२८ साउनको दिउँसो। काठमाडौँको कलंकीस्थित भेटघाट क्याफेमा एक युवक सामान्य रूपमा चिया पिउँदै थिए। तर उनलाई थाहा थिएन कि उनी एउटा ठूलो अनलाइन ठगी र अपहरणको खतरनाक पासोमा परिसकेका छन्।
क्याफेमा बसिरहेका ती युवकलाई एकाएक केही व्यक्तिहरूले घेर्छन्, धारिलो हतियार देखाएर धम्क्याउँछन् र बलपूर्वक ट्याक्सीमा कोचेर बेपत्ता बनाउँछन्।
त्यसपछि ती युवकलाई नाङ्गै बनाउँछन्, नाइलनको डोरीले हातखुट्टा बाँध्छन्, प्लास्टिकको पाइपले शरीरभरि नीलडाम हुने गरी प्रहार गर्दै १८ लाख रुपैयाँ फिरौती माग्छन्।
सुन्दा कुनै सिनेमाको कथा जस्तो लाग्ने यो घटना देशको राजधानी काठमाडौँमा घटेको एक वास्तविक र सनसनीपूर्ण अपराधको भयानक दृश्य हो।
घटनाको सुरुवात फेसबुकको एउटा विज्ञापन र ‘ट्रस्ट वालेट’ एपबाट हुन्छ। रामेछाप लिखु तामाकोसीका ३२ वर्षीय मनोज बुढाथोकी र भारतका ‘रोहित’ नाम गरेका एक अज्ञात व्यक्तिबीच सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्क हुन्छ।
रोहितले डलर कार्डमा रकम लोड गरिदिने र डलरको भाउ बढी दिने भन्दै सामाजिक सञ्जालमा विज्ञापन राखेका हुन्छन्। सोही विज्ञापन देखेर मनोजले रोहितसँग कुराकानी अघि बढाउँछन्। रोहितले मनोजलाई ‘ट्रस्ट वालेट’ एप डाउनलोड गर्न लगाउँछन् र त्यसबाट करिब १८ हजार रुपैयाँ बराबरको क्रिप्टो कारोबार पनि हुन्छ।
त्यसपछि घटनाले नयाँ मोड लिएको प्रहरी अनुसन्धानमा उल्लेख छ। रोहितले “तिमीलाई डलर लोड गर्न सहयोग गर्नका लागि म एक जना मान्छे पठाउँछु” भन्छन्।
यता काठमाडौँको मित्रनगर बस्ने नवीन राय पनि रोहितकै अनलाइन कारोबारको सम्पर्कमा थिए। रोहितले काठमाडौँमै रहेका नवीन रायलाई मनोजलाई भेट्न भन्दै कलंकीको भेटघाट क्याफेमा पठाउँछन्। नवीन आफू रोहितको कामले भेटघाटका लागि जाँदैछु भन्ने ठानेर क्याफे पुग्छन्, तर उनी कुन भयानक षड्यन्त्रको सिकार बन्दैछन् भन्ने पत्तोसम्म पाउँदैनन्।
मनोज बुढाथोकीले भने रोहितले पठाएका नवीन रायलाई सहयोग लिने होइन, नियन्त्रणमा लिएर लुट्ने र फिरौती असुल्ने अर्कै खोटे योजना बनाइसकेका हुन्छन्। नवीन क्याफेमा आइपुगेका छन् कि छैनन् भनेर निगरानी गर्न मनोजले सुरुमा अर्घाखाँचीका २२ वर्षीय प्रदीप पोखरेललाई मोटरसाइकलमा कलंकी पठाउँछन्।
प्रदीपले नवीन क्याफेमा बसिरहेको पुष्टि गरेर खबर पठाउनासाथ मनोज आफैँ क्याफेतर्फ सोझिन्छन्। उनले थप मद्दतका लागि ओखलढुंगाका २४ वर्षीय निमेष कार्की र काभ्रेका २३ वर्षीय देवकुमार श्रेष्ठलाई पनि त्यही क्याफेमा डाक्छन्।
अब क्याफेमा बसिरहेका नवीनलाई मनोजको टोलीले जबर्जस्ती ट्याक्सीमा कोच्छ। नवीनलाई हालेको ट्याक्सीमा मनोज बुढाथोकी र निमेष कार्की आफैँ चढ्छन्। यता प्रदीप पोखरेल र अन्य साथीहरूले भने प्रहरी वा कसैले पछ्याउला कि भनेर दुईवटा मोटरसाइकलमार्फत उक्त ट्याक्सीलाई स्कर्टिङ गर्दै अघि बढाउँछन्।
ट्याक्सी कलंकीबाट अघि बढ्दै नागार्जुन नगरपालिका–५ स्थित छग्डोल पुग्छ। त्यहाँ मनोजले ‘अनलाइन बिजनेस’ गर्ने बहानामा एउटा घर भाडामा लिएका हुन्छन्। त्यही घरमा मनोजका अरू सहयोगीहरू सर्लाहीका २२ वर्षीय जेनिश चौधरी, चितवनका २४ वर्षीय अमित ओली र मकवानपुरका २० वर्षीय निशान रुम्बा तामाङ हुन्छन्। नवीनलाई ट्याक्सीबाट ओढालेर त्यही घरको भुइँतलामा हुलिन्छ।
भाडाको घरभित्र छिर्नेबित्तिकै नवीन रायमाथि सुरु हुन्छ अमानवीय यातनाको भयानक शृङ्खला। अपहरणकारीहरूले नवीनलाई कपडा फुकालेर केवल भित्री वस्त्र (कट्टु) मा राख्छन्। उनका हात र खुट्टा नाइलनको डोरीले बलियो गरी बाँधिन्छ र भुइँमा घोप्ट्याइन्छ।
“तेरो क्रिप्टोको पासवर्ड कहाँ छ? वालेटको एक्सेस दे!” भन्दै उनीहरू नवीनमाथि जाइलाग्छन्। प्लास्टिकको पाइपले उनीहरूले नवीनको नाङ्गो शरीरभरि नीलडाम हुने गरी प्रहार गर्छन्। शारीरिक यातना दिइसकेपछि मनोज बुढाथोकीको टोलीले नवीनकै फोनबाट उनका परिवारलाई सम्पर्क गर्छन् र सोझै धम्की दिन्छन्— “छोराको ज्यान प्रिय छ भने १८ लाख रुपैयाँ तुरुन्तै तयार पार, नत्र जिउँदो देख्न पाउँदैनौ!”
