अमेरिका — नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको घटनामा उनका श्रीमान् नरेश भट्टविरुद्धको हत्या मुद्दाको सुनुवाइका क्रममा मोबाइल फोनको लोकेसन र डीएनए परीक्षणसम्बन्धी प्रमाणहरू अदालतमा प्रस्तुत गरिएको छ।
अगस्ट १ को दिउँसो भने ममताको मोबाइल फोन नरेशको टेस्ला कारसँगै चलिरहेको देखिएको अभियोजन पक्षले जनाएको छ। दिउँसो करिब ३:३५ बजे ममताको मोबाइलले अन्तिम पटक एउटा सेल टावरमा सङ्केत गरेको थियो।
त्यो स्थान च्यान्टिलीस्थित लिबर्टी ग्यास स्टेसन आसपास थियो। उक्त दिन नरेशलाई सोही ग्यास स्टेसनमा देखिएको सीसीटीभी फुटेज पनि अदालतमा प्रस्तुत गरिएको थियो। तर, नरेशको मोबाइल फोन भने त्यस दिन टेस्ला घर फर्किएसम्म कुनै पनि सेल टावरमा जोडिएको देखिएन।
ग्यास स्टेसनको सीसीटीभी फुटेजमा ममता भने देखिएकी थिइनन्। त्यसपछि पनि उनलाई कसैले देखेको छैन।
ममता बेपत्ता भएको लामो समय बितिसक्दा पनि उनको शव फेला परेको छैन। नरेशमाथि ममताको हत्या गरी शव टुक्राटुक्रा पारेर उत्तरी भर्जिनियाका विभिन्न फोहोर फाल्ने स्थानमा फालेको आरोप छ। उनीमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवको अपमान गरेको अभियोग लगाइएको छ। यी आरोप अदालतबाट प्रमाणित हुन बाँकी छन्।
मोबाइल फोनको लोकेसनले देखाएको गतिविधि
मंगलबार बिहान अदालतमा उपस्थित भएका अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का विशेष एजेन्ट जुडाह पेन्टले ममता र नरेशका मोबाइल फोन तथा नरेशको नीलो टेस्ला कारले घटनाको आसपासका दिनमा कुन–कुन सेल टावरमा सङ्केत गरेका थिए भन्नेबारे तयार पारेको प्रतिवेदन प्रस्तुत गरे।
नरेशले ममतालाई अन्तिम पटक जुलाई ३१ मा देखेको बताएका थिए। तर, अभियोजन पक्षले ममताको मृत्यु जुलाई ३० मा भएको विश्वास गरेको छ।
पेन्टका अनुसार जुलाई ३० र ३१ दुवै दिन ममताको मोबाइल फोन घर आसपासकै क्षेत्रमा रहेको थियो। तर, फोनको स्थानमा पर्याप्त आवागमन नदेखिएकाले उनी सेल टावरबाट कति टाढा थिइन् भन्ने विस्तृत विवरण प्राप्त हुन सकेन। पेन्टका अनुसार यसले फोन सक्रिय रूपमा प्रयोग नभई नजिकका सेल टावरसँग निष्क्रिय रूपमा जोडिएको हुन सक्ने सङ्केत गर्छ।
यसको विपरीत, नरेशको मोबाइल फोन ती दिनमा विभिन्न स्थानमा गएको देखिएको थियो। अधिकांश समय उनको मोबाइल फोन र टेस्ला कारको गतिविधि एकअर्कासँग मेल खाएको थियो।
अभियोजन पक्षले यसअघि अदालतमा प्रस्तुत गरेका सीसीटीभी फुटेजसँग पनि मोबाइल फोनको लोकेसन मेल खाएको बताइएको छ। फोन र टेस्ला वालमार्ट, लिडल सुपरमार्केट तथा उनकी छोरीको हेरचाह गर्ने व्यक्तिको अपार्टमेन्ट आसपास पुगेका थिए।
पेन्टका अनुसार नरेशको मोबाइल फोन र टेस्लाको गतिविधि सामान्यतया एउटै क्षेत्रमा देखिए पनि तीनवटा घटनामा भने फरक अवस्था देखिएको थियो।
पहिलो घटना जुलाई ३१ को मध्यरातपछि भएको थियो। त्यसबेला टेस्ला फल्स चर्चस्थित एउटा अपार्टमेन्ट परिसरको फोहोर थुपार्ने स्थानमा पुगेको थियो। त्यहाँ नरेश कारबाट ओर्लिएर फोहोरका केही झोला फाल्दै गरेको सीसीटीभी फुटेजमा देखिएका थिए।
दोस्रो पटक सोही दिन टेस्ला उक्त स्थानमा पुनः पुगेको थियो। त्यसबेला पनि नरेश कारबाट ओर्लिएर फोहोरका झोला फाल्दै गरेको देखिएको अभियोजन पक्षले जनाएको छ।
तेस्रो घटना अगस्ट १ मा भएको थियो। त्यस दिन टेस्ला च्यान्टिलीस्थित लिबर्टी ग्यास स्टेसन पुगेको थियो। सीसीटीभी फुटेजमा नरेशले कार पार्क गरेर ग्यास स्टेसनभित्र प्रवेश गरेको देखिएको थियो।
यी तीनवटै घटनाका बेला नरेशको मोबाइल फोनले कुनै पनि सेल टावरमा सङ्केत गरेको थिएन। एफबीआईका एजेन्ट पेन्टका अनुसार फोन पूर्ण रूपमा बन्द गरिएको वा एयरप्लेन मोडमा राखिएको हुन सक्ने सम्भावना छ।
तर, प्रतिरक्षा पक्षले मोबाइल सेवा प्रदायकले फोनको सेवा विच्छेद गरेको वा नेटवर्क उपलब्ध नभएको अवस्था पनि हुन सक्ने तर्क गरेको थियो। यद्यपि, पेन्टले बाक्लो बस्ती भएको क्षेत्रमा नेटवर्क उपलब्ध नहुनुलाई कम सम्भावित अवस्था बताए।
अभियोजन पक्षका सहायक महान्यायाधिवक्ता म्याथ्यु स्वीटले पेन्टलाई सोधे, “एफबीआईका विशेष एजेन्टका रूपमा तपाईंको अनुभवमा अपराध गर्न जाँदा अपराधीहरूले मोबाइल फोन बन्द गर्छन्?”
