• विद्यार्थीको काँधमा बन्दुक राखेर बालेनमाथि प्रहार गर्ने घिनलाग्दो खेल

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २, शनिबार ०१:३२ गते
    images

    काठमाडौँको सडकमा फेरि एकपटक विद्यार्थी अधिकार को मुकुण्डो लगाएर एउटा भयानक राजनीतिक सर्कस सुरु भएको छ।विश्वविद्यालयमा राजनीति हुनुहुँदैन भनेर ढोंग गर्नेहरूले जब प्रधानमन्त्रीका विरुद्ध नारा लगाउँछन्, जब प्रधानमन्त्री नशा, देश दशामा भन्दै सडक तताउँछन्, तब बुझ्नुहोस् यो विद्यार्थीको आवाज होइन,यो त कुर्सी खोसिएकाहरूको छटपटी हो।के साँच्चै प्रधानमन्त्रीले पद सम्हालेको दुई महिनामै देश दशामा पुगेको हो? कि यो कसैको प्रायोजित खेल हो?

    प्रदर्शनमा प्रयोग भएका नाराहरू हेर्नुहोस इनफ इज इनफ, गरिबको चमेली बोल्दिने कोही छैन। सुन्दा कति भावनात्मक लाग्छन्! तर प्रश्न उठ्छ यी नाराहरू ती पुराना दलका कार्यकर्ताले लगाउँदैछन्, जसले दशकौँसम्म सत्ता चलाउँदा विश्वविद्यालयलाई राजनीतिक भर्ती केन्द्र बनाए। आज जब नयाँ नेतृत्वले विश्वविद्यालयलाई भागबण्डा मुक्त बनाउने प्रयास गर्दैछ, तब तिनै पुराना खेलाडीहरू विद्यार्थीको काँधमा बन्दुक राखेर स्वायत्तताको नारा लगाउँदैछन्। यो कस्तो विडम्बना हो?

    प्रधानमन्त्रीको कुर्सीमा बालेन बसेको आज दुई महिना पनि पुगेको छैन। ६० दिन यो समय त एउटा सामान्य अफिसको कार्यविधि बुझ्न पनि कम हुन्छ। तर यहाँ दशकौँदेखि जकडिएका समस्याहरू जस्तै विश्व विद्यालयको बेथिति,गरिबी र प्रशासनिक ढिलासुस्तीको दोष दुई महिनाको नेतृत्वलाई थुपारिँदैछ। के दुई महिनामा जादुको छडी चलाएर देश स्वर्ग बनाउन सम्भव छ? छैन नि! तर पनि विरोधीहरूलाई यति हतार किन भयो? किनभने उनीहरूलाई डर छ यदि बालेन सफल भए भने हाम्रो राजनीति गर्ने दिन सकिनेछन्। त्यसैले अहिले विद्यार्थी दिवसको मौका छोपेर यो घेराबन्दी गरिँदैछ।
    यो आन्दोलन नेकपा वा बालेन विरोधी शक्तिहरूको एउटा संगठित घेराबन्दी जस्तो देखिन्छ। नयाँ नेतृत्वलाई काम गर्नै नदिने, साना-साना कुरामा सडकमा उतार्ने र मानसिक दबाब दिने रणनीति प्रष्ट छ। प्रधानमन्त्री नशा भन्दै गर्दा ती नारा लगाउनेहरूलाई सायद थाहा छैन कि देशलाई दशकौँदेखि सत्ताको नशाले बर्बाद पारेकाहरू को हुन्? जनताले बालेनलाई ५ वर्षका लागि म्यान्डेट दिएका हुन्, ६० दिनमा सडकबाट फैसला सुनाउनका लागि होइन।

    आन्दोलन र विरोध लोकतन्त्रको प्राण हो,तर त्यो तथ्यमा आधारित हुनुपर्छ। विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य हुनुपर्छ भन्नेमा कसैको दुई मत छैन। तर त्यसको नाममा नयाँ नेतृत्वलाई असफल बनाउन गरिने षड्यन्त्रलाई जनताले नजिकबाट नियालिरहेका छन्। ६० दिनको कामलाई हेरेर होइन,उनले सुरु गरेको प्रक्रियालाई हेरेर मूल्यांकन गरौँ।

    अन्त्यमा,सडकमा उत्रिएका र यो दृश्य हेरिरहेका सम्पूर्ण विद्यार्थी साथीहरूलाई एउटै कडा प्रश्न छ कतै तपाईंको जोस, तपाईंको ऊर्जा र तपाईंको अधिकारको नारालाई कसैले आफ्नो सत्ता चढ्ने भर्याङ त बनाइरहेको छैन? कतै तपाईं कसैको इसारामा चल्ने गोटी त बन्नुहुँदैछैन? सोच्नुहोस्! किनकि यो देश अब पुराना दलका नेताहरूको भाषणमा र भावनामा बगेर पुग्दैन, अब यो देश विवेकले चल्न जरुरी छ।
    हामीले पुराना दलहरूको कति वर्षको विथोलिएको शासन भोग्यौँ? अब केही समय नयाँ सोच, नयाँ शैली र नयाँ नेतृत्वलाई रचनात्मक सहयोग गर्ने कि असहयोग गरेर फेरि तिनै पुराना दलालहरूको सिन्डिकेटलाई फर्काउने? फैसला तपाईंको हातमा छ। षड्यन्त्र र घेराबन्दीलाई जनताले नजिकबाट नियालिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस्