आशिष मल्ल ,नेपालगञ्ज । बाँकेमा यस वर्षको बडादसैँ तथा दुर्गा मूर्ति विसर्जन कार्य पूर्ण रूपमा शान्तिपूर्ण, अनुशासित र मर्यादित वातावरणमा सम्पन्न भएको छ।
भौगोलिक तथा सामाजिक रूपमा अत्यन्तै संवेदनशील मानिने बाँके जिल्लामा सम्भावित सुरक्षा चुनौतीहरूलाई निस्तेज पार्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनको संयुक्त टोलीले अपनाएको चुस्त सुरक्षा रणनीतिका कारण सम्पूर्ण उत्सव उत्साहजनक र सुरक्षित तवरले सम्पन्न भएको हो।
चाडपर्वका बेला हुन सक्ने सम्भावित घटनाहरूलाई रोक्न र जिल्लाभर शान्ति सुरक्षा कायम राख्न एकीकृत सुरक्षा योजना तयार पारिएको थियो। सोही योजनाअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीको कमान्डमा नेपाल प्रहरी का साथै सशस्त्र प्रहरी बलको टोली पनि संयुक्त रूपमा फिल्डमा खटिएको थियो।
विशेष गरी दुर्गा पूजाका अवसरमा स्थापना गरिएका मूर्तिहरूको विसर्जनका क्रममा हुन सक्ने मुठभेड वा सामाजिक सद्भाव भड्काउने प्रयासहरूलाई रोक्न सुरक्षा निकायले प्रविधिको समेत उच्च प्रयोग गर्दै विशेष सतर्कता अपनाएको थियो। विसर्जन जुलुस निकालिएका मुख्य-मुख्य मार्ग, संवेदनशील चोक तथा नदी किनारहरूमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरू परिचालन गरिएका थिए।
जुलुसको व्यवस्थापन र सुरक्षा स्थिति नियन्त्रणमा राख्न एसपी जिसीसहित सुरक्षा निकायका कमान्डरहरू स्वयं फिल्डमा खटिएका थिए। सुरक्षाकर्मीहरूले आकाशबाट ड्रोन क्यामरामार्फत नियमित निगरानी गर्नुका साथै सिसीटिभी, पैदल गस्ती, मोबाइल गस्ती र सादा पोसाकमा गुप्तचर टोली परिचालन गरी कडा पहरा दिएका थिए।
बाँकेजस्तो बहुसांस्कृतिक र धार्मिक संवेदनशीलता भएको जिल्लामा सद्भाव कायम राख्न सुरक्षा निकायले पूर्वतयारीस्वरूप विभिन्न धर्मगुरु, नागरिक समाज, स्थानीय अगुवा र पूजा व्यवस्थापन समितिसँग निरन्तर संवाद र समन्वय गरेको थियो।
प्रविधिको आधुनिक प्रयोग र सम्पूर्ण सुरक्षा निकाय तथा स्थानीय प्रशासनको चुस्त तदारुकताका कारण विभिन्न समुदायबीच आपसी भाइचारा र सद्भाव कायम राख्दै मूर्ति विसर्जन कार्य भव्य रूपमा सम्पन्न भयो।
पर्व सकिएसँगै बाँकेका सर्वसाधारण, उद्योगी-व्यवसायी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संघ-संस्थाका अगुवाहरूले सुरक्षा निकायको भूमिकाको खुलेर प्रशंसा गरेका छन्। अहोरात्र खटिएर जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाएको भन्दै एसपी अंगुर जिसी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली नागरिक स्तरबाट बधाई र प्रशंसाको हकदार बनेको स्थानीयको भनाइ छ।


chautaripatrika 
















प्रतिक्रिया दिनुहोस्