• images

    प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधनबीच ‘खटपट’

    images

    काठमाडौं। कुनै समय ‘देश बनाउने टोली’ भन्दै अंगालो मारेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेर उत्साह छाएको प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीचको सम्बन्धमा यतिबेला गम्भीर चिसोपन आएको छ।

    मन्त्रालय सञ्चालनमा प्रधानमन्त्रीको सचिवालयको बढ्दो हस्तक्षेप, ‘समानान्तर शक्ति केन्द्र’को निर्माण र पछिल्ला घटनाक्रममा भएका असमझदारीका कारण गृहमन्त्री गुरुङ प्रधानमन्त्रीसँग टाढिएका हुन्।

    सरकार गठनका सुरुवाती दिनहरूमा सौहार्दपूर्ण देखिएको यो सम्बन्धमा मुख्य गरी सुनसरीको देवानगञ्ज-कप्तानगञ्ज घटनापछि औपचारिक रूपमै दरार उत्पन्न भएको स्रोतको दाबी छ।

    कप्तानगञ्जमा स्थानीय तहमा उत्पन्न तनावपछि सुरक्षा व्यवस्था कायम गर्न गृह मन्त्रालयको प्रत्यक्ष नेतृत्व आवश्यक मानिएको थियो। तर, घटनाको सुरुवाती चरणमा गृहमन्त्री स्वयंलाई पठाउनुको साटो मन्त्रीका स्वकीय सचिव जेम्स कार्कीलाई नियन्त्रण र अनुगमनका लागि पठाइएको थियो। कार्की प्राविधिक टोलीसहित ‘ड्रोन’ बोकेर घटनास्थल पुगेपछि गृहमन्त्री सुधन गुरुङ तीव्र रुष्ट बनेका थिए।

    स्रोतका अनुसार, जेम्स कार्कीलाई गृहमन्त्रीको स्वकीय सचिवका रूपमा पठाउनुमा प्रधानमन्त्री बालेनकै मुख्य टिमको भूमिका थियो। मन्त्रालयमा मन्त्रीभन्दा पनि स्वकीय सचिव कार्की हावी हुने, सरुवा-बढावा र मुख्य प्रशासनिक निर्णयहरूमा प्रधानमन्त्री कार्यालयको ‘इन्ट्रेस्ट’ अनुसार काम हुन थालेपछि मन्त्रालयभित्र ‘भूमिगत गिरोह’ सक्रिय रहेको चर्चा चल्न थालेको थियो। आफूले चाहेअनुसार काम गर्न नपाएको र मन्त्रालयभित्रै समानान्तर संयन्त्र खडा गरिएको भन्दै गृहमन्त्री गुरुङ असन्तुष्ट बनेका थिए।

    कप्तानगञ्जमा स्वकीय सचिवमार्फत स्थिति नियन्त्रणमा आउनुको साटो थप जटिल बनेपछि अन्ततः प्रधानमन्त्री बालेन बाध्य भएर गृहमन्त्री गुरुङलाई नै घटनास्थल पठाउन पुगेका थिए।

    घटनास्थल पुगेर गृहमन्त्रीले स्थानीय र पीडित पक्षसँग प्रत्यक्ष संवाद गरेपछि मात्रै स्थिति साम्य भएको थियो। यस घटनाले मन्त्री गुरुङको प्रशासनिक औचित्य त पुष्टि गर्‍यो, तर प्रधानमन्त्रीको ‘सूक्ष्म व्यवस्थापन’ प्रति उनको असन्तोष झनै चुलियो।

    प्रधानमन्त्री कार्यालयबाट लगातार पेलिएको महसुस गरेपछि गृहमन्त्री सुधन गुरुङ यतिबेला प्रधानमन्त्री बालेनसँग भन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नजिकिएका छन्।

    बालेनको ‘केन्द्रीकृत’ कार्यशैलीबाट असन्तुष्ट बनेका मन्त्री गुरुङलाई सभापति लामिछानेले आफ्नो क्याम्पमा भित्र्याउन रणनीतिक कदम चालेका छन्।

    पार्टीभित्र शक्ति सन्तुलन कायम राख्न र सरकारमा पार्टीको अडान बलियो बनाउन लामिछानेले गुरुङलाई रास्वपाको उपसभापति बनाउनसमेत सकारात्मक रहेको बताइएको छ। मन्त्री गुरुङ बालेनको साथ छाडेर रवितिर ढल्केपछि प्रधानमन्त्री शाह झन् डिफेन्सिभ बनेका छन्।

    केही समयअघि बालेनले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँग खिचाएको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’को उपमा दिएका थिए। तर, सोही टोलीका मुख्य सदस्य गृहमन्त्री नै पछाडि हटेपछि र संसद्देखि मन्त्रिपरिषद्‌सम्म विरोधी स्वरहरू गुञ्जिन थालेपछि प्रधानमन्त्री बालेनले सांकेतिक रूपमा आफू ‘एक्लिएको’ महसुस गरेको अभिव्यक्ति दिन थालेका छन्।

    मेयर रहँदा एक्लै निर्णय गरेर तुरुन्त कार्यान्वयनमा लैजाने शैलीमा बानी परेका बालेनलाई प्रधानमन्त्री बनेपछि दलीय सन्तुलन, मन्त्रीहरूको स्वायत्तता र संसदीय प्रक्रिया मिलाउन धौ-धौ परिरहेको छ। मन्त्रालयहरूमा विश्वासपात्रहरूमार्फत नियन्त्रण कायम राख्ने बालेनको प्रयास नै अहिले उनी र उनका मुख्य सहयोगीहरूबीचको दूरी बढाउने मुख्य कारक बनेको  स्राेतकाे दाबी छ।

    प्रतिक्रिया दिनुहोस्