इरानको राजधानी तेहरान र आसपासका क्षेत्रमा भीषण हवाई आक्रमण भएको छ। अल जजीराका अनुसार तेहरानको पश्चिममा रहेको खोरमाबाद सहरमा हवाई आक्रमणपछि भवनहरू ध्वस्त भएको देख्न सकिन्छ, जहाँ स्थानीय बासिन्दाहरूले भग्नावशेषमा खोजी गरिरहेको देखिएको छ।
आक्रमणका कारण उक्त क्षेत्रमा विद्युत् आपूर्ति बन्द (ब्ल्याकआउट) भएको छ। स्थानीय बासिन्दाहरू टर्च बालेर उद्धारमा खटिएका छन्। जानकारी अनुसार दक्षिणी र पूर्वी तेहरानमा शक्तिशाली विस्फोटका शृङ्खलाहरू देखिएका छन्। राजधानीभर इरानी वायु रक्षा प्रणालीहरू पनि सक्रिय पारिएको छ।
इरानको फार्स समाचार एजेन्सीका अनुसार राजधानीको शाहिद बाबेई एक्सप्रेसवे नजिकैका दुई स्थान र गरमदारेह क्षेत्र प्रभावित भएका छन्। आवासीय र व्यावसायिक क्षेत्र मानिने हाफेज र जोमहौरी स्ट्रिटको चौबाटोमा पनि ‘विस्फोटको ठुलो आवाज’ सुनिएको बताइएको छ।
तेहरानका पाँच वटा क्षेत्रमा ‘भयानक विस्फोटको आवाज’ आएको र क्षतिको विवरण संकलन भइरहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। यता ऊर्जा विश्लेषकहरूका अनुसार विश्वको लगभग २० प्रतिशत तेल र एक ठुलो हिस्सा प्राकृतिक ग्यास आपूर्ति प्रभावित भएको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का कार्यकारी निर्देशक फातिह बिरोलले मध्य पूर्वको यो अवस्था सन् १९७० को दशकको ऊर्जा संकटभन्दा पनि खराब भएको चेतावनी दिएका छन्। उनले यसलाई इतिहासकै सबैभन्दा ठुलो ऊर्जा सुरक्षा संकट भनेका छन्, जसको समाधान होर्मुज जलमार्ग पुनः खोल्नु रहेको बताएका छन्।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानलाई होर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका थिए। उनले नखोलेमा इरानका पावर प्लान्टहरूमा प्रहार गरी ‘पूर्ण रूपमा मेटाउने’ गर्ने चेतावनी दिएका थिए।
इरानले यस धम्कीको जवाफमा होर्मुज जलडमरू पूर्ण रूपमा बन्द गर्ने, पूर्वाधार पुनर्निर्माण नभएसम्म नखोल्ने तथा खाडी क्षेत्रका अमेरिकी र इजरायली ऊर्जा, पानी शुद्धीकरण प्लान्ट र अन्य पूर्वाधारमा हमला गर्ने चेतावनी दिएको छ।
अब आक्रमणका कारण इरानमा विद्युत् आपूर्ति बन्द भएसँगै तेहरानले दिने जवाफ के हुन्छ भन्ने कुराले धेरैलाई थप चिन्तामा पुर्याएको छ। एजेन्सी

chautaripatrika 


















प्रतिक्रिया दिनुहोस्