• images

    चितवनमा निर्वाचनको तयारी तीव्र

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष २४, बिहीबार १२:३१ गते
    images

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन ५६ दिन बाँकी रहँदा जिल्ला निर्वाचन कार्यालय चितवनले तयारी तीव्र पारेको छ । आगामी माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने भएकाले त्यसको तयारीमा कार्यालय लागेको हो ।

    यसपटक चितवन क्षेत्र नं २ का लागि भरतपुर महानगरपालिका–१० स्थित बाइपास रोडमा रहेको उद्योग तथा वाणिज्यको पुरानो भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठले जानकारी दिए।

    “अहिले निर्वाचनको तयारी अघि बढाइरहेका छौँ । सुरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने भएकाले सोका लागि काम भइरहेको छ”, सूचना अधिकारी श्रेष्ठले भने । क्षेत्र नं १ का लागि भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खैरहनीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ भने क्षेत्र नं ३ का लागि रामपुरस्थित सिँचाइ कार्यालयमा स्थापना गरिने उनले बताए।

    निर्वाचन आयोगले क्षेत्र नं २ का लागि मुख्य निर्वाचन अधिकृतमा चितवन जिल्ला अदालतका न्यायाधीश केदारनाथ पौडेललाई नियुक्त गरिएको जनाउँदै उनले क्षेत्र नं १ मा सर्वोच्च अदालतका विकासकुमार रजक र क्षेत्र नं ३ मा वन तथा वातावरण मन्त्रालयका उपसचिव बालकृष्ण निरौलालाई नियुक्त गरिएको बताए।

    चितवनमा यसपटक कुल मतदाता चार लाख ४२ हजार ८२ जना रहेका छन् । गत भदौमा भएको जेनजी प्रदर्शनपछि २० हजार ६९० जना मतदाता थपिएका निर्वाचन कार्यालयका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस्