली ध्वस्त हुने अवस्थामा पुगेको छ ।

वर्षौँको प्रशासनिक मिहिनेत र नागरिकको करबाट बनाइएको सार्वजनिक सम्पत्तिलाई राजनीतिक दलहरूले आफ्नो शक्ति प्रदर्शनको थलो बनाउँदा महानगरपालिकाले अनुमति दिनु र दलीय दबाबमा ढल्कनुले काठमाडौँवासीमाझ गम्भीर निराशा जन्माएको छ । काठमाडौँका स्थानीय बासिन्दा र अभिभावकहरू यतिबेला निकै आक्रोशित बनेका छन् । उनीहरूको मुख्य चिन्ता भनेको आजको कार्यक्रम सकिएपछि यो ऐतिहासिक चौर पूर्ववत् अवस्थामा फर्किन्छ कि फेरि उही पुरानै फोहोर , हिलो र ध्वस्त अवस्थामा छाडिन्छ भन्ने हो ।

नेपालमा राजनीतिक दलहरूले ठुला-ठुला सभा-सम्मेलन गर्ने , भाषणमा देश विकास र सुशासनका कुरा गर्ने , तर कार्यक्रम सकिएपछि प्रयोग गरिएको ठाउँलाई प्लास्टिक , मञ्चका भग्नावशेष र फोहोरको डङ्गुर बनाएर छाड्ने पुरानै संस्कृति छ । आज खुलामञ्चमा भइरहेको यो गतिविधिले त्यही पुरानो गलत संस्कृतिको पुनरावृत्ति त भइरहेको छैन भन्ने प्रश्न खडा गरेको छ । यद्यपि यो विषयलाई हेर्ने अर्को राजनीतिक कोण पनि छ । कतिपय विश्लेषक र राजनीतिक कार्यकर्ताहरू खुलामञ्चको ऐतिहासिक पहिचान नै राजनीतिक सभा र प्रजातान्त्रिक आन्दोलनसँग जोडिएकाले यसलाई स्वाभाविक मान्छन् । उनीहरूको तर्क छ कि खुलामञ्च केवल खेलकुद वा पार्क मात्र होइन , यो त नेपाली जनताले निरङ्कुशताविरुद्ध आवाज उठाएको र गणतन्त्रको जग बसालेको ऐतिहासिक थलो हो । त्यसैले देशको सबैभन्दा पुराना र ठुला राजनीतिक दलहरूले आफ्ना महाधिवेशन र आमसभा यहाँ गर्नुलाई अधिकारकै रूपमा व्याख्या गर्नेहरू पनि छन् । तर यहाँ मुख्य प्रश्न अधिकारको मात्र होइन , दायित्व र सन्तुलनको पनि हो । प्रजातान्त्रिक अधिकारको प्रयोग गर्दा सार्वजनिक सम्पत्तिको संरक्षण र आम नागरिकको हकको हनन् हुनुहुँदैन भन्ने आधारभूत मान्यतालाई राजनीतिक दलहरूले पूर्णतः बिर्सिएको देखिन्छ । यदि राजनीतिक सभा गर्नै परेमा काठमाडौँमा अन्य वैकल्पिक स्थानहरू वा प्रेक्षालयहरू प्रयोग गर्न सकिन्थ्यो । तर काठमाडौँको मुटुमै शक्ति प्रदर्शन गर्ने दलीय होडबाजीका कारण भर्खरै पुनर्स्थापित हरियालीलाई सङ्कटमा पारिएको छ ।

यस घटनाले काठमाडौँ महानगरपालिकाको नेतृत्व र प्रशासनिक अडानमाथि पनि ठूलो नैतिक प्रश्न तेर्स्याएको छ । सर्वसाधारण साना व्यापारी वा आम नागरिकले सार्वजनिक ठाउँ थोरै मात्र अतिक्रमण गर्दा पनि कडा रूपमा प्रस्तुत हुने महानगरपालिका ठुला राजनीतिक दलहरूको अगाडि किन लचार बन्यो ? के कानुन र नियम साना नागरिकका लागि मात्र लागू हुने हो र शक्तिशाली दलहरूका लागि खुलामञ्च जस्तै जुनसुकै नियम पनि तोड्न पाइने हो ? महानगरले अनुमति दिँदा राखेका सर्तहरू के-के थिए र ती सर्तहरूको पालना आजको कार्यक्रममा भएको छ कि छैन भन्ने कुराको अनुगमन हुनु अत्यन्तै आवश्यक छ ।

