श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संघीय संसद्को वर्तमान कार्यशैलीमाथि कडा प्रहार गर्दै संसदीय तानाशाही विरुद्ध कडा आक्रोश व्यक्त गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठक बीचैमा बहिष्कार गरेर बाहिरिएका साम्पाङले सत्तारुढ दलले संसद्लाई आफ्नो ‘प्राइभेट कम्पनी’ जस्तो चलाएको गम्भीर आरोप लगाए। मिडियासामु निकै आक्रामक रूपमा प्रस्तुत हुँदै साम्पाङले भने:”प्रधानमन्त्री संसद्मा आउन किन डराएका? प्रश्नको सामना गर्न नसक्नेले देश चलाउने होइन, घर बसे हुन्छ। आफ्नो जिम्मेवारी अरूलाई पठाएर प्रधानमन्त्रीले गैरजिम्मेवारीको हद नाघेका छन्। संसद् सत्तारुढ दलको मनखुशी चल्ने थलो होइन।
साम्पाङले उठाएका मुख्य ३ कडा बुँदाहरू:
१. संसद् कि होमवर्क सेन्टर?: सांसदहरूलाई हठात् ठेलीका ठेली किताब दिएर भोलि नै पढेर आऊ भन्नु जनप्रतिनिधिको अपमान भएको उनले बताए। उनले प्रश्न गरे। “के संसद् होमवर्क जाँच्ने स्कुल हो? यहाँ गम्भीर बहस चाहिन्छ, औपचारिकताको नाटक होइन।”
२. नीति तथा कार्यक्रममा सिन्डिकेट: सरकारको नीति तथा कार्यक्रम जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल गर्न नदिएर सरकारले संसद्लाई ‘रबर स्ट्याम्प’ बनाउन खोजेको उनको आरोप छ।
३. श्रम संस्कृतिको हुङ्कार: आफ्नो पार्टीलाई कसैले ‘हेप्ने’ दुस्साहस नगर्न चेतावनी दिँदै उनले भने “हामी संख्यामा कम होलाौँ, तर हाम्रो आवाजले सदन थर्काउने सामर्थ्य राख्छ। हामी संसद्लाई सत्तापक्षको अखडा बन्न दिने छैनौँ।” सत्तारुढ दलको पेल्ने नीति र प्रधानमन्त्रीको अनुपस्थितिका विरुद्ध संसद् बहिष्कार गर्नु आफ्नो बाध्यता र विरोध दुवै भएको साम्पाङको तर्क छ।

Bishnu GC 















प्रतिक्रिया दिनुहोस्