कोहलपुर, बाँके । आजदेखी सुरु हुन लागेको ‘कोहलपुर महोत्सव–२०८२’ यतिबेला कोहलपुरबासीका लागि उत्साह भन्दा बढी सास्तीको विषय बनेको छ । आयोजक कोहलपुर उद्योग वाणिज्य संघले महोत्सवको नाममा नगरका मुख्य सडकहरू नै बन्द गरेर संरचना निर्माण गरेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनेको हो ।
आयोजकले कोहलपुरको न्युरोड आसपासका हरियाली मार्ग र न्युरोडतर्फका सडकहरूमा व्यापारिक स्टल र घेराबार हालेर पूर्ण रूपमा ठप्प पारेको छ । सडक नै थुनिएपछि इलाका प्रशासन कार्यालय, हुलाक, राजस्व अनुसन्धान कार्यालय, नगर विकास समितिजस्ता अति संवेदनशील सरकारी निकायमा पुग्ने बाटो बन्द भएको छ । सेवाग्राहीहरूले सरकारी सेवा लिनका लागि लामो बाटो घुम्नुपर्ने वा सास्ती खेप्नुपर्ने अवस्था सिर्जना भएको छ ।
यो प्रकरणमा कोहलपुर नगरपालिकाको भूमिका सबैभन्दा बढी विवादास्पद देखिएको छ । सडक छेउमा व्यापार गर्ने साना व्यवसायीलाई नगर प्रहरी लगाएर लखेट्ने नगरपालिका, यति ठुलो मात्रामा सार्वजनिक सडक बन्द गर्दा पनि ‘मूकदर्शक’ बनेर बसेको छ । स्थानीय सरकार र नेतृत्वको यो लाचारीपनले ‘शक्तिशालीलाई कानुन नलाग्ने’ सन्देश दिएको भन्दै नागरिकहरू आक्रोशित भएका छन् ।
सडक बन्द गरिएको विषयलाई लिएर कोहलपुरका क्रियाशील विद्यार्थीहरू आक्रोशित भएका छन् । बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियू सभापति देवेन्द्र बुढाको नेतृत्वमा विद्यार्थीहरूले महोत्सवको नाममा गरिएको सडक बन्द तत्काल हटाउन चेतावनी दिएका छन् ।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्