काठमाडौं– भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बेपत्ता भएका दम्पतीमध्ये ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कविन राईका अनुसार सुनकोशीमा फेला परेको शवको हुलिया आफन्तलाई पठाउँदा उनीहरूले तिलकुमारीको शव भएको पुष्टि गरेका छन्। थप आधिकारिक पुष्टि गर्न उनका आफन्त ओखलढुंगा पुगेका छन् ।
तिलकुमारीका श्रीमान् ६८ वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। उनी पत्नीलाई पिठ्यूँमा बोकेर दोलालघाटबाट नदीमा हाम फालेको आशंका गरिएको छ ।
पराजुली दम्पती बुधबार साँझदेखि बेपत्ता भएका थिए। उनीहरूको खोजीका लागि काभ्रे र ओखलढुंगा प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। केदारनाथ पराजुलीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


chautaripatrika 











प्रतिक्रिया दिनुहोस्