काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा तस्करीको सुन भण्डारण गर्ने र गाल्ने प्रयोजनका लागि चिनियाँ नागरिकले घर भाडामा लिएर अड्डा नै सञ्चालन गरेको खुलेको छ। साढे दुई तलाको घरमा सुन राख्ने, गाल्ने र विभिन्न आकारमा ढाल्ने काम भइरहेको अवस्थामा प्रहरीले २१ किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानका क्रममा उक्त तथ्य सार्वजनिक भएको हो। प्रहरीले एक सातासम्म निगरानी तथा रेकी गरेपछि बिहीबार उक्त घरमा छापा मारेको थियो।
प्रहरी टोली घटनास्थलमा पुग्दा घरभित्र सुन गाल्ने काम भइरहेको थियो। सो क्रममा तस्करीमा संलग्न समूह र प्रहरीबीच केहीबेर भनाभन तथा धम्कामुक्कीसमेत भएको प्रहरी स्रोतले जनाएको छ।
स्रोतका अनुसार प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट सुन गाल्ने, गुणस्तर जाँच गर्ने तथा विभिन्न आकारमा ढाल्ने उपकरणसमेत बरामद गरेको छ। उक्त घरमा निगरानीका लागि सीसीटीभी क्यामेरासमेत जडान गरिएको पाइएको छ।
प्रहरीले बरामद गरिएको सुनको स्रोत, तस्करीमा संलग्न अन्य व्यक्ति तथा यसमा जोडिएका सम्भावित सञ्जालबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजीसमेत जारी रहेको प्रहरीले बताएको छ।


chautaripatrika 


















प्रतिक्रिया दिनुहोस्