images
  • प्रधानमन्त्रीको ‘खरो स्टाटस’ र सल्लाहकारको ‘जिस्क्याउने कमेन्ट’: कस्तो सन्देश दिन खोज्दैछन् बालेन र बेन?

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक १६, आईतवार २३:१९ गते
    images

    काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले उम्किने सपना देख्नेहरूलाई कडा चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिएका हुन्।

    ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,’ उनले भनेका छन्।

    प्रधानमन्त्री शाहले कोप्रति लक्षित गर्दै स्टाट्स लेखे भन्ने कुरा खुलाएका छैनन्। प्रधानमन्त्रीको स्टाटसमा उनका प्रमुख सल्लाहकार कुमार बेनले ‘सही समय भनेको शनिबार कि आइतबार हो’ भन्दै कमेन्ट लेखेका छन्।आजै बेनले पत्रकारहरूका सम्बन्धमा लेखेको पोष्टमा प्रधानमन्त्री बालेनले पनि कमेन्ट गरेका थिए। 

    यता नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनप्रति कटाक्ष गरेका छन्।आइतबार सामाजिक सञ्जालमार्फत सचिव बस्नेतले राज्यसत्ताको दुरुपयोग र प्रेस स्वतन्त्रतामाथिको प्रहारले देश बर्बाद हुन लागेको आरोप लगाएका हुन्।

    नेता बस्नेतले रास्वपा सभापति लामिछानेलाई ‘जेठो’, प्रधानमन्त्री बालेन शाहलाई ‘माइलो’ र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई ‘साइलो’ भन्दै लेखेका छन्, ‘जेठो भन्छ, १२ भाइ पत्रकारले देश डुबाए। साइलो भन्छ, २८ जनाभित्र नपर्ने के पत्रकार ? माइलो भन्छ, कुपण्डोल जाने पो पत्रकार, अरू त कलाकार।’

    राज्यको प्रहरी प्रशासन दुरुपयोग गरेर आलोचनात्मक चेत राख्ने नागरिकमाथि धरपकड गरिएको भन्दै उनले आपत्ति जनाए। संस्थाहरूलाई कमजोर बनाउने र प्रेस स्वतन्त्रतालाई मजाक बनाउने प्रवृत्ति हाबी भएको उनको दाबी छ।सचिव बस्नेतले पत्रकारितालाई कसैको स्वार्थको चस्माबाट नभई स्वतन्त्रता, निष्पक्षता र जवाफदेहिताको दृष्टिकोणबाट हेर्नसमेत आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्