• images

    स्रोत र साधन सदूपयोग गर्ने सवालमा राज्यको नीति प्रभावकारी छैन : पूर्वगर्भनर क्षेत्री

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १४, सोमबार १९:०२ गते
    images

    नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले देशको स्रोत र साधनको विषयमा राज्यको नीति प्रभावकारी नभएको बताएका छन्।

    सोमबार ललितपुरमा आयोजित ‘नेपाल विश्वव्यापी आर्थिक व्यवस्थामा परिवर्तनः नेपालका लागि अवसर र चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यार्सागुम्बा संसारले माग गरिरहेको अवस्थामा त्यसलाई प्रोसेसिङ गर्ने होमवर्कसम्म राज्यले नगरेको बताए।

    उनले भने, ‘नेपाल सम्भावना भएको देश हो त भनिराखेका छौं। तर हाम्रो देशलाई स्रोत र साधनबारे खबर नभएको जस्तोलाग्छ। राज्यको त्यसमा ध्यान गएको छैन्। राज्यको नीति पनि देखिएन। यार्सागुम्बा संसारले मागिरहेको छ। चीनले म्यानुफ्याक्चरिङ गरेर यहीँबाट लगेर के के प्रगति गरिरहेको छ। तर त्यसलाई प्रोसेसिङ गर्ने होमवर्कसम्म नेपालले गरिरहेका छैन।’

    त्यस्तै उनले अहिलेको अवस्थामा देशले कृषिलाई बिर्सन नहुने धारणा राखे। फुड पोलिसी र सेक्युरिटीको कुरा गर्ने तर अहिले पनि चामल भारतबाट ल्याउनुपर्ने अवस्था दुखद् रहेको उनको भनाइ छ।

    ‘अहिले पनि हामीे कृषिलाई बिर्सनु हुँदैन। फुड पोलिसी र सेक्युरिटीको कुरा त गरिरहेको छौं तर चामल भारतबाट नल्याएसम्म खान पाउँदैनौं भन्ने यथार्थ छ। दाल पनि नेपालमा पुग्नेगरी उत्पादन हुँदैन।’

    सोही कार्यक्रममा बोल्दै अर्थविद् डा. विश्वम्भर प्याकुरेलले नेपालले अर्थतन्त्रलाई कृषि र रेमिटेन्समा मात्र आधारित नगरेर आइटी र हाइड्रोपावरमा पनि ध्यान दिनसक्नुपर्ने बताए।

    ‘नेपालले अब अर्थतन्त्रलाई कृषि र रेमिटेन्समा मात्र आधारित नगरेर आइटी र हाइड्रोपावरमा पनि ध्यान दिनुपर्छ,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस्