• प्रधानमन्त्री बालेन नै अचम्ममा परेको विषयलाई समर्थकहरूले बनाए मास्टर प्लान,हिजो बालेनको दूरदर्शी रणनीति भन्दै ताली बजाउनेहरू आज किन नयाँ व्याख्या खोज्दै छन् ?

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १९, मंगलवार १९:४५ गते
    images

    हाम्रो नेपालमा एउटा निकै गज्जबको ट्रेन्ड छ । नेताले जे बोले पनि , जस्तो गरे पनि , अथवा झुक्केर जिब्रो चिप्लिएर केही भनिहाले पनि त्यसलाई सामाजिक सञ्जालमा तुरुन्तै प्रधानमन्त्रीको मास्टर प्लान भनेर घोषणा गरिदिने एउटा छुट्टै टोली नै चौबीसै घण्टा तयारी अवस्थामा बस्छ । अस्ति संसद्‌को रोस्ट्रममा उभिएर प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भनिदिँदा फेसबुक , टिकटक र युट्युबमा त कूटनीतिको यस्तो बाढी आयो कि कुरै नगर्नुहोस् । फेसबुकका ठूला  ठूला विशेषज्ञहरूले त बालेनको यो भित्री चाणक्य नीति बुझ्न साधारण नेपालीको दिमागले भ्याउँदैन , यसलाई बुझ्न त धेरै टाइम लाग्छ भन्दै कडा कडा ब्याकग्राउन्ड म्युजिक राखेर भिडियोको ओइरो नै लगाए । अझ अनौठो कुरा त के भने , बालेनले त्यसो भन्नासाथ कतिपय मानिसहरूले त छिमेकी भारत हुँदैन थियो भने हामी भोकै मर्थ्यौँ भन्दै खगेन्द्र सुनुवारका पुराना विवादित भिडियोहरू समेत खोजेर सेयर गर्न थाले । तर आज सिंहदरबारबाट सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलले एउटा यस्तो कुरा भनिदिए , जसले ती फेसबुकका कूटनीतिज्ञ र मास्टर प्लानका लेखकहरूको सातो नै उडाइदिएको छ । आखिर सिंहदरबारमा मन्त्रीले त्यस्तो के कुराको खुलासा गरे त ?

    प्रधानमन्त्री बालेन शाहले संसद्‌मा नेपालले पनि भारतको भूमि मिचेको छ भन्नासाथ सामाजिक सञ्जालका अन्धभक्तहरू सक्रिय भइहाले । उनीहरूले खोजि खोजि पुराना क्रस बोर्डरसम्बन्धी भिडियो र पुराना पत्रिकाका चिर्कटोहरू इन्टरनेटको कुनाकुनाबाट निकालेर पोस्ट गर्न थाले । बालेन समर्थकका लागि त वर्षौँ पुरानो कान्तिपुरको एउटा खोस्टो नै संजीवनी बुटी जस्तो बन्यो , जसमा सीमा क्षेत्रका किसानले यताउता जग्गा कमाएको कुरा लेखिएको थियो । उनीहरूले त्यो पत्रिकाको पुरानो कटिङलाई यसरी सेयर गरे मानौँ नेपालले आधिकारिक रूपमै भारतको भूमि मिचेको बलियो प्रमाण उनीहरूले नै फेला पारेका हुन् । देशभन्दा ठूलो नेताको बचाउ गर्नुपर्ने यी समर्थकहरूले त्यो पत्रिकाको पानालाई कूटनीतिको मुख्य दस्तावेज बनाएर दिनभरि छाती पिटिरहे ।

    हद त त्यतिबेला भयो , जब सिरहा क्षेत्र नम्बर १ बाट जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बब्लु गुप्ता समेत यो बहसमा बिना तयारी हाम्फाले । उनले सिरहा नगरपालिका वडा नम्बर २० गदियानीका स्थानीय ज्ञानी मुखियाको आँगनमै सीमा स्तम्भ गाढिएको फोटो सामाजिक सञ्जालमा हाल्दै फेसबुकमा लेखे – अब भन्नुस् , प्रधानमन्त्री बालेन संसद्‌मा झुट बोले कि सही ? समस्या दुवैतिर छ , समाधान खोज्नुपर्छ । अब सांसदज्यूलाई कसले बुझाइदिने कि स्थानीय किसानको व्यावहारिक समस्या वा नदीले धार परिवर्तन गर्दा खेत यताउता पर्नु भनेको देशले आधिकारिक रूपमा सीमा मिचेको होइन । तर सांसदज्यूले पनि बहसमा तालि पाउनका लागि एउटा स्थानीयको आँगनको पिलरलाई नै सिधै देशले सीमा मिचेको ठूलो कूटनीतिक जित जस्तो गरेर प्रस्तुत गरिदिए ।

