देशमा बेरोजगारी छ, युवाहरू दिनदिनै विदेशिइरहेका छन सरकारी कार्यालयमा जाँदा जनताले सास्ती पाएका छन… तर हाम्रा माननीय सांसदहरूलाई भने कसरी समाचारको हेडलाइन बन्ने र कस्तो फण्डा गर्ने भन्ने मात्र ध्याउन्न छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिका सभापति हरि ढकालले एउटा अद्भूत र हास्यास्पद तर्क अघि सारेका छन । उनले भने ‘हामीसँग सिंह छैन, त्यसैले सिंहदरबारको नाम बदलेर अनामनगर दरबार राख्नुपर्छ ।
वाह माननीय ज्यू ! क्या गजबको तर्क ! देश सुधार्ने जिम्मा पाएका सांसदले सिंहदरबारभित्रको ढिलासुस्ती र कालोबाजारी सच्याउन छाडेर नामको पछाडि कुद्नु कत्तिको बुद्धिमानी हो ? आज हामी यही हरि ढकालको अनामनगर दरबार फण्डाको भित्री कच्चाचिट्ठा खोल्दैछौँ अन्तिम सम्म हेर्नुहोला ।
सांसद हरि ढकालले ललितपुरको एउटा कार्यक्रममा बोल्दै भने परिवर्तनपछि सबै ठाउँका नाम फेरिए, विमानस्थलका नाम फेरिए । तर सिंहदरबारको नाम फेरिएन । हामीसँग सिंह नै छैन भने किन सिंहदरबार भन्ने ? यसलाई त अनामनगर दरबार राख्नुपर्थ्यो ।
माननीय ज्यू, अलि कति इतिहास पल्टाएर हेर्ने कष्ट गरेको भए सायद यस्तो हलुका टिप्पणी गर्ने थिएन्न होला ।वि.सं. १९६० मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले करिब ३५० रोपनी जग्गामा ११ महिना लगाएर निर्माण गरेको यो सिंहदरबार केवल एउटा भवन होइन, १२२ वर्ष पुरानो देशको मुख्य प्रशासनिक धरोहर हो । नेपाली इन्जिनियर कुमार नरसिंह र भारतीय इन्जिनियर जोगेन्द्रबाबुले बनाएको यो दरबारको आफ्नै ऐतिहासिक पहिचान छ ।तर, इतिहास र विरासतको गम्भीरता नबुझी हामीसँग सिंह छैन भनेर केटाकेटी तर्क गर्नु कत्तिको परिपक्व राजनीति हो ।
अब हरि ढकाल ज्यूको यो तर्कलाई अलिकति अगाडि बढाएर हेरौँ । यदि सिंह छैन भनेर सिंहदरबारको नाम फेर्ने हो भने त नेपालमा बाघबजारमा बाघ पाइँदैन, के त्यसको नाम पनि बदल्ने ? भालुवाङमा भालु हिँड्दैनन्, त्यहाँको नाम पनि फेरिदिने ? अनि हात्तीसार मा हात्ती बाँध्न छाडिसकियो, त्यसलाई के राख्ने माननीय ज्यू ?
रास्वपाजस्तो नयाँ र वैकल्पिक भनिएको पार्टीका नेताहरूले जनताका वास्तविक समस्या जस्तै महँगी, भ्रष्टाचार, सुशासन र सिंहदरबारभित्र छिर्न जनताले पाउने सास्तीमाथि संसद्मा आवाज उठाउलान भनेको त… उनीहरु त बोर्ड र साइनबोर्ड फेर्ने पण्डित बनेर पो निस्कनुभयो ।
नाम सिंहदरबार रहोस् वा अनामनगर दरबार, भित्र बस्ने नेता र कर्मचारीको सोच र कार्यशैली सामन्ती नै रह्यो भने नाम फेरेर के हुन्छ ? के नाम फेर्दैमा फाइल खुरुखुरु अघि बढ्छ ? के नाम फेर्दैमा भ्रष्टाचार रोकिन्छ ? अझ चाखलाग्दो कुरा त के छ भने, हरि ढकाल सामान्य सांसद मात्र होइनन्, उनी त प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हुन । राज्यमा सुशासन कायम गर्ने, निजामती सेवा विधेयक अड्किएका बेला ऐन-कानुन बनाउन सरकारलाई दबाब दिने, र प्रशासनिक मुहान सफा गर्ने मुख्य जिम्मेवारी उनकै काँधमा छ ।
तर, सुशासन ल्याउने कानुन र नीति बनाउन छाडेर सभापति ज्यू अनामनगर दरबारको नामकरणतिर अल्झिनुले रास्वपाको सस्तो पपुलिज्म र फण्डाको राजनीति प्रस्ट पार्छ । काम गर्न नसकेपछि वा काम गर्ने ज्ञान नभएपछि यस्तै यस्तै अनौठा र भाइरल हुने बोली बोलेर जनताको ध्यान मोड्ने प्रयास गरिन्छ ।


Bishnu GC 















प्रतिक्रिया दिनुहोस्