• इरानले दियो अमेरिका–इजरायललाई ‘रगतको मूल्य चुकाउनुपर्ने’ चेतावनी

    • chautaripatrika chautaripatrika
    • २०८२ फाल्गुन ३०, शनिबार १६:१४ गते
    images

    काठमाडौं । पश्चिम एसियामा जारी संघर्षबीच इरानले अमेरिका र इजरायललाई चेतावनी दिँदै ‘अपरेसन ट्रु प्रमिस– ४’ को ४६औँ चरण सुरु गरेको छ ।

    इरानी सैन्य प्रवक्ताले अमेरिका र इजरायलले रगतको हरेक थोपाको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । उनले इरानी सेनाको यस चरणमा सटीक मिसाइल र ड्रोनले शत्रुको सैन्य अखडा र कमान्ड सेन्टरहरूलाई निसाना बनाइरहेको बताएका छन् ।

    इरानको अल–अम्बिया सेन्ट्रल हेडक्वार्टरका प्रवक्ता एब्राहिम जोल्फाघरीले अमेरिका–इजरायलले यस युद्धमा अन्यायपूर्वक बगाइएको रगतको हिसाब दिने र गरेको क्षतिको हर्जाना तिर्ने चेतावनी दिएका छन् ।जोल्फाघरीले अन्तिम निर्दयी र बालबालिका मार्ने अपराधीको विनाश नभएसम्म यो अभियान जारी रहने बताएका छन् ।

    इरानको अपरेसनको ४६औँ चरण कति खतरनाक ?

    इरानको यो अपरेसनमा अमेरिका र इजरायलका केन्द्र र सेनालाई निसाना बनाइएको छ । यस चरणमा उनीहरूले इजरायलमा लुकेका कमान्डरका १० अखडा र तीनवटा अमेरिकी अखडालाई निसाना बनाएको दाबी गरेका छन् ।
    विशेष हमलामा परेका स्थानमा तेल अभिभका सात, रिसोन लेजियनका दुई र सोहामको एक स्थान छन् । अमेरिकी कमान्डर अखडामा ‘किङ सुल्तान’ बेस, ‘भिक्टोरिया’ बेस र ‘अर्बिल’ बेस रहेका बताइएको छ ।

    इरानको ‘एक्सन प्लान’

    जोल्फाघरीले इरानी एयर डिफेन्स सिस्टमले हालै फिरोजाबाद, बन्दर अब्बास र तब्रिजमा अमेरिकी एमक्यू–९ ड्रोन र अन्य विमानलाई रोकेर नष्ट गरेको बताए । उनले अहिलेसम्म लडाकु, जासुसी तथा आत्मघाती ११२ वटा ड्रोन नष्ट गरिसकिएको बताएका छन् । प्रवक्ताका अनुसार, यी रक्षात्मक कदम इरानी सेना, एरोस्पेस, नौसेना र हिजबुल्लाहको आक्रामक कारबाहीको हिस्सा हुन् ।

    ४५औँ चरणमा के–के भयो ?

    प्रवक्ता जोल्फाघरीले ‘अपरेसन ट्रु प्रमिस ४’ को ४५औँ चरण सञ्चालन गरिएको बताए, जसको कोड ‘या साहेब अल–जमान, अल्लाह छिट्टै तपाईंको मद्दत गरून्’ भन्ने थियो । यो अभियान इन्टरनेसनल कुड्स डे मार्चमा सुरु गरिएको थियो ।

    जोल्फाघरीले यस अपरेसनमा ‘खैबर–शेकन’ सोलिड–फ्युल प्रिसिजन मिसाइल र हमलावर ड्रोनहरूको प्रयोग गरिएको बताए । यसको मुख्य लक्ष्य इजरायलको उत्तरी कमाण्ड सेन्टर र अमेरिकी सेना जम्मा हुने स्थानहरूलाई निसाना बनाउनु थियो ।

    विशेष गरी उनले हाइफा, क्यासरिया, जरित र स्लोमीका इलाकाहरू र होलोन मिलिट्री–इन्डस्ट्रियल कम्प्लेक्सको नाम लिए । यसबाहेक, अमेरिकाका क्षेत्रीय अखडाहरूलाई पनि निसाना बनाइयो । जोल्फाघरीका अनुसार, ‘अल धाफ्रा’ र ‘अर्बिल’ बेसमा पहिले चेतावनी दिएर मात्र हमला गरिएको थियो ।

    रिभोलुसनरी गार्डद्वारा ड्रोन शक्तिको प्रदर्शन

    यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले आफ्नो ड्रोन शक्ति प्रदर्शन गरेको छ । मेहर समाचार एजेन्सीका अनुसार, रिभोलुसनरी गाड्र्सले एउटा ठूलो भूमिगत सुरुङमा आफ्ना ड्रोन प्रदर्शन गरेको छ । यो प्रदर्शन ‘आयातोल्लाह मुजतबा खामेनीई’को तस्बिर अगाडि गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्