    तर समर्थकहरूको यो कान्तिपुरको संजीवनी बुटी र सांसद बब्लु गुप्ताको आँगनको पिलर धेरै दिन टिक्न पाएन । मंगलवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेललाई सिधै प्रश्न सोधे । पत्रकारको प्रश्न थियो – सदनमा प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको कुरा गर्नुभयो , के सरकारसँग यसको केही प्रमाण छ ? मन्त्रीज्यूले हाँस्दै निकै कूटनीतिक जवाफ दिनुभयो र भन्नुभयो – होइन , प्रधानमन्त्रीज्यूले त्यस्तो भन्नुभएकै छैन । हामीले सीमा विवादसम्बन्धी काम अगाडि बढाउँदा खेरि अर्को पक्षबाट अर्थात् भारतबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा खेरि प्रधानमन्त्रीले म अचम्मित परेँ भनेर भन्नुभएको हो । प्रधानमन्त्रीज्यू पनि यसमा अचम्ममा पर्नुभएको हो भनेर त्यो हिसाबले उहाँले सदनमा भन्नुभएको हो । मन्त्रीज्यूले त पत्रकारहरूलाई प्रधानमन्त्रीको भाषण एकचोटी फेरि रिकाप गरेर सुन्न समेत सल्लाह दिनुभयो । अब हेर्नुहोस् त फन्डा ! यहाँ प्रधानमन्त्री र सरकार भन्दै हुनुहुन्छ कि म त आफैँ अचम्ममा परेँ , मैले नेपालले भारतको भूमि मिचेको छ भनेर दाबी गरेकै होइन । तर हाम्रा फेसबुकका कूटनीतिज्ञहरू भने प्रधानमन्त्रीभन्दा बढी जान्ने भएर यो त भारतलाई टेबलमा ल्याउने मास्टर स्ट्रोक हो भन्दै नयाँ कथा बुनिरहेका थिए ।

    वास्तवमा हाम्रो देशका अन्धभक्तहरूको इतिहास नै निकै चाखलाग्दो र दयनीय छ । यो देशमा सोझा जनताले २०६४ सालतिर प्रचण्डलाई त साक्षात भगवान् नै मानेका थिए र उनले जे गरे पनि देशकै हितमा छ भन्थे । फेरि २०७२ सालपछि केपि ओलिले राष्ट्रियता र चुच्चे नक्साको कुरा गर्दा उनीहरू लभ यु केपी बा भन्दै चौबीसै घण्टा सामाजिक सञ्जालमा बचाउ गर्न भ्याए । अनि अहिले पालो आएको छ बालेन शाहको । अहिले त बालेनजीले जे बोल्दा , हिँड्दा , उनले लगाउने कपडा , गुड्ने गाडी , जुत्ता र चस्मा सबैको महिमा गाएर बसिसाध्य छैन । नेताले झुक्केर वा बिना प्रमाण कुनै कुरा बोलिदिए पनि त्यसको पछाडि कुनै न कुनै अन्तर्राष्ट्रिय तहको चाणक्य नीति नै लुकेको होला भनेर यी अन्धभक्तहरू रातभरि नसुती भिडियो बनाउन थाल्छन् र देशको साख गिर्दा पनि उत्सव मनाउँछन् ।

    यो सब कन्तबिजोग देख्दा मलाई इतिहासपुरुष स्वर्गीय गणेशमान सिंहको त्यो प्रख्यात र कडा भनाइ सम्झिन मन लाग्छ । उहाँले भन्नुभएको थियो – नेपालीहरू भेडा हुन् , यिनीहरूलाई जे गरे पनि हुन्छ । कठै मेरो देश ! आज गणेशमान सिंह जीवितै भइदिएको भए सायद यी टिकटक र फेसबुकका कूटनीतिज्ञहरूलाई देखेर फेरि एकपटक लज्जित हुनुहुने थियो होला । नेताको अन्धभक्तिमा डुबेर देशकै सिमाना र सार्वभौमिकता माथि आँच आउने कुरालाई पनि सही साबित गर्न खोज्ने यी नेपालीहरूको बुद्धि देखेर आज जो कोही सचेत नागरिक चिन्तित छ । नेपाली हौ हामी , जे पनि गर्न सक्छौँ र जसलाई पनि भगवान् बनाएर आफ्नो देशको अस्मितामाथि ताली पड्काउन सक्छौँ भन्ने कुरा आज फेरि एकपटक प्रमाणित भएको छ ।

    जब मन्त्रीले सरकारसँग नेपालले भारतको सीमा मिचेको कुनै प्रमाण नै नभएको स्पष्ट पारे र प्रधानमन्त्री आफैँ अचम्ममा परेको कुरा बाहिर ल्याए , तब हिजो कान्तिपुरको खोस्टो बोकेर मास्टर प्लानको नारा लगाउनेहरू आज होइन , कुरो त उही नै हो भन्दै अलिअलि कुरा घुमाउन थालेका छन् । नेताको बचाउ गर्नु राम्रो हो , तर कहिलेकाहीँ कुराको गहिराइ नै नबुझी जबरजस्ती हरेक कुरामा मास्टर प्लानको चस्मा लगाउँदा आफैँलाई हाँसोको पात्र बनाइन्छ ।

    प्रतिक्रिया दिनुहोस्