• युरोपको सिङ्गो नक्सा सिंहदरबारमा :कूटनीतिमा बालेनले बदलेको नजिर

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १२, मंगलवार ०१:१० गते
    images

    भनिन्छ, सिंहदरबारको कुर्सी सधैँ विदेशी कूटनीतिज्ञहरूका लागि ओपन हाउस जस्तै हुन्थ्यो । जो आयो, एक्लाएक्लै भेट्यो, कान फुक्यो र गयो । तर, जबदेखि ३६ वर्षे र्‍यापर र इन्जिनियर बालेन्द्र शाह देशको प्रधानमन्त्री बने, विदेशीहरूका लागि सिंहदरबार छिर्ने नियम नै बदलिएको छ ।

    अमेरिकी अधिकारी आउँदा म एक्लाएक्लै भेट्दिनँ भनेर फर्काइदिने तिनै प्रधानमन्त्री बालेन शाह यतिबेला युरोपेली संघका एक-दुई जना होइन, पुरै २२ जना कूटनीतिज्ञहरूलाई सिंहदरबारमा सामूहिक भेट दिन राजी भएका छन् । मंगलबार बिहान ठीक ११:३० बजे सिंहदरबारमा एउटा यस्तो कूटनीतिक दृश्य देखिँदैछ । जसले नेपालको इतिहासमै नयाँ नजिर बसाल्दैछ । आखिर अमेरिकी अधिकारीसँग तर्सिएका बालेन इयूसँग किन पग्लिए ? के यो कूटनीति हो कि बालेनको वान-टु-मेनी रणनीति ?

     

    युरोपेली संघका २२ देशका राजदूत र नियोग उपप्रमुखहरू दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ ओर्लिएका छन र यो टोलीको कमाण्ड सम्हालेकी छिन नेपालका लागि इयूकी राजदूत भेरोनिक लोरेन्जोले ।

    यो भ्रमण टोलीमा कुन-कुन देश छन् थाहा छ ? नाम सुन्नुस्: अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेन

    साँच्चै भन्नुपर्दा, युरोपको सिङ्गो नक्सा नै उठेर काठमाडौँ आए जस्तो देखिन्छ । इतिहासमा यसअघि कहिल्यै पनि यति धेरै देशका कूटनीतिज्ञहरू नयाँ सरकारको नाडी छाम्न यसरी सामूहिक रूपमा आएका थिएनन् ।

     

    अब कुरा गरौँ असली राजनीतिक खेलको यसअघि अमेरिकी उच्च अधिकारीहरू नेपाल आउँदा प्रधानमन्त्री बालेन शाहले व्यक्तिगत रूपमा भेट्न ठाडो इन्कार गरिदिएका थिए । पुराना नेताहरू जस्तो विदेशी आए प्रभु भन्दै दण्डवत् गर्ने बानी बालेनको छैन । तर उनले इयूसँग भने सामूहिक भेटवार्ता गर्दैछन् । यो बालेनको पहिलो सामूहिक स्टन्ट होइन। प्रधानमन्त्री बने लगत्तै गत अप्रिलमा पनि उनले पहिलोपटक १७ जना राजदूतहरूलाई एकै ठाउँमा राखेर सामूहिक भेटेका थिए । यहाँ निर एउटा गहिरो व्यङ्ग्य लुकेको छ । पुराना नेताहरू विदेशी कूटनीतिज्ञसँग कोठाभित्र लुकेर वान-अन-वान कुरा गर्थे, जहाँ के सम्झौता भयो, देशलाई के बेचियो कसैलाई थाहा हुन्नथ्यो । तर बालेनको नीति प्रष्ट देखिन्छ भेट्ने भए सबै मिलेर आऊ, जे कुरा गर्ने हो सबैको अगाडि खुल्ला गरौँ । अर्थात् कूटनीतिलाई माइक्रो-म्यानेजमेन्ट हुन नदिने र विदेशीलाई आफ्नो कोठामा हाबी हुन नदिने यो बालेनको गज्जबको फिल्डिङ हो ।

     

    २२ देशका यी कूटनीतिज्ञहरू सिंहदरबारमा आउँदा नेपालसँग नयाँ सहकार्य, व्यापार र जलवायु परिवर्तनका गफ त अवश्य गर्नेछन् । तर, टेबुलको अर्कोतिर एउटा नमीठो सत्य पनि छ। यही युरोपेली संघ हो जसले वर्षौँदेखि नेपाली हवाई क्षेत्रलाई आफ्नो ब्ल्याकलिस्टमा राखेको छ । हाम्रा जहाज युरोपको आकाशमा उड्न पाउँदैनन् । मंगलबार बिहान साढे ११ बजे जब भेरोनिक लोरेन्जोको नेतृत्वमा २२ देशका कूटनीतिज्ञहरू बालेनको अगाडि बस्नेछन्, तब के प्रधानमन्त्री बालेनले यो सामूहिक मञ्चको फाइदा उठाएर सोध्न सक्लान हामी नयाँ नेपालका युवा हौँ । हाम्रा जहाजलाई तपाईँहरूको आकाशमा कहिलेसम्म प्रतिबन्ध लगाइराख्ने ?

    गफ र अनुदानको थुप्रो एकातिर होला । तर देशको स्वाभिमान र व्यापारिक अधिकार अर्कोतिर छ । अमेरिकी अधिकारीलाई पन्छाए जस्तै २२ देशको यो कूटनीतिक दबाबलाई बालेनले कसरी डिल गर्छन् त्यो हेर्न बाँकी नै छ ।

     

    विदेशी कूटनीतिज्ञहरूलाई एक्लाएक्लै भेट्न नदिने र जे कुरा गरे पनि सामूहिक रूपमा पारदर्शी बनाउने बालेनको यो शैलीले पुराना राजनीतिक दलहरूको सातो उडाएको छ । कूटनीतिको यो नयाँ ट्रेन्डले नेपालको परराष्ट्र नीतिलाई कुन दिशामा लैजान्छ । त्यो त भविष्यले बताउला । तर एउटा कुरा पक्का हो अब सिंहदरबारमा विदेशीहरूको माइक्रो-म्यानेजमेन्टको खेल चल्नेवाला छैन ।

     

    प्रतिक्रिया दिनुहोस्