• images

    तिहारअघि हराएकी थिइन्, भाइटीकाको भोलिपल्ट शव भेटियो! २ महिनापछि चिसाङ घाटमा अंशुको दाहसंस्कार

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २३, मंगलवार १६:३५ गते
    images

    मोरङको लेटाङ नगरपालिका–२, फडानीकी अंशु गौतमको आज (मंगलबार) दिउँसो स्थानीय चिसाङ लोखरा घाटमा धार्मिक परम्परा अनुसार दाहसंस्कार गरिएको छ।
    छिमेकीद्वारा नै बलात्कारपछि विभत्स रूपमा हत्या गरिएकी अंशुको अन्तिम बिदाइमा ठूलो संख्यामा स्थानीयवासी सहभागी भएका थिए । शोकाकुल परिवारजनले दागबत्ती दिए भने उपस्थित मलामीहरूले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    गत असोज २३ गतेदेखि हराइरहेकी अंशुको शव १८ दिनपछि जंगलमा विभत्स अवस्थामा भेटिएको थियो । लामो अनुसन्धानपछि प्रहरीले अंशुको आफ्नै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीले बलात्कारपछि हत्या गरेको पत्ता लगाएर गत शुक्रबार पक्राउ गरिसकेको छ । घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेसम्म शव नबुझेका परिवारजनले दोषी पक्राउ परेपछि आज अंशुको दाहसंस्कार सम्पन्न गरेका हुन् ।

    अंशुको अन्तिम बिदाइमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्षहरू लगायतका जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।

    बिहानैदेखि अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आउनेहरूको भीड बाक्लो देखिएको थियो ।स्वर्गीय अंशुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उपस्थित स्थानीयले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्