पेन्टले जवाफ दिए, “गर्छन्।”
मंगलबार बिहान अदालतमा बयान दिएका नरेश र ममताका छिमेकीहरूले भने ममताले कुनै पनि कार चलाएको आफूहरूले नदेखेको बताएका थिए। उनीहरूले ममताले टेस्ला कार चलाएको पनि कहिल्यै नदेखेको बयान दिएका थिए।
आरामा ममताको डीएनएसँग मेल खाने रगत
ममता बेपत्ता भएपछि नरेशले आफूलाई दिएको भन्दै एक ल्यान्डस्केपिङ कामदारले प्रहरीलाई बुझाएको विद्युतीय आरामा रगत र कपाल फेला परेको थियो।
मंगलबार दिउँसो फरेन्सिक विश्लेषकहरूले उक्त आराभित्र भेटिएको रगत ममताको कपालको ब्रसबाट प्राप्त नमुनासँग डीएनए परीक्षणमा मेल खाएको अदालतमा बताएका छन्।
यस घटनामा संकलन गरिएका डीएनए प्रमाणबारे तीन जना फरेन्सिक वैज्ञानिकले अदालतमा बयान दिएका थिए।
फरेन्सिक वैज्ञानिक क्याथरिन कोलम्बोले डीएनएमा पारिवारिक सम्बन्ध पहिचान गर्ने परीक्षणबारे जानकारी दिँदै भट्ट परिवारको घरबाट फेला परेको कपालको ब्रसमा रहेको कपाल ममताकै भएको बलियो सम्भावना रहेको बताइन्।
उनले उक्त कपालको नमुनालाई ममता र नरेशकी शिशु छोरीको गालाभित्रबाट संकलन गरिएको नमुनासँग तुलना गरेकी थिइन्। परीक्षणको नतिजाले उक्त कपाल शिशुकी जैविक आमा ममताकै भएको सम्भावना ९९.९९ प्रतिशत रहेको देखाएको उनले बताइन्।
अर्की फरेन्सिक वैज्ञानिक लोरी प्रुघले घरको संलग्न बाथरुमको झ्याल र पर्दामा भेटिएको शङ्कास्पद रगतको नमुना परीक्षण गर्दा कपालको ब्रसमा रहेको कपालको नमुनासँग डीएनए मेल खाएको बताइन्।
प्रुघका अनुसार प्रहरीलाई बुझाइएको विद्युतीय आराको भित्री भागमा भेटिएको शङ्कास्पद रगतको नमुनाको डीएनए पनि उक्त ब्रसमा रहेको कपालको नमुनासँग मेल खाएको थियो।
तेस्रो फरेन्सिक वैज्ञानिक एल्किन हावर्डले आराभित्र भेटिएका कपालजस्ता रेसाहरू वास्तवमै मानिसको कपाल भएको पुष्टि गरे। तर, ती कपाल कसका हुन् भन्ने पहिचान गर्न उनले नमुना प्रुघलाई परीक्षणका लागि पठाएका थिए।
अभियोजन पक्षका अनुसार प्रुघले बुधबार पुनः अदालतमा उपस्थित भएर थप बयान दिनेछिन्।
ममता काफ्ले भट्टको अवस्था अझै अज्ञात छ। मोबाइल फोनको गतिविधि, सीसीटीभी फुटेज र डीएनए परीक्षणका नतिजालाई अभियोजन पक्षले नरेशविरुद्धको मुद्दामा प्रमाणका रूपमा प्रस्तुत गरिरहेको छ।


chautaripatrika 













प्रतिक्रिया दिनुहोस्