images
  • कृषि अधिकृत बनेर ११ लाखभन्दा बढी ठगी गर्ने दुई जना पक्राउ

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन २७, मंगलवार २०:१५ गते
    images
    images
    images

    कृषि कार्यक्रमका नाममा रकम ठगी गरी फरार रहेका दुई जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा बाँकेको डुडुवा गाउँपालिका–५ बलापुर बस्ने २४ वर्षका अरविन्द कुमार यादव भन्ने नवीन यादव र सल्यानको कालागाउ घर भई हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिका–११ बस्ने ३९ वर्षका कासीराम बुढाथोकी रहेका छन्।

    दाङको गढवा गाउँपालिका–२ पचहिया बस्ने ६० वर्षका सहजराम अहिरसमेत ५ जना व्यक्तिलाई मकै जोन कृषि कार्यक्रममार्फत ट्र्याक्टर, भैँसी पालन तथा गोठ सुधारको कार्यक्रम ल्याएको भन्दै उनीहरूले प्रलोभन देखाएका थिए।

    यादवले आफूलाई कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश तुलसीपुर शाखा कार्यालयको प्रशासकीय अधिकृत भनी परिचय दिएका थिए।

    उनीहरूले मालिका साइबर फोन पेय र मालिका कम्युनिकेसनका ई-सेवा सञ्चालकसमेत रहेका कासीराम बुढाथोकीको संलग्नतामा ११ लाख ५४ हजार ७३२ रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो।जाहेरीका आधारमा फरार रहेका उनीहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

    पक्राउ परेका दुवै जनालाई दाङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डा. हेम बहादुर केसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस्