images
  • पाँच ओभरको खेलमा विराटनगरको धमाका

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक १५, शनिबार २३:०२ गते
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सले पहिलो जित निकालेको छ । वर्षाका कारण पाँच ओभरमा सीमित गरिएको खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराउँदै विराटनगरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

    शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो ।विराटनगरले टस हारेर पहिले ब्याटिङ गर्दै पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो ।

    विराटनगरका लागि शेन जयसूर्याले सर्वाधिक ३९ रन बनाए । उनले ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै आन्द्रे रसेलले १० बलमा अविजित २९ रन बनाए । उनले दुई चौका र तीन छक्का प्रहार गरे ।

    लोकेश बमले पनि १० बलमा २५ रनको योगदान दिए ।१०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले ६ बलमा अविजित २८ रन बनाए । आरिफ शेखले आठ बलमा अविजित १७ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

    बलिङतर्फ विराटनगरका आन्द्रे रसेल र एन्जेलो म्याथ्युजले समान एक–एक विकेट लिए ।

    वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएको खेल सञ्चालनका विषयमा विवाद भएपछि थप ढिलाइ भएको थियो । अन्ततः दुवै टोलीबीच पाँच ओभरको खेल खेलाउने सहमति भएपछि प्रतिस्पर्धा सुरु भएको थियो ।

    यस जितसँगै विराटनगरले प्रतियोगितामा पहिलो जित निकालेको छ । यसअघि विराटनगर चितवन राइनोजसँग ६ विकेट तथा कर्णाली याक्ससँग चार विकेटले पराजित भएको थियो । यता सुदूरपश्चिमको भने प्रतियोगितामा यो दोस्रो हार हो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो ।

    प्रतिक्रिया दिनुहोस्