images
  • जापानमा नेपाली विद्यार्थीको हत्या, नाकागावा नदीमा भेटियो शव

    • chautaripatrika chautaripatrika
    • २०८३ भाद्र ४, बिहीबार २३:१० गते
    images
    images
    images

    जापानको फुकुओकामा अध्ययनरत झापा भद्रपुर–७, अन्जनी मोडकी २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको विभत्स हत्या भएको छ। फुकुओका सहरको चुओ वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत राजवंशीको शव अगस्ट १९ तारिख बिहान तेन्जिन क्षेत्र भएर बग्ने नाकागावा नदीमा तैरिरहेको अवस्थामा भेटिएको हो। बिहान करिब ६ बजे एक पैदलयात्रीले नदीमा मानिसजस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। उद्धार टोलीले नदीबाट बाहिर निकाल्दा उनको मृत्यु भइसकेको थियो।

    सुरुमा दुर्घटनाको आशङ्का गरिए पनि अगस्ट २० मा शवको पहिचान नेपाली नागरिकका रूपमा पुष्टि भएलगत्तै फुकुओका प्रहरीले यसलाई हत्या ठहर गर्दै अनुसन्धान मुख्यालय गठन गरेको छ। जापानी सञ्चारमाध्यम RKB NEWS का अनुसार शवको प्रारम्भिक परीक्षणमा लक्ष्मीको अनुहार र टाउकोमा कुनै कडा वस्तुले प्रहार गरिएका गम्भीर चोटका निशानहरू फेला परेका छन्।

    लक्ष्मी बस्दै आएको कोठामा छापा मार्दा प्रहरीले आफूलाई बचाउन सङ्घर्ष गरेको स्पष्ट सङ्केत, झडपका चिन्ह र रगतका दागहरू भेटेको छ। यसैका आधारमा कोठाभित्रै हत्या गरी शवलाई नदीसम्म पुर्‍याइएको हुनसक्ने आशङ्का गरिएको छ। घटनाअघि अगस्ट १९ तारिख बिहान करिब ३ बजेतिर लक्ष्मीकी एक परिचित महिलाले उनी सम्पर्कविहीन भएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन्, जसका आधारमा हत्या सोही बिहान प्रारम्भिक समयमै भएको अनुमान छ।

    टोकियोस्थित नेपाली दूतावासका अनुसार जापानी प्रहरीले घटनाको छानबिनका लागि पाँच जनालाई नियन्त्रणमा लिएको छ। यता, झापा क्षेत्र नम्बर ३ का सांसद प्रकाश पाठकले घटनाप्रति दुःख व्यक्त गर्दै परराष्ट्र मन्त्रालयमार्फत आवश्यक कानुनी सहजीकरण भइरहेको बताएका छन्।

    उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र मृतकको शव शीघ्र नेपाल ल्याउने प्रक्रियामा आवश्यक पहल गर्न सरकारसँग माग गरेका छन्। यो विभत्स घटनाले जापानमा रहेका नेपाली समुदायमा गम्भीर चिन्ता र त्रास फैलाएको छ।

    प्रतिक्रिया दिनुहोस्