काठमाडौँका विभिन्न क्षेत्रमा सस्तोमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर व्यवसायी तथा सर्वसाधारणलाई दिनदहाडै लुट्ने एउटा कुख्यात गिरोहको साम्राज्यलाई काठमाडौँ प्रहरीले ध्वस्त पारिदिएको छ। काठमाडौँ उपत्यकामा लामो समयदेखि सक्रिय रहेको यो सङ्गठित गिरोहका चार जनालाई प्रहरी वृत्त बौद्धबाट खटिएको विशेष टोलीले बुढानीलकण्ठ नगरपालिका–११ कपनस्थित प्रगति टोलबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३० वर्षीय धनबहादुर तामाङ, सोही ठाउँका ४१ वर्षीय लोकबहादुर तामाङ, ३८ वर्षीय राजकुमार लामा र ३७ वर्षीय विजय तामाङ रहेका छन्। प्रहरीले उनीहरूको साथबाट लुटिएको नगद तीन लाख ८४ हजार रुपैयाँ, ५० दरको एक थान अमेरिकी डलर, सुनको बेरुवा औँठी एक थान, ब्रासलेट एक थान, रिङ एक थान र तिलहरी एक थान पनि बरामद गरेको छ।
यसरी गर्थ्यो यो समूहले लुटपाट
काठमाडौँमा रिकन्डिसन व्यवसाय गर्दै आएका एक व्यवसायीलाई अपरिचित युवकले फोन गरे। चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधनको रिकन्डिसन व्यवसाय गर्ने व्यवसायीलाई ती युवकले भने, ‘म तपाईंकैमा गाडी चलाएको पुरानो चालक (ड्राइभर) हुँ, अहिले ट्रेकिङ व्यवसायमा छु।’
ट्रेकिङमा जाँदा विदेशी नागरिकलाई सगरमाथा र अन्नपूर्णको बेसक्याम्पमा घुमाउँदा एउटा मौका आइपरेको उनले सुनाए। ‘विदेशबाट घुम्न आएका पर्यटक फर्कँदा ४० हजार डलर बिर्सेर गएछन्, त्यो मसँग छ,’ फोन गर्नेले अझै थपे, ‘मलाई त्यो डलर कहाँ साट्ने थाहै छैन, तपाईंलाई देखाउँछु सक्कली (ओरिजिनल) हो कि होइन जाँच गर्नुस् न।’
उनले ५० अमेरिकी डलर ल्याएर छाडिदिए। व्यवसायीले बैंक र मनि चेन्जरमा लगेर देखाए। डलर सक्कली पुष्टि भयो। त्यसपछि व्यवसायीले नै ती युवकलाई सम्पर्क गरेर डलर ल्याए आफूले साटिदिने बताए। ४० हजार साट्दा ५० लाख रकम आउँथ्यो। तर, युवकलाई ११ लाख मात्र दिनुपर्ने गरी दुई जनाबिच समझदारी भएपछि व्यवसायी राजी भए।
अनि, युवकले उनलाई नेपाली रकम लिएर साँखुस्थित पालुबारीमा बोलाए। उनी बोलाएको जङ्गलछेउमा पुग्दा अरू तीन-चार जना थिए। ‘डलर यही हो’ भन्दै पैसाजस्तै बन्डल दिएर व्यवसायीले साथमा लगेको ११ लाख लिएर उनीहरू भागे। पछि खोलेर हेर्दा बिचमा कागज र तल-माथि दुई वटा डलर मात्रै देखेपछि ती व्यापारी छाँगाबाट खसेजस्तै भए। अनि, उनले प्रहरीमा उजुरी (रिपोर्ट) गरे। प्रहरीले अनुसन्धान सुरु गर्यो र यी चार जनालाई पक्राउ गर्यो।
प्रहरीको अनुसन्धानबाट यो समूहले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका, शङ्खरापुर, बुढानीलकण्ठ र तार्केश्वरका नौ ठाउँमा यसै गरी सस्तोमा डलर साटिदिने प्रलोभन देखाएर लुटपाट गरेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार ‘जेन जी’ आन्दोलनपछि मात्रै उनीहरूले उपत्यकाका नौ ठाउँमा लुटपाट मच्चाएको देखिएको छ। लुटमा संलग्न सबै जना सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर–३ का स्थानीय बासिन्दा हुन्।
समूह बनाएर लुटधन्दा चलाउनेमध्ये धनबहादुर तामाङलाई प्रहरीले यसअघि छ पटक मुद्दा चलाइसकेको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) मा देखिएको छ। तामाङलाई २०७९ असोजमा प्रहरी वृत्त महाराजगञ्जले दुई वटा डलर ठगीको कसुरमा अनुसन्धान गरेको थियो भने २०७९ असोजमै उनीविरुद्ध बौद्ध प्रहरीले पनि डलर ठगीका दुई वटा मुद्दा चलाएको भेटिएको छ। त्यस्तै २०८२ मंसिरमा काठमाडौँ परिसर र नुवाकोट प्रहरीले उनीविरुद्ध डलर ठगीकै मुद्दा चलाएको अभिलेख (रेकर्ड) छ।
अर्का आरोपी लोकबहादुर तामाङ पनि पुराना र स्थापित अपराधी हुन्, जसको चार वटा मुद्दामा संलग्न भएको आपराधिक पृष्ठभूमि देखिएको छ। ४१ वर्षीय लोकबहादुरविरुद्ध २०६५ मंसिरमा प्रहरी वृत्त थिमीले खोटा चलन कसुरमा पक्राउ गरेर अनुसन्धान गरेको थियो। उनीविरुद्ध कालिमाटीबाट २०७६ असारमा अभद्र व्यवहार, २०७८ साउनमा गौशालाबाट डलर ठगी र २०७९ पुसमा परिसर काठमाडौँबाट बैंकिङ कसुर मुद्दामा अनुसन्धान भएको भेटिएको छ। उनी बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी समेत हुन्।
यो समूह पक्राउ परेको भए पनि साँखु क्षेत्रमा डलरको आवरणमा ठगीका घटना रोकिएका छैनन्। साउन १८ र १९ गते शङ्खरापुर नगरपालिका वडा नम्बर–५ स्थित पालुबारीमा पुनः दुई वटा लुटपाटका घटना भएका छन्। लुटेराहरूले साउन १८ मा ११ लाख र भोलिपल्ट १९ गते १५ लाख रुपैयाँ लुटेको काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिए। उक्त घटनाबारे प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौँले तीव्र अनुसन्धान गरिरहेको र लुटमा संलग्नहरूको पहिचान भइसकेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
महँगो पर्ने डलर सस्तोमा पाउने लोभमा पर्दा यस्ता लुटेराहरूले फाइदा उठाउने भन्दै एसएसपी घिमिरेले सर्वसाधारणलाई सजग रहन आग्रह गरेका छन्।


ओम डिसी 
















प्रतिक्रिया दिनुहोस्