बर्दियाको ठाकुरबाबा–९ बेथहनीका २७ वर्षीय आशाराम थारू साउन १४ गतेको साँझ ग्यारेजमा गाडीका पार्टपुर्जासँग पौँठेजोरी खेलिरहेका थिए। ग्यारेजमा मिस्त्रीको काम गर्ने उनलाई भेट्न डोटीको शिखर नगरपालिका–४ बिनाडी स्थायी घर भई ठाकुरबाबा–७ कालीगौडी बस्ने २० वर्षीय गोविन्द जैसी र अर्का एक १९ वर्षीय साथी आए।
साथीभाइ भेट भएपछि तीनै जना मिलेर ग्यारेजमै मदिराको घुट्को लिन थाले। घण्टौँसम्म हाँसीमजाक र गफगाफ चल्यो। मध्यरातिसम्म आइपुग्दा मदिराको मादकताले तीनै जना लट्ठ भइसकेका थिए।
त्यसपछि गोविन्दकै लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकलको ह्यान्डल आशारामले नै सम्हाले। एकै मोटरसाइकलमा ३ जना चढेर दुवै साथीलाई घर लगे। मायाले खाना खुवाए र फेरि आपसी सल्लाह अनुसार अर्का १९ वर्षीय साथीलाई मडेला भन्ने ठाउँमा सकुशल पुर्याउन निस्किए।
ती युवकलाई मडेलामा छाडेर आशाराम र गोविन्द फर्किँदा रातको २ बजिसकेको थियो। सडक सुनसान थियो। बर्दियाको ठाकुरबाबा–९ को बजार क्षेत्रबाट हात्तीसारतर्फ जाँदै गर्दा मदिराको नशामा रहेका मोटरसाइकल धनी गोविन्दले मोटरसाइकल आफैँ हाँक्ने जिद्दी गरे।
साथीको जिद्दीअघि आशारामको केही लागेन। उनले साँचो सुम्पिदिए र पछाडि बसे। तर, नशाले लर्बरिएका गोविन्दले मोटरसाइकल सम्हाल्न सकेनन्। केही मिटर अगाडि पुग्नासाथ मोटरसाइकल अनियन्त्रित भई सिँचाइको नालामा खस्यो।
दुर्घटनामा गोविन्दलाई अनुहारमा सामान्य चोट मात्र लाग्यो। तर, आशाराम भने गम्भीर घाइते भए। नालाको हिलो र पानीमा पछारिएका आशाराम पीडाले अत्तालिँदै, छटपटाउँदै बाटोतिर हेरेर साथीसँग गुहार मागिरहेका थिए। अस्पताल पुगेर आफ्नो जीवन जोगाइदिन उनी सहयोगको याचना गरिरहेका थिए।
तर, त्यो कालो रातमा छेउमै उभिएका गोविन्द जैसीभित्रको साथी होइन, एउटा भयानक दानव व्युँझिइसकेको थियो। घाइते आशारामको छटपटी र पुकार देखेपछि गोविन्दको मनमा दया वा करुणा जागेन। उनको दिमागमा उपचारमा लाग्ने मोटो रकमको हिसाब मात्र घुम्न थाल्यो। उनले मनमनै सोचे— ‘अब यसको उपचार गर्न त मेरो धेरै पैसा खर्च हुने भयो!’
आखिर के केही हजार रुपैयाँको अस्पतालको बिल एउटा साथीको जीवनभन्दा ठूलो हुन सक्छ र? तर गोविन्दका लागि त्यस्तै भइदियो। उनले घाइते साथीलाई अस्पताल पुर्याउनुको साटो सधैँका लागि सिध्याउने निर्णय लिए।
गोविन्दले दुर्घटनास्थल नजिकैबाट काठको एउटा टुक्रा उठाएर ल्याए। सहयोगका लागि हात फैलाइरहेका आशारामको छातीमाथि उनले त्यही काठले पटक-पटक निर्मम प्रहार गरे।
आशारामको चीत्कार बिस्तारै दबिन थाल्यो। त्यतिले पनि चित्त नबुझेपछि गोविन्दले मोटरसाइकलको तिखो साँचो निकालेर आशारामको अनुहारमा लगातार प्रहार गरे। त्यसपछि आशारामले लगाएको मालाले घाँटी कसी हत्या गरे।
आफ्नै हातले साथीको प्राण पखेरु उडाइसकेपछि गोविन्दले घटनालाई दुर्घटनाको रूप दिन र आफू जोगिनका लागि आशारामको शव बोकेर १०० मिटर पर (ठाकुरबाबाबाट कुशल पटुवातर्फ पानी जाने) सिँचाइ नालामा फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसपछि उनी निर्धक्क अर्का साथीको घरमा गएर सुते, मानौँ केही भएकै थिएन।
साउन १५ गते बिहान नालामा दुर्घटनाग्रस्त बेवारिसे मोटरसाइकल भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरे। प्रहरीले मोटरसाइकल गोविन्दको भएको पत्ता लगाएर सोध्दा उनले “म त दुर्घटनापछि बेहोस भएछु, आशाराम कहाँ गए थाहा छैन” भन्दै प्रहरीलाई ढाँटे।
यता प्रहरी आशारामको खोजबिनमा लाग्यो। स्थानीय र प्रहरीले खोजिरहेकै क्रममा साउन १७ गते दिउँसो घटनास्थलभन्दा झन्डै १०० मिटर दक्षिण नालामा आशारामको शव घोप्टो परेको अवस्थामा फेला पर्यो। त्यसपछि गोविन्द पक्राउ परे।
सुरुमा प्रहरीले उनीहरूबीच झैझगडा हुँदा गोविन्द पनि घाइते भएको हुन सक्ने अनुमान गरेको थियो। तर शव भेटिएपछि शवको प्रकृति र घटनास्थलको अवस्था मेल खाएन। बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेल र डिएसपी रमेश बोहराको टोलीले अनुसन्धानको सुई गोविन्दतिरै घुमायो। घुमाउरो केरकार र प्रहरीको कडा सोधपुछअघि गोविन्दको नाटक धेरै बेर टिकेन।
उनले उपचार खर्चको डरले साथीको हत्या गरेको बयान दिँदा स्वयं अनुसन्धानकर्ता प्रहरीसमेत स्तब्ध बने।
अहिले प्रहरीले गोविन्द जैसीमाथि कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको छ भने अर्का १९ वर्षीय युवकमाथि पनि थप अनुसन्धान भइरहेको छ। हत्या गरिएका आशाराम, गोविन्द र अर्का युवक मदिरा सेवन गर्ने क्रममा बनेका साथी भएको खुलेको छ।


ओम डिसी 
















प्रतिक्रिया दिनुहोस्