images
  • कांग्रेसको राजनीतिमा एकपछि अर्को सफलता चुम्दै बासना

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन २९, बिहीबार ११:३२ गते
    images
    images
    images

    बासना थापा नेपाली कांग्रेसको राजनीतिमा लागेको धेरै भयो । १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेकी उनी १४औँ महाधिवेशनमा भने पराजित भइन् ।

    गत वर्ष भदौमा भएको जेनजी आन्दोलनपछि भने बासनाले एकपछि अर्को सफलता चुम्दै आएकी छन् । गत वर्ष फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका प्रत्यक्ष निर्वाचित १८ सांसदमध्ये उनी पनि एक हुन् । उनी दैलेख क्षेत्र नम्बर १ बाट निर्वाचित भइन् ।

    कांग्रेसको हालै सम्पन्न १५औँ महाधिवेशनमा बासनाले महिलातर्फ खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिइन् । यहाँ पनि उनले सफलतामात्र प्राप्त गरिनन्, यो क्लस्टरमै सर्वाधिक मत ल्याएर निर्वाचित भइन् ।

    निर्वाचन समितिका अनुसार बासना थापाले पाँच हजार १९३ मत प्राप्त गरिन् । यो जितपछि बासना उत्साहितमात्र छैनन्, आफ्नो भूमिका र जिम्मेवारीप्रति सचेतसमेत रहेको बताउँछिन् ।
    बासना २०३७ मा काठमाडौँ महानगरपालिका–९ मा जन्मिएकी हुन् । राजनीतिक परिवारमा हुर्किएकी उनका हजुरबुवा नरबहादुर थापा २०१५ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद् हुन् । थापाले नेपाल राष्ट्रवादी गोरखा परिषद्का तर्फबाट चुनाव जितेका थिए ।
    भारतको भीमराव विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी बासनामा पनि राजनीति गर्ने हुटहुटी बढ्यो । २०५९ मा विवाह भएर दैलेखको नारायण नगरपालिकाकी बासिन्दा बन्न पुगेकी उनी राजधानीबाट भौगोलिक रूपमा टाढा पुगे पनि राजनीतिबाट टाढिन सकिनन् ।

    कांग्रेस संसदीय दलकी प्रमुख सचेतक उनले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएकी छन् । उनको अनुभवमा कांग्रेसमा युवा र महिला अनुहारहरूको उपस्थिति र प्रभाव बढ्दो छ । जेनजी आन्दोलनपछि कांग्रेस रुपान्तरण भएको उनले प्रत्यक्ष महसुस गरिन् ।

    बासना लामो समयदेखि पार्टीको संगठन निर्माण र युवाहरूलाई राजनीतिको मूल प्रवाहमा जोड्ने कार्यमा सक्रिय छन् । उनमा अध्ययन र बौद्धिकताको मिश्रण छ । संसदमा उनी प्रखर सुनिन्छिन् । बोली र एजेन्डामा प्रस्टता झल्किन्छ । बासनालाई पदको आकांक्षा र लोभ छैन । पार्टीको नीति र कार्यक्रममा उनी आमूल परिवर्तन चाहन्छिन् । १५औँ महाधिवेशनमा पाएको लोकप्रिय मतले आम कार्यकर्ताले उनीप्रति ठुलो आशा र विश्वास राखेको प्रस्ट पार्छ ।

    धेरै पुराना र अनुभवी नेतृलाई पछि पार्दै उनले हासिल गरेको यो जित कांग्रेसमा पुस्तान्तरण र महिला सशक्तीकरणको पक्षमा रहेको स्पष्ट सङ्केत हो । ‘यो जित मेरोमात्र होइन, मप्रति भरोसा गर्ने हरेक आम कार्यकर्ता, युवा र महिलाहरूको जित हो,’ उनले भनिन् ।

    बासनाले पार्टी र विभिन्न मञ्चमा महिला प्रतिनिधित्व हुनुपर्छ भनेर आवाज उठाउँदै आएकी थिइन् । उनले पार्टीका मुख्य पद (महामन्त्री, उपसभापतिलगायत) मा अनिवार्य प्रतिनिधित्व हुनुपर्ने आवाज जोडदार रुपमा उठाउँदै आएकी छन् । यस पटक कांग्रेस महामन्त्रीमा डिला संग्रौला निर्वाचित भएसँगै बासना अत्यन्तै उत्साहित भएकी छन् । ‘महिलाहरूलाई सधैँ निर्णायक तहभन्दा बाहिर राख्ने परिपाटी अब तोड्नुपर्छ । महिला सभापति हुन सक्ने क्षमता राख्छन् भन्ने कुरा अबको नेतृत्वले प्रमाणित गर्नुपर्छ,’ उनले भनिन् ।

    जेनजी विद्रोहपछि कांग्रेसमा युवाको आकर्षण

    पछिल्लो समय नेपाली कांग्रेसमा जेनजी पुस्ताको आकर्षण र चासो बढेको बासनाको बुझाइ छ । उनले १५औँ महाधिवेशनमा यसलाई अझ नजिकबाट नियाल्ने मौका पाइन् । कैयौँ जेनजीसँग उनले अन्तर्क्रिया गरिन् । युवाहरूको जोस र अग्रज नेताहरूको अनुभवलाई जोडेर अगाडि बढ्नुपर्ने उनको तर्क छ ।

    महाधिवेशनमा युवा मतदाताहरूको आकर्षण भएको उनले प्रत्यक्ष अनुभुति गरिन् । सर्वाधिक मतका साथ विजयी भएपछि थापाको काँधमा जिम्मेवारी थपिएको छ । उनी पार्टीभित्रको आन्तरिक कलह अन्त्य गर्दै सबैलाई एकढिक्का बनाएर लैजानुपर्ने आवश्यकता देख्छिन् ।

    कांग्रेसको सुदृढीकरण र एकबद्धता उनको राजनीतिको मूल मन्त्र बनेको छ । उनी पार्टीमा मात्र होइन, देशका विभिन्न कुनाकाप्चामा छरिएर रहेका नेपालीहरूलाई समेत एउटै मालामा उन्नुपर्ने जिम्मेवारीमा आफूलाई तयार राखेकी छन् ।

    बासनाको उदय नेपाली कांग्रेसका लागि आशाको किरण हो । स्वच्छ, निष्पक्ष र प्रगतिशील राजनीतिमा विश्वास राख्ने थापाले आफ्नो पछिल्लो सफलतालाई चुनौतीपूर्ण जिम्मेवारीका रूपमा लिएकी छन् । पार्टीको समग्र सांगठनिक संरचनालाई चलायमान बनाउन सक्रिय बन्ने उनले बताइन् ।

    कांग्रेसको १५औँ महाधिबेसनमा महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उम्मेदवारबिच प्रतिस्पर्धा भएको थियो । निर्वाचित हुने अन्य उम्मेदवारहरूमा उर्मिला थपलिया, निमा गिरी, कुसुमदेवी थापा, धनाकुमारी खतिवडा, विनिता खड्का, अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल छन् ।

    प्रतिक्रिया दिनुहोस्