• निर्वाचन प्रहरीलाई सेवा सुविधा दिएर बिदाइ गर्ने तयारी

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन २६, मंगलवार १६:३५ गते
    images

    प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाको लागी भर्ना गरिएका निर्वाचन प्रहरीहरूले आफ्नो कार्यअवधि पूरा गरेका छन् । ४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन गर्नेगरी नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो ।
    फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मतगणना पनि सार्वजनिक भैसकेको अवस्थामा निर्वाचन प्रहरीलाई बिदाइ गर्ने तयारी गरिएको छ । उनीहरूलाई ‘धन्यवाद पत्र’ सहित बिदाइ गरिने नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अवि नारायण काफ्लेले रातोपाटीलाई बताए । प्रहरीले फागुन २८ मा देशभर निर्वाचन प्रहरीलाई बिदाइ गर्दै छ । काफ्लेले भने, ‘फागुन २८ गते बिहीबार देशभर उनीहरूलाई बिदाइ गरिँदै छ ।’

    सशस्त्र प्रहरी बलले पनि फागुन २८ मा निर्वाचन प्रहरीलाई बिदाइ गर्ने भएको छ । सशस्त्रले निर्वाचन सुरक्षामा १५ हजार ११० जना निर्वाचन प्रहरीलाई परिचालन गरेको थियो । सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) विष्णु प्रसाद भट्टले निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई आउने बिहीबार बिदाइ गरिने जानकारी दिए ।
    निर्वाचन प्रहरीलाई ४० दिन निर्वाचन सुरक्षामा खटिएबापत सरकारले ३४ हजार ७७६ रुपैयाँ तलब प्रदान गरेको छ । त्यसबाहेक उनीहरूले रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च पाएका छन् । निर्वाचन प्रहरीले ४ दिनको लागी दैनिक ३ सयको दरले खाजा खर्च पाउनेछन् । पोसाक बापत छुट्टै रकम उपलब्ध गराइएको प्रहरी प्रवक्ता (डीआईजी) काफ्ले बताए । उनले भने, ‘निर्वाचन प्रहरीलाई किस्ता–किस्तामा रकम दिइएको छ ।’ धेरैले सेवा सुविधा पाइसकेको र केही सेवा सुविधा लिने प्रक्रियामा छन् ।

    प्रतिक्रिया दिनुहोस्