लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौँडा कपडा उद्योग लिमिटेडले अन्ततः प्रारम्भिक परीक्षण उत्पादन थालेको छ। नेपाल सरकारले मर्मतसम्भार र सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिएपछि सरसफाइ तथा प्राविधिक मर्मत गरेर उद्योगका लुमहरूबाट परीक्षण उत्पादन सुरु गरिएको हो। सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत काम अघि बढाइएको छ। यसअघि मन्त्रीस्तरीय अवलोकनपछि अघि बढेको यो प्रक्रियामा परीक्षण सफल भएको र अब स्तरोन्नति गरेर उद्योगलाई पूर्ण रूपमा सञ्चालन गरिने जानकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको छ।
चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा वि.सं. २०३२ सालमा स्थापना भएको यस उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। कुनै समय राम्रो नाफा कमाएर कर्मचारीलाई बोनस समेत बाँड्ने अवस्थामा पुगेको यो उद्योग आन्तरिक समस्या र बजार प्रतिस्पर्धामा टिक्न नसक्दा वि.सं. २०५७ फागुन १ गतेदेखि पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि तत्कालीन सरकारले कामदार तथा कर्मचारीको दायित्व भुक्तानी गर्दै उद्योग बन्द गर्ने निर्णय गरेको थियो।
वि.सं. २०५७ मा बन्द भएपछि उद्योग पुनः सञ्चालन गर्ने प्रयास भने नयाँ होइन। यसअघि पनि विभिन्न सरकारले पटक-पटक उद्योग चलाउने घोषणा र अध्ययन गरेका थिए। वि.सं. २०७३ मा उद्योग पुनः सञ्चालनबारे विस्तृत अध्ययन गर्न समिति गठन गरिएको थियो भने २०७५ मा करिब ३० करोड रुपैयाँ खर्च गरेर विभिन्न मोडालिटीबाट उद्योग चलाउन सकिने प्रतिवेदन तयार पारिएको थियो। सोही वर्ष नेपाली सेनालाई समेत संलग्न गराएर पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गरिएको थियो। त्यस्तै पछिल्लो पटक बजेटमार्फत पनि हेटौँडा कपडा उद्योगलाई सार्वजनिक-निजी साझेदारी मोडलमा सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो।
अहिले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार सेनाको प्राविधिक टोलीले उद्योगका पुराना म्यानुअल अर्थात् हस्तचालित मेसिनहरूलाई सेमि-अटोमेटिक र अटोमेटिकमा रूपान्तरण गर्ने काम गरिरहेको छ। कुन प्रविधि र कुन मोडलमा जाने भन्ने अन्तिम निर्णय हुन बाँकी रहेकाले आगामी दुई महिनासम्म परीक्षण उत्पादन जारी रहनेछ। त्यसपछि आउने विस्तृत प्रतिवेदनका आधारमा उद्योग पूर्ण क्षमतामा सञ्चालनमा जानेछ। वर्षौँदेखि बन्द, खिया लागेका र जीर्ण अवस्थामा रहेका मेसिनहरूबाट धुलो र माकुराको जालो पन्छाउँदै अहिले फेरि कपडा उत्पादन गर्ने अवस्थामा पुर्याइएको छ। परीक्षण उत्पादन सुरु हुनु सकारात्मक कदम भए पनि पुराना मेसिन, उच्च उत्पादन लागत र निजी क्षेत्रसँगको तीव्र प्रतिस्पर्धाका बीच उद्योगलाई दीर्घकालीन रूपमा टिकाउनु सरकारका लागि अझै ठूलो चुनौतीको विषय बनेको छ।


ओम डिसी 














प्रतिक्रिया दिनुहोस्