• images

    जेलभित्रै रिगलले कैदीमाथि कुटपिट गरेको आरोप, कारागार प्रशासन मौन

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण २३, शनिबार ११:२७ गते
    images

    बाँकेको नेपालगञ्ज कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका रिगल ढकाल उर्फ योगराज ढकालले कारागारभित्रै अर्का कैदीमाथि कुटपिट गरेको गम्भीर आरोप लागेको छ। 

    नेपालगञ्जकै अर्का कैदी सुरज गुप्तामाथि उनले निर्घात कुटपिट गरेको आरोप लागेको हो। सुरज गुप्ताका आफन्तले केही मिडियामा अन्तर्वार्ता दिँदै रिगलले कारागारभित्र सुरजको मुखमा कपडा कोचेर कुटपिट गरेको र घटनाबारे बाहिर बोले मारिदिने धम्की तथा त्रास देखाएको आरोप लगाएका छन्।

    साथै, रिगलले कारागारभित्र अन्य कैदीहरूबाट जबर्दस्ती पैसा उठाउने र उनीहरूमाथि पनि कुटपिट गर्ने गरेको गम्भीर आरोप उनीहरूले लगाएका छन्।  यस्तो गम्भीर आरोप सार्वजनिक भइसक्दा पनि कारागार प्रशासनको तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक धारणा  आएको छैन ।

    रिगलमाथि नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोग छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएपछि रिगल २०८० असोज ३ गते संविधान दिवसको अवसरमा जेलमुक्त भएका थिए।

    तर, चेतनकी पत्नी भारती मानन्धरले  दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०८० कात्तिक १६ गते कैद मिनाहा दिने सरकारको निर्णय बदर गरिदिएको थियो। अदालतको उक्त आदेशलगत्तै उनी पुनः पक्राउ परेका थिए। सर्वोच्चले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको थियो।

    प्रतिक्रिया दिनुहोस्