चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।
दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साथै बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ । मन्दिर छिर्न चार वटा लामको व्यवस्था गरिएको छ ।
पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत ठूलासाना सबै शिव मन्दिरमा भक्तजनको लाम लागेको छ ।
यस्तै, साउन महिनाको तेस्रो सोमबारका अवसरमा तराईका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट आएका बोलबम भक्तजन काठमाडौंको सुन्दरीजल पुगेका छन् ।
भक्तजनहरूले सुन्दरीजलस्थित पवित्र जलस्रोतमा स्नान गरी कलशमा पवित्र जल भरेपछि भगवान् शिवको जयजयकार गर्दै पदयात्रामार्फत पशुपतिनाथ मन्दिरमा पुगेका छन् ।
साउन महिनामा भगवान् शिवको विशेष पूजा आराधना गर्ने धार्मिक परम्पराअनुसार प्रत्येक सोमबार सुन्दरीजलबाट जल ल्याई पशुपतिनाथमा चढाउने चलन छ। यस अवसरमा सुन्दरीजल क्षेत्रमा पनि बिहान सबेरैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ ।


chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्