• images

    जेलबाट भागेको फरार कैदीको यात्रा: ठमेलमा साथी मा’रेर रोल्पामा लुकेको खुलासा

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष ९, बुधबार २१:५२ गते
    images

    काठमाडौँको ठमेल— जहाँ सधैँ पर्यटकको चहलपहल भइरहन्छ । तर गत असोज १३ गतेको रात, यही पर्यटकीय क्षेत्रले एउटा यस्तो बीभत्स दृश्य देख्यो, जसले त्यहाँ उपस्थित सबैलाई त्रसित र स्तब्ध बनायो। सडककै बीचमा एक युवकमाथि खुकुरी प्रहार गरियो।

    आक्रमणकारी कुनै सामान्य व्यक्ति थिएनन्। उनी थिए दाङका आकाश मगर— ललितपुरको नख्खु कारागारबाट भागेका एक फरार कैदी।

    आजको यस िपोर्टमा हामी यही घटनाको तहसम्म पुग्ने प्रयास गर्दैछौँ— आकाश मगर नख्खु कारागारबाट कसरी बाहिर निस्किए? र जेलबाट निस्कनासाथ उनले किन आफ्नै साथीको ज्यान लिने बाटो रोजे?

    यस घटनाको जरो भदौ २४ गतेको चर्चित ‘जेन–जी’ आन्दोलनसँग जोडिन्छ। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध उठेको त्यो आन्दोलनले देशभर असन्तुष्टिको लहर फैलाएको थियो। सडकमा मात्र होइन, त्यसको असर कारागारभित्रसम्म पुगेको थियो। देशका विभिन्न कारागारबाट कैदीबन्दीहरूले आन्दोलनको मौका छोप्दै बाहिर निस्किए ।

    बाहिरको विशाल भिड र अराजक अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीहरू व्यस्त हुँदा कारागारभित्रको सुरक्षा व्यवस्था खुकुलो बन्दै गयो। त्यही अव्यवस्था, धुवाँ र भागदौडको फाइदा उठाउँदै थुप्रै कैदीबन्दीहरू कारागारको पर्खाल नाघ्न सफल भए। यही क्रममा दाङको राप्ती गाउँपालिका–१ घर भएका आकाश मगर पनि नख्खु कारागारबाट भाग्न सफल भए।

    आकाश मगर २०८० असोज २७ गतेदेखि लागुऔषध मुद्दामा नख्खु कारागारमा जेल जीवन बिताइरहेका थिए। उनीसँगै अन्य कैदीहरू पनि फरार भएका थिए। तर आकाशको मनमा भने बाहिर निस्किएपछि अर्कै भयानक योजना बुनिएको थियो।

    जेलबाट बाहिर निस्किएपछि उनी प्रहरीको निगरानीबाट जोगिँदै झण्डै २० दिनसम्म लुकेर बसे। ती दिनहरूमा उनी कहाँ थिए, कसरी बाँचिरहेका थिए— ती सबै प्रश्न अझै अनुसन्धानको विषय छन्।

    तर असोज १३ गते, आकाश अचानक काठमाडौँको मुटु ठमेलमा देखा परे। उनको निसानामा थिए— मकवानपुर घर भई बालाजु मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङ। साँझको समयमा ठमेलको बुद्धबार गल्लीस्थित ह्याप्पी होटल अगाडि आकाश र सुरजको भेट हुन्छ। प्रहरी अनुसन्धानका अनुसार, उनीहरू पहिलेदेखिकै चिनजानका साथी थिए।

    केही बेरको भनाभनपछि परिस्थिति अचानक हिंसात्मक बन्यो। आकाशले आफूसँगै बोकेको खुकुरी निकालेर सुरजमाथि अन्धाधुन्ध प्रहार गरे र घटनास्थलबाट फरार भए। गम्भीर घाइते अवस्थामा रहेका सुरज तामाङलाई तत्काल वीर अस्पताल पुर्‍याइयो। तर चिकित्सकहरूको अथक प्रयासका बाबजुद असोज १४ गते दिउँसो उपचारकै क्रममा उनले ज्यान गुमाए।

