• images

    ३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष १५, मंगलवार २०:४२ गते
    images

    हेटौंडा । मकवानपुरमा अवैध रूपमा गरिएको लागूऔषध गाँजा तथा अफिम खेतीविरुद्ध प्रहरीले व्यापक फडानी अभियान सञ्चालन गरी ३० विगाह क्षेत्रफलमा फैलिएको खेती नष्ट गरेको छ ।गत पौष ११ गतेदेखि पौष १४ गतेसम्म तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौंडा, विपद् व्यवस्थापन गुल्म हेटौंडा तथा मातहतका प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त अभियान सञ्चालन गरेको हो ।

    अभियानका क्रममा मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने राक्सीराङ गाउँपालिका अन्तर्गत वडा नं. १, ६, ७ र ८ तथा कैलाश गाउँपालिका अन्तर्गत वडा नं. १, २, ३, ५, ६ र ९ का विभिन्न स्थानहरूमा अवैध रूपमा लगाइएको लागूऔषध गाँजा करिब २१ बिगाह र अफिम करिब ९ बिगहा गरी जम्मा ३० बिगाह क्षेत्रफलको खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुभाष चन्द्र बोहराका अनुसार लागूऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्लाका दुर्गम तथा जोखिमयुक्त क्षेत्रहरूमा समेत निगरानी बढाउँदै यस्तो अभियानलाई निरन्तरता दिइनेछ ।
    उनले अवैध लागूऔषध खेती, ओसारपसार तथा कारोबारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे ।

    प्रहरीले स्थानीय तह, जनप्रतिनिधि तथा समुदायसँग समन्वय गरी आगामी दिनमा पनि लागूऔषधविरुद्ध कडा कदम चाल्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्