images
  • राजस्वको लोभमा राष्ट्रियताको बेइज्जत: विदेशीको झन्डा चम्किँदा, नेपालको सार्वभौमिकता खुम्चियो! कहाँ छ बालेन सरकारको उपस्थिति?

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख २७, आईतवार २३:१२ गते
    images

    विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा सरकारी उपस्थितिको खिल्ली उडाउँदै गम्भीर राष्ट्रियता विरोधी गतिविधि भइरहेको पाइएको छ।सगरमाथालाई केवल राजस्व असुल्ने दुहुनो गाई बनाएको सरकारले त्यहाँको राष्ट्रिय अस्मितालाई भने विदेशीको बुटमुनि सुम्पिएको छ। आधार शिविरमा देखिएको भारतीय झन्डाको दादागिरी र खुम्चिएको नेपाली झन्डाको तस्विरले राज्यको शिर नै निहुराइदिएको छ। आधार शिविरमा विदेशीहरूको अनाधिकृत सक्रियता बढे सगै नेपालको सार्वभौमिकतामाथि नै प्रश्न उठाएको छ।

    नेपाली भूमिमा विदेशी अर्धसैनिक बलले आफ्नो झन्डालाई सानका साथ फहराएर नेपालको झन्डालाई अपमानजनक रूपमा सानो बनाउनु भूल मात्र होइन,यो नेपालको भूगोलमाथि गरिएको सांस्कृतिक र प्रशासनिक अतिक्रमण हो। पर्यटन विभाग प्रमाण छैन भन्दै लाचारी प्रकट गरि रहेको छ। तर आँखा अगाडि राष्ट्रियताको चीरहरण भइरहँदा सरकारको यो मौनताले गम्भीर सन्देह पैदा गरेको छ। के सगरमाथाको प्रशासनिक अधिकार विदेशीलाई सुम्पिएको हो?

    पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले भूगोल जटिल छ र ५ जना मात्र छौँ भन्दै दिएको स्पष्टीकरण राज्यकै निम्ति लज्जाको विषय हो। अर्बौँको राजस्व डकार्ने सरकारले आधार शिविरमा एउटा बलियो सुरक्षा पोस्ट र प्रशासनिक संयन्त्र खटाउन नसक्नु अक्षमता मात्र होइन अपराध हो। महानिर्देशकले राष्ट्रियताको अपमानलाई अतिरन्जित नगर्न आग्रह गर्नुले उनको कुर्सीप्रतिको मोह र देशप्रतिको संवेदनहीनतालाई उदाङ्गो पारेको छ।

    अब प्रश्न उठ्छ के ५ जना कर्मचारीले विदेशीको दादागिरी रोक्न नसक्ने हो भने त्यहाँ नेपाली सेनाको उपस्थिति किन नराख्ने? कि राजस्वको लोभमा सार्वभौमिकताको व्यापार भइरहेको छ?सरकारलाई सगरमाथाको गरिमासँग कुनै सरोकार छैन।उसलाई त केवल सिजनको अन्त्यमा उठ्ने डलरको हिसाबसँग मतलब छ। फिल्ड कार्यालयले झन्डा हटाएका छौँ भन्दै झारा टार्ने काम गरे पनि त्यहाँ विदेशीहरूको अनधिकृत गतिविधि र साँठगाँठको जालो कति गहिरो छ भन्ने कुरा यो घटनाले प्रस्ट पारेको छ।

    सगरमाथाको चुचुरोमा पुगेर गर्व गर्ने नेपालीहरूका लागि आधार शिविरमा आफ्नै झन्डा खुम्चिएको देख्नुभन्दा ठुलो बज्रपात अर्को के हुन सक्छ? सरकारले बुझोस  सगरमाथा नेपालको परिचय हो डलर छाप्ने मेसिन मात्र होइन। यदि विदेशीको बुटमुनि राष्ट्रियता थिचिँदा पनि राज्य सुतिरहन्छ भने, सम्झनुस् सगरमाथामा नेपालको शासन अन्त्य भएको छ।

    सगरमाथाको आधार शिविरमा जुन स्तरको अराजकता र विदेशी हैकम देखिएको छ।यसले नेपालको प्रशासनिक सार्वभौमिकता माथि एउटा गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ। सगरमाथा केवल हिमालको थुप्रो वा पर्यटक रमाउने थलो मात्र होइन।यो त नेपालको अन्तर्राष्ट्रिय पहिचान र स्वाभिमानको सर्वोच्च बिन्दु हो।तर विडम्बना!त्यही स्वाभिमानको फेदमा आज विदेशी शक्तिहरूले नेपाली झन्डालाई खुम्च्याएर आफ्नो झन्डाको आयतन बढाउँदा पनि राज्य कर्मचारी अभाव र भूगोलको जटिलता जस्ता लज्जास्पद बहाना बनाएर बसिरहेको छ।

    सरकारले अब केवल राजस्वको हिसाबकिताब छोडेर सगरमाथामा राज्यको बलियो उपस्थिति देखाउनै पर्छ। आधार शिविरमा पर्यटन विभागको थकित र निरीह टोली होइन।नेपाली सेना वा सशस्त्र प्रहरीको एउटा स्थायी र शक्तिशाली हाइ-अल्टिच्युड पोस्ट स्थापना गर्न ढिला भइसकेको छ। राष्ट्रिय झन्डाको अपमान गर्ने र अनाधिकृत गतिविधि गर्ने जुनसुकै आरोहण दल वा विदेशी एजेन्सीलाई तत्काल ब्ल्याकलिस्ट गरि देश निकाला गर्ने आँट नदेखाएसम्म सगरमाथामा विदेशीको बुट बज्रिरहनेछ।

    सरकारले बुझोस् सगरमाथाको उचाई नेपालीको स्वाभिमानसँग जोडिएको छ। यदि आधार शिविरमै राष्ट्रियता खुम्चिन्छ भने, चुचुरोमा झन्डा फहराउनुको कुनै अर्थ रहँदैन। राजस्वको नशाबाट ब्युँझिएर राष्ट्रियताको रक्षा गर्न ढिला भइसकेको छ। अन्यथा इतिहासले यो कालखण्डलाई सगरमाथामा राज्यले गरेको मौन आत्मसमर्पणको रूपमा मात्रै सम्झनेछ।

    प्रतिक्रिया दिनुहोस्