छोराको अपहरण र १८ लाख फिरौतीको खबर पाउनासाथ नवीनको परिवारले तुरुन्तै नेपाल प्रहरीको कन्ट्रोल रुम १०० मा फोन गरेर घटनाको जानकारी गराउँछन्। दिउँसो करिब २ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा यो सूचना पुग्छ।
सूचना पाउनासाथ अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काको कमान्डमा गुण्डागर्दी र अपहरण अनुसन्धान गर्ने ‘पिलर नम्बर ४’ को विशेष टोली तत्कालै परिचालन हुन्छ।
प्रहरीको प्राविधिक टोलीले नवीनको मोबाइल नम्बरमा आएका र गएका फोन नम्बरहरूलाई ‘टेक्निकल एनालाइसिस’ र लोकेसन ट्रेसिङमा हाल्छ। प्राविधिक विश्लेषण र गुप्तचरको मद्दतबाट प्रहरीले अपहरणकारीहरू नागार्जुनको छग्डोल क्षेत्रमा रहेको निष्कर्ष निकाल्छ।
अपहरणकारीलाई शंका हुन नदिन प्रहरीले पीडित परिवारलाई १८ लाख रुपैयाँ दिन तयार भएको नाटक गर्न लगाउँछ। फिरौतीको रकम बुझाउने बहानामा परिवारलाई अघि सारेर प्रहरीको विशेष टोली सुटुक्क अपहरणकारीले संकेत गरेको नागार्जुनको छग्डोलस्थित भाडाको घरसम्मै पुग्न सफल हुन्छ।
साँझको साढे ६ बजे प्रहरीको विशेष टोलीले छग्डोलको उक्त घरलाई चारैतिरबाट घेरा हाल्छ र अचानक भित्र छापा मार्छ। भित्र नवीन राय हातखुट्टा बाँधिएका, नाङ्गै र शरीरभरि नीलडाम परेको अवस्थामा भेटिन्छन्। दिउँसो २ बजे अपहरणमा परेको सूचना पाएको प्रहरीले ५ घण्टामै उनको सकुशल उद्धार गर्छ। घटनास्थलबाट कुटपिटमा प्रयोग गरिएका प्लास्टिकका पाइप, नाइलनका डोरी र चक्कुसमेत प्रहरीले बरामद गरेको छ भने सात जनालाई पक्राउ गरेको छ। सातै जनाको मिलेमतोमा अपहरण गरी बन्धक बनाई कुटपिट भएको प्रहरीले बताएको छ।
प्रहरी अनुसन्धानअनुसार मनोज बुढाथोकीको भूमिका घटनाको योजनादेखि नवीनलाई क्याफेमा बोलाउने, निगरानी गराउने र अन्य व्यक्तिलाई परिचालन गर्नेसम्म देखिएको छ। पोखरेललाई नवीन क्याफेमा आए–नआएको निगरानी गर्न मोटरसाइकलमा पठाइएको थियो। उनले नवीनलाई पछ्याउँदै घटनास्थलसम्म पुर्याउन सहयोग गरेको प्रहरीको दाबी छ। कार्की र श्रेष्ठलाई मनोजले थप सहयोगका लागि क्याफेमा बोलाएका थिए। उनीहरूले नवीनलाई नियन्त्रणमा लिएर घटनास्थलसम्म पुर्याउन सहयोग गरेको प्रहरी अनुसन्धानमा उल्लेख छ।
चौधरीको भूमिका बन्धक बनाएर राख्ने काममा जोडिएको छ।अमित ओलीले बन्धक अवस्थामा नवीनलाई कुटपिट गर्न सहयोग गरेको प्रहरी अनुसन्धानमा उल्लेख छ। तामाङको भूमिका पनि बन्धक बनाएर राख्ने तथा कुटपिट गर्ने कार्यसँग जोडिएको प्रहरी विवरणमा उल्लेख छ।


ओम डिसी 


















प्रतिक्रिया दिनुहोस्