काठमाडौं : आफ्नै दाइको हत्यापछि शोकमा डुबेको परिवारसँगै अन्त्येष्टिमा सहभागी भएका भाइ नै हत्याको अभियुक्त साबित भएका छन्। पाकिस्तानको पञ्जाब प्रान्तमा भएको यस घटनामा पैतृक सम्पत्तिमा भेदभाव गरिएको भन्दै भाइले नै दाइको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
अक्टोबर १७ को दिउँसो करिब १:३० बजे पाकिस्तानको पञ्जाब प्रान्तस्थित गुजरातको एउटा गाउँमा बस्ने मोहम्मद सुफियानलाई साउदी अरेबियामा रहेको भनिएका उनका भाइ मोहम्मद बिलालको ह्वाट्सएप कल आयो। फोनमा बिलालले भने,‘तपाईं तुरुन्तै गुजरात सहर आउनुपर्छ। त्यहाँ तपाईंका लागि एउटा आश्चर्य छ। म तपाईंलाई एक विशेष व्यक्तिसँग परिचय गराउन चाहन्छु।’
भाइको फोनपछि सुफियान मोटरसाइकल चढेर घरबाट निस्किए। निर्धारित स्थानमा पुगेपछि उनले आफूलाई भेट्न बोलाउने व्यक्ति अरू कोही नभएर आफ्नै भाइ बिलाल भएको थाहा पाए। दुवै भाइले सँगै खाना खाए र कुराकानी गरे। साँझ परेपछि उनीहरू मोटरसाइकलमा घर फर्किन निस्किए।
प्रहरीका अनुसार घटनालाई लुटपाटको रूप दिन बिलालले सुफियानको मोबाइल फोन र मोटरसाइकलसमेत लगे। त्यसपछि उनले कोटलास्थित पञ्जाब मोटर्सबाहिर मोटरसाइकल पार्क गरे र लाहोरतर्फ भागे।
प्रहरीका अनुसार बिलाल साउदी अरेबियाबाट पाकिस्तान फर्किएको कुरा परिवारका सदस्यहरूलाई थाहा थिएन। राति सुफियानको हत्याको खबर परिवारसम्म पुग्दा बिलालले घटनाबारे केही थाहा नभएको जस्तो व्यवहार गरेका थिए।
प्रहरी अधिकारी शहजादका अनुसार बिलालले परिवारलाई सुफियानको अन्त्येष्टि गर्नुअघि आफू साउदी अरेबियाबाट घर फर्किने प्रतीक्षा गर्न समेत भनेका थिए। तर,उनी साउदी अरेबियामा नभई पाकिस्तानमै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
शहजादका अनुसार बिलालले दाइको अन्त्येष्टि रोक्न खोजेका थिए। त्यसपछि अक्टोबर १८ को बिहान गाउँ आइपुगेका उनले सुफियानको हत्याको खबर पाएपछि मात्रै साउदी अरेबियाबाट पाकिस्तान फर्किएको नाटक गरे। बिलाल आफ्नै दाइको अन्त्येष्टिमा सहभागी भए,ताकि परिवार र गाउँले कसैले पनि उनीमाथि शंका नगरून्।
प्रहरीका अनुसार सोधपुछका क्रममा बिलालले आफ्नै दाइको हत्या गरेको स्वीकार गरेका छन्। उनले पैतृक सम्पत्तिको बाँडफाँटमा आफूलाई भेदभाव गरिएको भन्दै हत्या गरेको बताएको बीबीसीमा समाचार छ।
अभियुक्त बिलाललाई न्यायिक मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो। प्रहरीले अदालतलाई अभियुक्तको साथबाट बरामद गरिएको मोटरसाइकल र मोबाइल फोनसहित घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान जारी रहेको जानकारी गराएको छ। अदालतले बिलाललाई तीन दिनका लागि प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ।


chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्