• पूर्वगृहमन्त्री सुधन गुरुङको रिसोर्ट काण्ड: प्रमाण गायब पार्न बिना वारेन्ट प्रहरीको छापा

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ६, बुधबार ००:२३ गते
    images

    कुनै बेला देशको कानुन हातमा लिएर हिँड्ने र सुशासनको गफ छाँट्ने पूर्वगृहमन्त्री सुधन गुरुङको पावर र पहुँचको एउटा यस्तो नयाँ पाना खुलेको छ, जसले सिङ्गो गृह प्रशासन र नेपाल प्रहरीको साखमाथि नै गम्भीर प्रश्न उठाइदिएको छ। आर्थिक विवादका कारण पदबाट राजीनामा दिएका गुरुङमाथि अब आफ्नो गोप्य विवरण लुकाउन राज्यको शक्तिको चरम दुरुपयोग गरेको महा-आरोप लागेको छ।सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्टमा काठमाडौँबाट पुगेको सादा पोसाकको प्रहरी टोलीले जुन हर्कत गर्‍यो, त्यो कुनै कानुनी अनुसन्धान थिएन; त्यो त एउटा हाइ-प्रोफाइल राजनीतिक नेताको कर्तुत लुकाउने संगठित खेल थियो। आखिर के लुकाउन खोज्दैछन् पूर्वगृहमन्त्री? र किन अपराधीको मतियार बन्दैछ देशको प्रहरी? हेरौँ यो नाङ्गो नाच।

    घटनाको जरो बुझ्न हामी चैतको पहिलो सातातिर फर्कनुपर्ने हुन्छ, जब सुधन गुरुङ देशको गृहमन्त्री बन्ने लाइनमा त थिए, तर मन्त्री भइसकेका थिएनन्। त्यही समयमा उनी सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्टमा बास बस्न पुग्छन्। तर, उनी एक्लै थिएनन्। उनीसँगै थिइन् एकजना रहस्यमय युवती।

    रिसोर्टको नियमअनुसार श्रीमती वा परिवारबाहेक अरू युवती लिएर आउने पाहुनाको दुवैको परिचयपत्र (ID) अनिवार्य मागिन्छ। सुधन गुरुङ र ती युवतीले आफ्नो पहिचान लुकाउन आईडी दिन इन्कार गर्छन्। विवाद बढ्दै जाँदा सुधन गुरुङले आफ्नो एउटा मात्र आईडी त्यहाँ छाड्छन्, जुन आईडी आज पनि रिसोर्टको सुरक्षित दराजमा प्रमाणको रूपमा बन्धक छ। त्यतिबेला रिसोर्टका सोझा कर्मचारीलाई के थाहा उनीहरूसँग ओछ्यान बार्गेनिङ गरिरहेको त्यो मान्छे भोलि देशकै गृहमन्त्री बनेर आउँदैछ!

    जब वैशाखमा आर्थिक विवादमा परेर सुधन गुरुङको मन्त्री पद चैट हुन्छ, तब सुरु हुन्छ प्रमाण मेटाउने खेल। मङ्गलवार दिउँसो भोटेकोशी हेली रिसोर्टमा अचानक काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको एउटा विशेष टोली सादा पोसाकमा धुरिन्छ। स्थानीय प्रहरी चौकीलाई समेत पत्तो नदिई पुगेको यो टोलीले त्यहाँ पुग्ने बित्तिकै आतंक मच्चाउँछ। कर्मचारीहरूको मोबाइल फोन खोसिन्छ र रिसोर्टको मुटु मानिने सीसीटीभी र त्यसको मुख्य उपकरण अर्थात् डिभीआर (DVR) जबरजस्ती जफत गरिन्छ।

    अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले ‘दुई महिनाअघि भएको कुनै चोरीको घटना’ अनुसन्धानका लागि टोली पठाइएको भन्दै सञ्चारमाध्यममा बचाउ त गरेका छन्, तर रिसोर्टका कर्मचारीको यो बयानले प्रहरीको त्यो दाबीको धज्जी उडाइदिएको छ।

    हामीलाई सरहरूले सर्च वारेन्ट माग्न भन्नुभएको थियो। त्यसो भन्दा उल्टै हप्कीदप्की गरे। कसैको सामान चोरी भएको भए एक-दुई दिनमा पो कम्प्लेन आउँछ। तर, उनीहरू दुई महिनाअगाडिको फुटेज माग्न आए। हाम्रो सिष्टममा दुई महिनासम्मको फुटेज सेभ नै हुँदैन। उनीहरूले हामी रिकभर गर्छौँ भनेर सामान लुटेर जस्तै गरी लिएर गए। हामी अहिले डराएर काम छोडी तातोपानी बजारमा लुकेर बसेका छौँ।

    कुनै सामान्य चोरीको अनुसन्धान गर्न काठमाडौँबाट एसएसपीको कमाण्डमा विशेष टोली सिन्धुपाल्चोक कुद्नु आफैँमा हास्यास्पद र शङ्कास्पद छ। दुई महिना पुरानो फुटेज रिसोर्टको सिस्टमबाट आफैँ मेटिइसकेको थाहा हुँदाहुँदै पनि, ‘हामी फरेन्सिक ल्याबबाट रिकभर गर्छौँ’ भन्दै सम्पूर्ण डिजिटल डिभाइस कब्जामा लिनुले दालमा केही कालो होइन, यहाँ त दाल नै कालो भएको पुष्टि गर्छ।

    अर्को रोचक र गम्भीर संयोग के छ भने, उक्त भोटेकोशी हेली रिसोर्टका मुख्य लगानीकर्ता सुवास प्रधान यतिबेला कास्की प्रहरीको नियन्त्रणमा छन्। उता साहुलाई पोखरामा थुन्ने, र यता काठमाडौँको प्रहरीले पूर्वगृहमन्त्रीको ‘रासलीला’ र गोपनीयताको प्रमाण नष्ट गर्न सिन्धुपाल्चोकमा छापा मार्ने यी दुई घटना संयोग मात्रै किमार्थ हुन सक्दैनन्। आफ्नो राजनीतिक भविष्य र व्यक्तिगत चरित्र बचाउन पूर्वगृहमन्त्रीले नेपाल प्रहरीको एउटा पाखुरालाई कसरी गोटी बनाएका छन् भन्ने कुरा यो घटनाले छर्लङ्ग पारेको छ।

    सत्ता र शक्तिको मातमा जे गरे पनि पच्छ र प्रमाण मेटिन्छ भन्ने सोचेका पूर्वगृहमन्त्री सुधन गुरुङको यो भोटेकोशी रिसोर्ट काण्डले अहिले नयाँ राजनीतिक पराकम्प ल्याएको छ। प्रश्न उठ्छ के प्रहरीको फरेन्सिक ल्याबले त्यो फुटेज राज्य र कानुनका लागि ब्युँताउँछ कि पूर्वगृहमन्त्रीको फाइलबाट सदाका लागि डिलिट गरिदिन्छ? चोर समात्ने जिम्मेवारी पाएको प्रहरी जब आफैँ मध्यरातमा विना वारेन्ट प्रमाण चोर्न र नष्ट गर्न निस्किन्छ, तब जनताले विधिको शासनमाथि कसरी भरोसा गर्ने?

     

    प्रतिक्रिया दिनुहोस्