काठमाडौँ जस्तो बाक्लो बस्ती भएको सहरमा खुला क्षेत्रको महत्त्व कति हुन्छ भन्ने कुरा विगतका ठुला भूकम्पहरूले सिद्ध गरिसकेका छन् । विपद्का बेला नागरिकहरू ज्यान जोगाउन भाग्ने भनेकै यस्तै खुलामञ्च र चौरहरूमा हो । तर यस्ता संवेदनशील सार्वजनिक स्थलहरूलाई पटक-पटक राजनीतिक अखडा बनाउने र निर्माण अनि भत्काइको दुष्चक्रमा पारिरहने हो भने काठमाडौँले आफ्नो बचेकुचेको प्राकृतिक र सामाजिक अस्तित्व पनि गुमाउनेछ ।
आज खुलामञ्चमा नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशन भव्य रूपमा चलिरहँदा मञ्चबाट सुशासन , कानुनी राज्य र नागरिक अधिकारका ठुला-ठुला भाषणहरू गुञ्जिरहेका छन् । तर जुन चौर र हरियालीलाई कुल्चिएर ती भाषणहरू भइरहेका छन् , त्यसैले नै ती भाषणहरूको नैतिक धरातलमाथि व्यङ्ग्य गरिरहेको छ । देश हाँक्ने दाबी गर्ने नेताहरूले आफ्नै कार्यक्रमका कारण एउटा ऐतिहासिक सार्वजनिक चौरमा परेको नकारात्मक प्रभावप्रति कुनै चासो नदेखाउनुले उनीहरूको व्यवहार र विचारबिचको ठूलो अन्तरलाई प्रस्ट पार्छ ।
अबको मुख्य परीक्षा भनेको आजको कार्यक्रम सकिएपछिको समय हो । कार्यक्रम सकिएपछि आयोजक दलले खुलामञ्चलाई कस्तो अवस्थामा छाड्छ ? के उनीहरूले आफूले सिर्जना गरेको फोहोर र बिगारेको दुबोलाई आफ्नै खर्चमा सफा र पुनर्निर्माण गरेर महानगरलाई हस्तान्तरण गर्नेछन् ? कि सधैँझैँ राजनीतिक दम्भ देखाउँदै फोहोरको थुप्रो र भत्किएको चौर छाडेर हिँड्नेछन् ? यसको उत्तर आज साँझ वा भोलिसम्ममा सबैको सामने आउने नै छ । महानगरपालिकाले पनि यदि अनुमति दिएकै हो भने कार्यक्रम सकिनेबित्तिकै खुलामञ्चको क्षति मूल्याङ्कन गर्नुपर्छ । यदि सार्वजनिक सम्पत्ति वा हरियालीमा नोक्सानी पुगेको पाइएमा आयोजक दलबाटै त्यसको क्षतिपूर्ति भराउने र सरसफाइ गराउने हिम्मत देखाउनुपर्छ । अनि मात्र काठमाडौँमा सुशासन र कानुनी राज्यको वास्तविक अनुभूति नागरिकले गर्न पाउनेछन् ।
आज खुलामञ्चमा भइरहेको यो दृश्यले नेपाली राजनीतिको एउटा तितो यथार्थलाई छर्लङ्ग पारेको छ । एकातिर आफ्नो सुविधा र शक्ति प्रदर्शनका लागि सार्वजनिक सम्पत्तिको विनाश गर्न पनि नहिचकिचाउने राजनीतिक दलहरूको प्रवृत्ति छ भने अर्कोतिर आफ्नो सहर र हरियाली जोगाउन छटपटाइरहेका असहाय नागरिकहरूको आवाज छ । काठमाडौँको खुलामञ्चले आज फेरि एकपटक नयाँ र पुराना शक्तिहरू , दलीय अहङ्कार र नागरिक हकबिचको द्वन्द्वलाई नजिकबाट भोगिरहेको छ । यो घटनाले आगामी दिनमा सार्वजनिक सम्पत्तिको प्रयोग र राजनीतिक दलहरूको सीमाबारे नयाँ बहसको सुरुवात गरिदिएको छ ।


Bishnu GC 

















प्रतिक्रिया दिनुहोस्