images
  • यमनमा हुथी विद्रोहीको अहिलेसम्मकै ठूलो हमला, २० सैनिक मारिए

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक ३, सोमबार २०:१९ गते
    images
    images
    images

    काठमाडाैं । शब्वा प्रान्तस्थित सैन्य तालिम केन्द्रमा हुथी विद्रोहीले कम्तीमा तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा २० लडाकुको मृत्यु भएको छ । घटनामा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन् ।

    यमनको शब्वा प्रान्तमा रहेको सैन्य तालिम केन्द्रलाई लक्षित गरी हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको सरकारी पक्षले पुष्टि गरेको छ।

    समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार आक्रमणमा कम्तीमा तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएका थिए । घटनामा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन् ।

    आक्रमणपछि सार्वजनिक भएका तस्बिरहरूमा घटनास्थलमा शव, क्षतविक्षत सैन्य संरचना र व्यक्तिगत सामानहरू छरिएको देखिएको छ । एपीका अनुसार पछिल्ला दिनमा यमनमा भएका आक्रमणमध्ये यो सबैभन्दा घातक घटनामध्ये एक हो ।
    सन् २०२२ मा भएको युद्धविराम प्रभावहीन बन्दै गएपछि साउदी अरबको समर्थन प्राप्त यमनी सरकार र हुथी विद्रोहीबीचको द्वन्द्व पुनः चर्किएको छ ।
    साउदी अरबको हवाई आक्रमणमा नौ जनाको मृत्यु

    यसैबीच, साउदी अरबले गरेको हवाई आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ । मृतकमध्ये पाँच बालबालिका र दुई महिला रहेको बताइएको छ ।

    विद्रोही पक्षका अनुसार सप्ताहान्तसम्म भएका विभिन्न आक्रमणमा ३० जनाभन्दा बढी मानिस मारिएका वा घाइते भएका छन् ।

    अलजजिराका अनुसार यमनका विभिन्न क्षेत्रमा सरकारी सेना र हुथी विद्रोहीबीचको संघर्ष जारी छ । यमनी सरकारले ताइज प्रान्तको सनमत क्षेत्रमा पुनः नियन्त्रण कायम गरेको दाबी गरेको छ । सरकारी सेना अहिले मिसराख क्षेत्रतर्फ अघि बढिरहेको बताइएको छ ।

    हुथीको गोलीबारीमा सर्वसाधारणको पनि मृत्यु

    हुथी विद्रोहीले गरेको गोलीबारीमा एक सर्वसाधारणको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

    सरकारी नियन्त्रणमा रहेको महत्वपूर्ण क्षेत्र ताइज सहरलाई घेराबन्दी गर्ने प्रयास हुथी सेनाले गरिरहेको बताइएको छ । उक्त सहर यमनी सरकारको बलियो आधार क्षेत्रमध्ये एक मानिन्छ ।

    यस क्षेत्रमा जारी संघर्षका कारण सर्वसाधारणको जनजीवन थप प्रभावित भएको छ । संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त क्षेत्रमा खाद्यान्न आपूर्ति घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

    स्थानीय सरकारले हुथी विद्रोहीमाथि पानीका ट्यांकरको आपूर्ति रोकिरहेको आरोपसमेत लगाएको छ । खाद्यान्न र पिउने पानीको अभाव बढ्दै जाँदा सर्वसाधारणको मानवीय संकट थप गम्भीर बन्न सक्ने आशंका गरिएको छ । एजेन्सीबाट

    प्रतिक्रिया दिनुहोस्