images
  • अस्पतालमा छैन एन्टिस्नेक भेनम , सर्पले डसेका बिरामीहरु समस्यामा

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण २७, बुधबार १०:०४ गते
    images
    images
    images

    वीरगन्जः सर्पले डसेपछि जीवन बचाउन प्रयोग हुने एन्टिस्नेक भेनम औषधि अभाव भएपछि वीरगन्जस्थित नारायणी अस्पतालले सोमवार सर्पदंशका बिरामीलाई उपचारका लागि अन्यत्र जानू भन्दै सूचना नै जारी गर्‍यो । मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट प्राप्त एन्टिस्नेक भेनमको मौज्दात सकिएपछि अस्पतालमा एन्टिस्नेक भेनमको हाहाकार भएको अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले बताए ।

    ‘अहिले सर्पदंश बढी हुने हुने समय हो । बिरामी आइरहेका छन्, तर औषधि दिन नसक्ने अवस्था भएपछि बाध्य भएर सूचना निकाल्नु पर्‍यो,’ प्रवक्ता सिंहले भने । नारायणी अस्पतालमा बारा, पर्सा, रौतहट र सर्लाहीसहितका जिल्लाबाट सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेका छन् ।

    नारायणी अस्पतालमा औषधि अभाव भएपछि बिरामी सिमाना नजिकै भारतका अस्पतालमा गइरहेका छन् । निजी अस्पतालले सामान्यतया एन्टिस्नेक भेनम राखेर सर्पदंशको उपचार गर्दैनन् । नेपालमा ९० प्रजातिका सर्प रहेको अभिलेख भएको पाइन्छ । जसमध्ये १७ प्रजातिका सर्प विषालु मानिन्छन् । नेपालमा करेत, कोब्रा र बाघे सर्प (रसेल्स भाइपर) बढी विषालु मानिन्छन् । यी ‘बिग थ्री’ भनेर चिनिने सर्पको डसाइले गम्भीर असर पार्छ र मृत्युको सम्भावना उच्च बनाउँछ ।

    सर्पदंशबाट प्रभावित हुनेमा तराईका जिल्ला धेरै छन् । सरकारी निकायका अनुसार २६ जिल्ला अति प्रभावितभित्र पर्छन् । तीमध्ये  २० वटा जिल्ला तराईका छन् भने चार वटा जिल्ला भित्री मधेश र पहाडमा पर्छन् । सर्पदंश विशेषज्ञका अनुसार सर्पले डस्नेबित्तिकै मानिस आत्तिने र डराउने गर्छन् । तर सबै सर्प विषालु हुँदैनन् । ८० प्रतिशत सर्प विष नलाग्ने खालका हुन्छन् । २० प्रतिशत तल मात्र विषालु हुन्छन् र १० प्रतिशतको टोकाइमा मात्र उपचार गर्नु पर्ने हुन्छ । एन्टिस्नेक भेनम सामान्य औषधि जस्तो बजारका औषधि पसलमा सहजै किन्न पाइँदैन ।

    राजगोमन वा करेत जस्ता अत्यन्त विषालु सर्पले टोकेको अवस्थामा एकै बिरामीलाई २० भाइलभन्दा बढी एन्टिस्नेक भेनम आवश्यक पर्न सक्छ । यति धेरै मात्रा प्रयोग गर्नु पर्दा उपचार खर्च निकै महँगो हुने भएकाले सर्वसाधारणका लागि आफ्नै खर्चमा खरिद गरेर उपचार गराउन कठिन हुन्छ । त्यसैले सरकारले एन्टिस्नेक भेनम आफैं खरिद गरी स्वास्थ्य संस्थामार्फत बिरामीलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

    गोमन वा करेतले टोकेका बिरामीको अवस्था गम्भीर भएमा २० भाइलभन्दा बढी एन्टिस्नेक भेनम आवश्यक पर्छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक केशव पण्डितले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति समस्या र सीमित सप्लार्यसका कारण खरिद प्रक्रिया लम्बिएको बताए । उनले एक साताभित्र एन्टिभेनम नेपाल आइपुग्ने दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्