images
  • गुल्मीमा देवरको कुटपिटबाट घाइते भाउजुको मृत्यु, दुई जना प्रहरी नियन्त्रणमा

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन २८, बुधबार १७:२६ गते
    images
    images
    images

    गुल्मीको मालिका गाउँपालिकामा मादक पदार्थ सेवन गरी देवरले गरेको कुटपिटबाट गम्भीर घाइते भएकी भाउजुको उपचारका क्रममा मृत्यु भएको छ।

    मालिका गाउँपालिका वडा नं. २, खोलाखर्क बस्ने ४६ वर्षीय बलबहादुर खत्रीले मादक पदार्थ सेवन गरी आफ्नै ४२ वर्षीया भाउजु लिला खत्रीलाई कुटपिट गरेका थिए।

    कुटपिटबाट गम्भीर घाइते भएकी लिलालाई घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी पौदीअमराई, गुल्मीबाट खटिएको टोलीले उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पा पठाएको थियो। घाइतेको अवस्था गम्भीर रहेको र उपचारका लागि उनका अर्का देवर चन्द्रबहादुर खत्री संलग्न रहेका थिए।

    घटनापश्चात् कुटपिटमा संलग्न बलबहादुर खत्री र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

    असोज २८ गते बिहान करिब ११:०० बजे घाइते लिलालाई उनका छोरा हिराबहादुर खत्रीले लुम्बिनी मेडिकल कलेजबाट आफुखुसी घर लैजाने क्रममा दिउँसो करिब १२:३० बजे बाटोमा शंका लागेपछि जिल्ला अस्पताल गुल्मी, तम्घासमा जाँच गराएका थिए।

    जाँचका क्रममा दिउँसो करिब १४:०० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले थप गहन अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया दिनुहोस्