    हत्या गरेपछि आकाश मगर पुनः गायब भए। तर यस घटनालाई प्रहरीले ‘हाई–प्रोफाइल’ केसका रूपमा लिँदै विशेष टोली परिचालन गर्‍यो। नख्खु कारागारबाट भागेका अन्य कैदीहरू एकपछि अर्को पक्राउ परिरहेका थिए, तर आकाश भने प्रहरीलाई लामो समयसम्म चक्मा दिइरहेका थिए।

    अन्ततः प्राविधिक विश्लेषण र लोकेसन ट्र्याकिङको आधारमा आकाश मगर पहाडी जिल्ला रोल्पामा लुकिछिपी बसेको पत्ता लाग्यो। काठमाडौँबाट सूचना प्राप्त हुनासाथ रोल्पा प्रहरी सक्रिय भयो। रोल्पा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर सुनिल थापा नेपालीको नेतृत्वमा खटिएको टोलीले आकाशलाई नियन्त्रणमा लियो। उनलाई थप कानुनी कारबाहीका लागि काठमाडौँ पठाइसकिएको छ।

    आकाश मगरलाई रोल्पा नगरपालिका–१० धाङ्सीबाट पक्राउ गरेको हो। पक्राउ परेका अभियुक्तलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त लैनचौर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

    प्रहरी अनुसन्धानबाट आकाश मगर आपराधिक पृष्ठभूमि भएको व्यक्ति रहेको खुलेको छ। उनीविरुद्ध यसअघि पनि विभिन्न अपराधमा मुद्दा दर्ता भएका थिए। मिति २०७६ साल कात्तिक ३ गते प्रहरी वृत्त महाराजगञ्जमा अभद्र व्यवहार मुद्दा, २०७७ साल कात्तिक १६ गते प्रहरी वृत्त बालाजुमा अभद्र व्यवहार मुद्दा तथा २०८० साल साउन २२ गते लागू औषध नियन्त्रण ब्युरोबाट लागू औषधसम्बन्धी मुद्दा दर्ता भएको प्रहरी रेकर्डमा उल्लेख छ।

    त्यस्तै, २०८० साल भदौ ३१ गते चोरी मुद्दामा प्रहरी वृत्त महाराजगञ्जमा मुद्दा दर्ता भएको थियो भने नख्खु कारागारबाट फरार भएको घटनापछि मिति २०८२ साल असोज २४ गते प्रहरी वृत्त लैनचौरमा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाउँदै हत्या घटनामा प्रयोग गरिएको हतियार र अन्य संलग्न पक्षबारे थप तथ्यहरू संकलन भइरहेको जनाएको छ।

    अहिले धेरैको मनमा एउटै प्रश्न उब्जिएको छ— जेलबाट भागेका आकाशले कतै लुकेर बस्नुको साटो किन सुरज तामाङको हत्या गर्ने यति ठूलो जोखिम मोले? आखिर यी दुई साथीबीच त्यस्तो के गहिरो दुश्मनी थियो, जसले गर्दा आकाशले जेलबाट निस्कने बित्तिकै सुरजलाई नै आफ्नो निसाना बनाए?

    के यो लागुऔषध कारोबारसँग जोडिएको पुरानो रिसइबी थियो? वा जेल पर्नुअघि नै भएको कुनै गम्भीर लेनदेनको विवाद? यी प्रश्नहरूको उत्तर अहिले नै स्पष्ट भइसकेको छैन। तर प्रहरीले यस घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै अनुसन्धान अघि बढाइरहेको छ। अभियुक्त पक्राउ परिसकेकाले, उनको बयान र प्रहरीको सूक्ष्म अनुसन्धानबाट यी सबै रहस्यहरू क्रमशः खुल्ने अपेक्षा गरिएको छ।

    लागुऔषधको लतले एक युवकलाई सुरुमा जेल पुर्‍यायो, र त्यही आपराधिक मानसिकताले अन्ततः उनलाई हत्याराको बाटोमा डोर्‍यायो। आज आकाश मगर फेरि जेलको त्यही कोठरीमा फर्किएका छन्। तर यसपटक उनका काँधमा ‘जेल ब्रेक’ र ‘कर्तव्य ज्यान’ जस्ता गम्भीर मुद्दाहरू थपिएका छन्।अर्कोतर्फ, २५ वर्षीय सुरज तामाङको परिवारले कहिल्यै नमेटिने पीडा भोग्न बाध्य भएको छ ।

    प्रतिक्रिया दिनुहोस्