काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबाट कौडा खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार ३ सय रुपैयाँ नगद र कौडासहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले असोज २६ गते राति करिब १२:३० बजेको समयमा गोकर्णेश्वर नगरपालिका-१ ओख्रेनीस्थित एक घरको दोस्रो तलामा हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा प्रहरी टोलीले उक्त घरमा छापा मार्दा जुवा खेलिरहेका गोकर्णेश्वर-१ बस्ने ३९ वर्षीय वीर बहादुर तामाङ, ४९ वर्षीय बुद्धि बहादुर तामाङ, २९ वर्षीय राजन तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ घर भई हाल काठमाडौँको गोकर्ण बस्ने २८ वर्षीय समर तामाङ, रामेछाप गोकुलगंगा गाउँपालिका-६ घर भई काठमाडौँ थली बस्ने ३४ वर्षीय बिक्की लामा, सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका घर भई हाल काठमाडौँको माकलवारी बस्ने ३९ वर्षीय रवि थीड्स र सिन्धुपाल्चोक चौतारा घर भई सोही स्थानमा बस्ने वर्ष ४० को प्रबिन तामाङ रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ५ लाख ५२ हजार ३ सय रुपैयाँ नगद र ६३ वटा कौडा बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई जुवा खेलसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ दिनको म्याद थप अनुमति लिई हाल विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिएका छन्।
साथै, पक्राउ परेका केही व्यक्तिको सीआरएस विवरण चेकजाँच गर्दा यसअघि पनि जुवा कसुरमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।


chautaripatrika 


















प्रतिक्रिया दिनुहोस्