भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरबाट ८४ लाख ७६ हजार ७ सय रुपैयाँ बराबरको सुनका गरगहना, ल्यापटप र नगद चोरी गरी फरार रहेका तथा उक्त सामान खरिद बिक्रीमा संलग्न ५ जनालाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार यही मिति असोज १८ गते बिहान घरमा कोही नभएको मौका पारी चोरी भएको थियो।
अनुसन्धानको क्रममा २४ गते चोरीमा संलग्न कास्की पोखरा घर भई हाल न्यूरोड बस्ने २८ वर्षीय सिजल तामाङ (राजन स्याङ्बो), दोलखा भिमेश्वर घर भई हाल झोसे बस्ने २७ वर्षीया रिया कार्की, सुनसरी इटहरी घर भई हाल नागार्जुन बस्ने ३३ वर्षीय प्रकाश कडुवाल, काठमाडौँ ताहाचलका ३७ वर्षीय रोमन श्रेष्ठ र नुवाकोट विदुर घर भई हाल माछापोखरी बस्ने ४५ वर्षीय जित बहादुर विश्वकर्मालाई पक्राउ गरिएको हो।
प्रहरीले निजहरूबाट ६ तोला ८९ लाल सुनका विभिन्न गहना तथा टुक्रा (तिलहरी, सिक्री, बाला, औँठी, झुम्का, लकेट), चाँदीका औँठी २ थान, डेल कम्पनीको ल्यापटप १ थान, मोबाइल ३ थान, फलामको औजार १ थान र नगद २,७०,००० समेत बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको छ।


chautaripatrika 


















प्रतिक्रिया दिनुहोस्