नेपाली सेनाले भोटेकोशी करिडोरमा आएको बाढीपहिरोका कारण प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला पारेको जनाएको छ ।
नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेको बताएका छन् । शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै उनले सुरुङभित्र खोज तथा उद्धारका क्रममा ११औँ दिन एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको जानकारी दिए ।
उनका अनुसार आयोजनामा कोरियन कम्पनीको स्वामित्व तथा कोरियन सब–कन्ट्र्याक्टरमार्फत काम भइरहेको थियो । त्यहाँ नेपाली र भारतीय कामदार कार्यरत थिए । आयोजनाको दुईवटा ठूला कामदार क्याम्पसहित ड्याम साइट, पावरहाउस र अन्य क्षेत्रमा काम भइरहेको थियो ।
सहायक रथी थापाले आयोजनाको ९.७ किलोमिटर लामो सुरुङको नक्सा प्राप्त गरेपछि दुई जना इन्जिनियरसँग समन्वय गरी खोज तथा उद्धारको कार्ययोजना बनाइएको बताए । उनका अनुसार हेडवर्क र अडिट क्षेत्र तथा पावरहाउस क्षेत्रमा ठूलो सङ्ख्यामा कामदार कार्यरत थिए ।
उद्धार टोलीले प्रारम्भिक रेकीका क्रममा सुरुङभित्र प्रवेश गर्ने दुईवटा सम्भावित स्थान मात्रै फेला पारेको थियो । अन्य प्रवेश मार्गहरू अवरुद्ध थिए । नेपाली सेना, चिनियाँ र कोरियन टोलीले संयुक्त रूपमा खोजी तथा उद्धारको काम अघि बढाएका थिए ।
पावरहाउस क्षेत्रमा कार्यरत १२० देखि १३० जना कामदारमध्ये ११० जनालाई ४८ घण्टाभित्र हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । डिसेन्डर बेसिन क्षेत्रमा भने हेलिकप्टर अवतरण गर्न सम्भव थिएन ।
उद्धार टोलीले जोखिम मोलेर सुरुङभित्र प्रवेश गर्ने क्रममा अत्यधिक हिलो, साँघुरो बाटो र अक्सिजनको कमीको सामना गर्नुपरेको थियो । कतिपय ठाउँमा कम्प्रेसर मेसिनको सहायताले अवरोध हटाएर सुरुङभित्र प्रवेश गरिएको थियो ।
सहायक रथी थापाका अनुसार सुरुङको माथिल्लो भागमा रहेको प्रोटेक्सन वर्कमा ढलानको काम भइरहेको स्थानबाट ११औँ दिन एक चिनियाँ नागरिकलाई सकुशल उद्धार गर्न सफल भएको थियो ।
‘डिसेन्डर क्षेत्रको साँघुरो र हिलोयुक्त सुरुङमा अक्सिजनको सहायताले प्रवेश गरी खोजी गर्दा ११औँ दिन एक जना चिनियाँ नागरिकलाई जीवित उद्धार गर्न सफल भयौँ,’ उनले भने ।
त्यस्तै, अडिट–३ बाट अस्ट्रेलियन उद्धार टोलीको ड्रोनको सहायताले सुरुङभित्र करिब एक हजार ७०० मिटर अगाडिसम्मको अवस्था अध्ययन गरिएको थियो । त्यहाँ सुरुङ पूर्ण रूपमा अवरुद्ध भएको अवस्थामा भेटिएको थियो ।
खोजीका क्रममा हेडवर्क क्षेत्रमा ठूला मेसिन, मिक्सर, एक्स्काभेटर र ट्रकहरू थुप्रिएको अवस्थामा भेटिएको थियो । त्यस क्षेत्रमा ३७ जनाको शव फेला परेको थापाले जानकारी दिए ।
‘अडिट ३ बाट करिब १,७०० मिटरभित्र खोजी गर्दा ३७ वटा शव फेला परेका थिए,’ उनले भने ।
थापाका अनुसार सुरुङभित्रको अवस्था हेर्दा प्रारम्भिक झड्कामै ठूलो क्षति भएको हुनसक्ने देखिएको थियो । उनले हाल पनि खोज तथा उद्धारको काम जारी रहेको बताए । हेडवर्कबाट अडिट–३ हुँदै करिब १.७ किलोमिटर भित्रसम्म पुगे पनि त्यसपछिको क्षेत्रमा जान सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
सुरुङको करिब चार किलोमिटर क्षेत्रमा २१ फिटको सुरुङमा १७ फिटसम्म पानी र लेदो जमेको अवस्थामा रहेको उनले जानकारी दिए । अडिट–१ क्षेत्रबाट विस्फोट गराएर पानी निकाल्न सकिन्छ कि भन्ने विषयमा आयोजना तथा इन्जिनियरिङ टोलीसँग छलफल भइरहेको पनि उनले बताए ।
‘हाल सुरुङको करिव ४ किलोमिटर क्षेत्रमा १७ फिटसम्म पानी र लेदो जमेकाले थप खोजी गर्न कठिन भएको छ । पानी निकासका लागि ब्लास्टिङ गर्ने विषयमा छलफल भइरहेको छ,’ थापाले भने ।
जीवित उद्धार गरिएका चिनियाँ नागरिकले हेलमेटमा पानी जम्मा गरेर पिउने र सुरुङभित्र हिँडेर समय बिताएको प्रारम्भिक जानकारी दिएको पनि उनले बताए । उद्धारका बेला उनी निकै स्वस्थ अवस्थामा थिए ।
हाल उक्त क्षेत्रमा नेपाली सेनाका ४२ जना जनशक्ति परिचालन गरिएको सहायक रथी थापाले जानकारी दिए । उनका अनुसार पावरहाउस क्षेत्रमा समेत खोजी कार्य जारी छ ।


chautaripatrika 












प्रतिक्रिया दिनुहोस्