• images

    वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष २२, मंगलवार १६:११ गते
    images

    धनुषा घटनालाई लिएर वीरगञ्जमा उत्पन्न तनाव न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित सर्वपक्षीय बैठक मंगलवार सम्पन्न भएको छ।

    प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको उक्त बैठकले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र सामाजिक सद्भाव जोगाउन विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

    बैठकले सामाजिक र धार्मिक सद्भावलाई दीर्घकालीन रूपमा कायम राख्न एक ’स्थायी सद्भाव संयन्त्र’ गठन गर्ने निर्णय गरेको छ। यस संयन्त्रले आगामी दिनमा हुनसक्ने सम्भावित विवादहरूलाई समाधान गर्न र आपसी भाइचारा बलियो बनाउन काम गर्नेछ।

    बैठकका मुख्य निर्णयहरू यस प्रकार छन्

    १. अनुमति अनिवार्यः अबदेखि कुनै पनि किसिमका जुलुस, प्रदर्शन वा सार्वजनिक कार्यक्रम आयोजना गर्न अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालयको पूर्व अनुमति लिनुपर्नेछ,

    २. कानुनी कारबाहीः सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट धार्मिक द्वेष फैलाउने, भ्रामक सूचना सम्प्रेषण गर्ने वा हिंसाका लागि दुरुत्साहन गर्ने व्यक्ति तथा समूहलाई पहिचान गरी कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहनेछ,

    ३. मिडियाको भूमिकाः सञ्चारकर्मीहरूलाई धार्मिक र सामाजिक सद्भावमा खलल नपुग्ने गरी जिम्मेवारीपूर्वक र सन्तुलित समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ,

    प्रमुख जिल्ला अधिकारी दाहालले सर्वपक्षीय बैठकका निर्णयहरूको कार्यान्वयनबाट वीरगञ्जको स्थिति छिट्टै सामान्य हुने विश्वास व्यक्त गरेका छन। उनले सम्पूर्ण नगरवासीहरूलाई संयम अपनाउन र परापूर्वकालदेखि चल्दै आएको सामाजिक सद्भाव कायम राख्न विशेष अपिल समेत गरेका छन।

    यसैबीच, सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले वीरगञ्जमा जारी गरेको कफ्र्युको अवधि आज साँझ ६ बजेसम्मका लागि लम्ब्याएको छ। प्रशासनले कफ्र्युको समयमा घरबाहिर ननिस्कन र सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस्