• चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङको राजीनामा,२६ दिनमै २ मन्त्रीको पद चैट

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख ९, बुधबार १५:४५ गते
    images

    गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार एक वक्तव्य जारी गर्दै आफ्नो सेयरसम्बन्धी विषयमा उठेका जनचासो र प्रश्नलाई गम्भीरतापूर्वक लिँदै नैतिक जिम्मेवारीका आधारमा पद त्यागेको घोषणा गरे।
    गुरुङले १३ चैत २०८२ देखि गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए। पछिल्ला दिनमा नागरिकस्तरबाट उठेका टिप्पणी र आलोचनाले आफूलाई गम्भीर बनाएको उनले सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा उल्लेख गरेका छन्। “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले वक्तव्यमा भनेका छन्।
    उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढ्दै गएको सन्दर्भमा पछिल्लो समय सक्रिय युवापुस्ताको आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने सन्देश दिएको पनि उल्लेख गरेका छन्। साथै, सरकार निर्माणमा भएको बलिदानको सम्मान गर्दै उठेका प्रश्नको जवाफ नैतिक आचरणमार्फत दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
    गुरुङले आफूविरुद्ध उठेका विषयमा निष्पक्ष छानबिन होस् भन्ने चाहनासहित पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् भन्ने उद्देश्यले तत्काल प्रभावबाट राजीनामा दिएको स्पष्ट पारेका छन्।
    राजीनामासँगै उनले सञ्चारकर्मी, सर्वसाधारण तथा युवाहरूलाई सम्बोधन गर्दै यदि वास्तविक परिवर्तन चाहने हो भने सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा सबैले उभिनुपर्ने बताएका छन्। उनले केही सञ्चारकर्मीहरूसमेत विभिन्न आर्थिक स्वार्थमा जोडिन सक्ने संकेत गर्दै यस विषयमा पनि क्रमशः खुलासा हुँदै जाने दाबी गरेका छन्। उनको राजीनामापछि अब सरकारभित्र नयाँ गृहमन्त्री नियुक्ति प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
    विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद
    प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २६ दिनमै २ मन्त्री बाहिरिएका छन् । उनीहरूको कार्यशैली र व्यक्तिगत अपारदर्शी शैलीका कारण उनीहरू पदबाट हटेका हुन् ।
    यसअघि आफ्नी श्रीमतीलाई बिमा बोर्डको सदस्यमा अनधिकृत रुपमा सहभागी गराउने भूमिका खलेको भन्दै विवादमा परेपछि श्रममन्त्री दीपककुमार साह १३ दिनमै बाहिरिएका थिए ।उनलाई तत्कालै पदबाट फिर्ता बोलाउने निर्णय गर्दै रास्वपाले प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा साहलाई हटाइएको थियो ।अहिले सरकार बनेको २६ दिनमा गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । उनको सम्पत्तिमाथि प्रश्न उठेपछि उनले बुधबार राजीनामा दिएका छन् ।केही दिनअघि उनले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । त्यो सम्पत्ति विवरण नै अस्वाभाविक रहेको भन्दै प्रश्न उठिरहेको बेलामा उनले माइक्रो इन्स्योरेन्स लगायतमा लगरेको अर्को लागनीको विवरण पनि बाहिर आयो ।उनले सञ्चालन गरेको सामाजिक संस्था  हामी नेपालमा आएको सहयोग रकम पनि व्यक्तिगत खाता मार्फत् कारोबार गर्ने गरेको लगायतका विषय बाहिरिएपछि गुरुङलाई पदबाट बाहिरिनका लागि सर्वत्र दबाब परेको थियो । त्यही दबाबमा बीच उनले बुधबार पदबाट राजीनामा दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्